दुई महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, विदेश जानेहरू मारमा
काठमाडौं । संघीय सरकारबाट प्रदेश तहमा अधिकार हस्तान्तरण भई नयाँ छपाइ प्रक्रिया र प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउन नसक्दा दुई महिनाभन्दा बढी समयदेखि स्मार्ट लाइसेन्सको छपाइ ठप्प भएको छ । गत साउन १ गतेदेखि नयाँ पास भएका तथा नवीकरणका लागि प्रक्रियामा रहेका लाइसेन्सको छपाइ रोकिएपछि वैदेशिक रोजगारीमा जाने श्रमिक तथा वैदेशिक अध्ययनमा जाने विद्यार्थीसहित हजारौँ सेवाग्राहीहरू चरम मर्कामा परेका छन् । अधिकार हस्तान्तरण भएसँगै अब सवारी लाइसेन्स छपाइ तथा वितरणको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारहरूको मातहतमा पुगेको छ । यातायात व्यवस्था विभागका अनुसार सातवटै प्रदेश सरकारहरूले सुरक्षण मुद्रण केन्द्रसँग औपचारिक सम्झौता गरेपछि मात्र छपाइको बाटो पूर्ण रूपमा खुल्नेछ । हाल मधेस प्रदेशले सम्झौता प्रक्रिया अगाडि बढाएको छ भने बागमतीलगायत अन्य प्रदेशको हकमा ट्रायल पास गरेका र विदेश जाने अतिआवश्यक सेवाग्राहीहरूको फाइल क्रमशः प्रक्रियामा लगिएको छ । नयाँ व्यवस्थापन पूर्ण रूपमा स्थिर हुन केही समय लागे पनि छिट्टै कामले गति लिने विभागको भनाइ छ । अर्कोतर्फ, सुरक्षण मुद्रण केन्द्रका अनुसार चालु आर्थिक वर्षका लागि सम्झौता गर्न हालसम्म कुनै पनि प्रदेशका प्रतिनिधि कागजातसहित आएका छैनन् । प्रदेशहरूले आ-आफ्नो बजेटको परिधिभित्र रहेर आवश्यक पर्ने लाइसेन्सको यकिन तथ्याङ्क ल्याई सम्झौता गरेमा तुरुन्तै छपाइ अगाडि बढाउन सकिने केन्द्रले स्पष्ट पारेको छ । अधिकार हस्तान्तरणको यो विषय नयाँ भएकाले व्यवस्थित गर्न केही समय लागे पनि प्रदेश मन्त्रालयहरूले छपाइको तयारी तीव्र पारिरहेका छन् । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मुद्रण केन्द्रसँग समझदारीपत्र (एमओयू) गरेर छपाइ अघि बढाउने तयारी थालेको छ । त्यस्तै, बागमती प्रदेशमा पनि स्रोत सहमतिका लागि फाइल आर्थिक मामिला मन्त्रालयमा पठाइएको छ । साउन १ गतेयताका नयाँ ट्रायल पास गर्नेहरूको यकिन तथ्याङ्क सङ्कलन भइरहेकाले प्रदेशहरूले आवश्यक कानुनी र बजेटरी प्रक्रिया पूरा गर्नासाथ छपाइको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
करोड क्लबकी गायिका
काठमाडौं । गायिका विष्णु माझीको ‘घरबार’ यस वर्ष युट्युबमा सर्वाधिक हेरिएको तीज गीत बनेको छ । सार्वजनिक भएको १३औँ दिनमै ‘घरबार’ले १ करोड १८ लाखभन्दा बढी भ्युज पाएर एलिना चौहानको ‘नौरती फुली’लाई पछि पारेको हो । यो समाचार तयार पार्दासम्म ‘घरबार’ले युट्युबमा १ करोड १८ लाख भ्युज पार गरेको छ । केही समयअघिसम्म सर्वाधिक हेरिएको तीज गीतको शीर्ष स्थानमा रहेको ‘नौरती फुली’को भ्युज भने १ करोड १७ लाख ४२ हजार पुगेको छ । ‘घरबार’ विष्णु माझीको चर्चित तीज गीति एल्बम ‘पुतलीको भट्टी–२२’ मा समावेश गीत हो । गीतमा विवाहित महिलाले भोग्नुपरेका पीडा, वेदना र पारिवारिक जीवनका भावनालाई प्रस्तुत गरिएको छ । माझीको विशिष्ट स्वर र गीतको भावनात्मक प्रस्तुतिले यसलाई दर्शकमाझ लोकप्रिय बनाएको देखिन्छ । ‘घरबार’मा विष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा सुन्दरमणि अधिकारीसँगै ललिता पौडेलले अभिनय गरेका छन् । भिडियोको निर्देशन सुन्दरमणि अधिकारीले गरेका हुन् भने कोरियोग्राफी मौसम हिमालीको छ । यस वर्षको तीजका लागि साउन १ गते सार्वजनिक गरिएको एलिना चौहानको ‘नौरती फुली’ले लामो समयसम्म युट्युब भ्युजमा अग्रता कायम गरेको थियो । तीजको अघिल्लो दिन १ करोड भ्युज पार गर्दै ‘नौरती फुली’ यस वर्ष करोड क्लबमा प्रवेश गर्ने पहिलो तीज गीत बनेको थियो । तर, सार्वजनिक भएको छोटो समयमै तीव्र गतिमा भ्युज बटुलेपछि ‘घरबार’ले ‘नौरती फुली’लाई उछिनेको हो । यससँगै विष्णु माझीको गीतले यस वर्षको सर्वाधिक हेरिएको तीज गीतको रेकर्ड आफ्नो नाममा बनाएको छ ।
पद छोड्नु चार दिनअघि न्यायाधीश बेल्बासेलाई बढुवा
काठमाडौं । न्यायपरिषद्ले मंगलबार उच्च अदालतमा तीनजना न्यायाधीशको सिफारिस गरेको छ । सिफारिस हुनेहरूमा सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह रहेका छन् । प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि कार्यान्वयन हुने यो निर्णयमा न्यायाधीश बेल्बासेको सिफारिस भने निकै अनौठो र चर्चाको विषय बनेको छ । वरिष्ठताक्रममा १३ औं स्थानमा रहेका बेल्बासेलाई उनीभन्दा अगाडिका १२ जना न्यायाधीशहरूलाई पन्छाएर सोझै उच्च अदालतमा बढुवाका लागि सिफारिस गरिएको हो । संवैधानिक व्यवस्था अनुसार जिल्ला र उच्च अदालतका न्यायाधीशको ६३ वर्षे उमेरहद रहने भएकाले आगामी असोज ४ गते उनी अवकाश पाउँदैछन् । ६३ वर्ष पुरा हुन चार दिन मात्र बाँकी रहँदा गरिएको यस सिफारिसले गर्दा उनलाई कास्कीबाट रमाना लिएर काठमाडौंबाट नियुक्ति पत्र बुझ्ने र नयाँ कार्यक्षेत्र उच्च अदालत जनकपुर पुगेर इजलासमा बस्न समेत समयको ठूलो अभाव हुने देखिन्छ । न्यायपरिषद्को निर्णयको माइन्यूटमा १३ औं वरीयताका बेल्बासेलाई अरू १२ जना वरिष्ठ न्यायाधीशहरूलाई छाडेर सिफारिस गर्नुको कुनै विशिष्ट कारण वा आधार खुलाइएको छैन । वि.सं. २०५२ मंसिरमा न्यायसेवामा प्रवेश गरी २०७० जेठ २७ गते जिल्ला न्यायाधीश बनेका उनले यो अल्पकालीन पदोन्नतिपछि उच्च अदालतको न्यायाधीशको हैसियतमा पेन्सन लगायतका विशिष्ट सुविधाहरू प्राप्त गर्नेछन् । कास्की जिल्ला अदालतमा कार्यरत रहँदा न्यायाधीश बेल्बासेको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा महत्त्वपूर्ण आदेश दिएको थियो । महान्यायाधिवक्ता कार्यालयको निर्णयका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले दिएको निवेदन अनुसार उनको इजलासले लामिछाने विरुद्धका मूल तथा पुरक अभियोगहरूबाट संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाई सहकारी ठगीको अभियोग मात्र कायम रहने गरी अभियोगपत्र संशोधनको आदेश जारी गरेको थियो ।
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा छलफल गर्न भोलि (बुधबार) शीर्ष राजनीतिक नेतृत्वको सर्वदलीय बैठक बस्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । पछिल्लो समय देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना बढिरहेका बेला विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन राजनीतिक तहबाटै समन्वय र पहल आवश्यक रहेको भन्दै रास्वपाले सर्वदलीय बैठक बोलाएको हो । रास्वपाका अनुसार बैठकमा शीर्ष राजनीतिक नेतृत्वको सहभागिता रहनेछ ।
एसियन गेम्सका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा
काठमाडौं । जापानको आइची–नागोयामा हुने एसियन गेम्सको क्रिकेट प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा कप्तान ऐरीसँगै कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन् । एसियन गेम्सअन्तर्गतको क्रिकेट प्रतियोगिता सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा आयोजना हुँदैछ । नेपालले प्रतियोगितामा बलियो टोलीसहित सहभागिता जनाउँदै क्रिकेटमा एसियाली मञ्चमा आफ्नो प्रभाव देखाउने लक्ष्य राखेको छ ।
बाढीले भत्काएका सडक-पुल जोड्दै बागमती सरकार, वैकल्पिक मार्गमा जोड
काठमाडौं । विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा क्षतिग्रस्त सडक तथा पुल पुनः सञ्चालनमा ल्याउन बागमती प्रदेश सरकारले पुनःनिर्माणको कामलाई तीव्रता दिएको जनाएको छ । बाढीले मुख्य सडक तथा पुलमा क्षति पु‍र्‍याएपछि तीन जिल्लाका विभिन्न बस्तीको यातायात सम्पर्क प्रभावित भएको थियो । त्यसपछि प्रदेश सरकारले सडक खुलाउने, क्षतिग्रस्त पुल मर्मत गर्ने, वैकल्पिक पुल निर्माण गर्ने काम अघि बढाएको जनाएको छ । प्रदेशका भौतिक पूर्वाधार मन्त्री भरतबहादुर केसीका अनुसार मुख्यमन्त्री किरण थापाको प्रत्यक्ष निगरानीमा प्रभावित क्षेत्रको यातायात सम्पर्क पुनःस्थापना गर्ने काम भइरहेको छ । प्रदेश सरकारले काठमाडौं–रसुवा जोड्ने टोखा–छहरे–चौघडा–बाहुनबेँसी–लाच्याङ सडक सञ्चालनमा ल्याएको जनाएको छ । त्यस्तै, बाढीका कारण अवरुद्ध गल्छी–त्रिशूली सडक सफा गरी यातायात सञ्चालनमा ल्याइएको मन्त्री केसीले बताए । मुख्य सडक सञ्चालनमा आए पनि बाढीले पुल तथा अन्य संरचनामा क्षति पु‍र्‍याएपछि कतिपय क्षेत्रमा आवागमनको समस्या कायमै रहेको मन्त्री केसीले जानकारी दिए । त्यसलाई सम्बोधन गर्न प्रदेश सरकारले वैकल्पिक पुल निर्माणलाई प्राथमिकता दिएको छ । मन्त्री केसीका अनुसार श्रमथली–पाटीखर्क–पाँचाङ पुल प्रदेश सरकारको अग्रसरतामा निर्माण भइरहेको छ । त्यस्तै, सूर्यगढी गाउँपालिका–२ बाट नौकुण्ड गाउँपालिका जोड्ने ३२४ मिटर लामो झोलुङ्गे पुल निर्माणको तयारी अघि बढाइएको छ । फलाँखु खोलामा पनि बेलिब्रिज राख्ने प्रक्रिया अघि बढाइएको छ । हेटौंडामा तयारी अवस्थामा रहेको बेलिब्रिजलाई प्रभावित क्षेत्रमा लैजाने तयारी गरिएको मन्त्री केसीले जानकारी दिए । बाढीपछि रसुवा जोड्ने वैकल्पिक मार्गका रूपमा फलाँखुमा बेलिब्रिज निर्माण प्रक्रिया अघि बढाइएको केसीले वताए । प्रदेश सरकारले बाढीबाट प्रभावित जोखिमपूर्ण आवागमनका साधनलाई समेत विस्थापन गर्ने योजना बनाएको छ । त्रिशूली, देविघाट र धुन्चेमा रहेका म्यानुअल तुइनलाई मोटरेबल संरचनामा रूपान्तरण गर्ने तयारी भइरहेको मन्त्री केसीले बताए । धादिङतर्फ पनि क्षतिग्रस्त संरचनाको मर्मतलाई अघि बढाइएको छ । घाटबेँसीमा रहेको झोलुङ्गे पुल मर्मत गर्नुका साथै गल्छीबाट जिल्ला सदरमुकाम धादिङबेँसी जाने पुल मर्मत गरी सदरमुकामलाई राजमार्गसँग जोड्ने काम गरिएको प्रदेश सरकारको भनाइ छ । बाढीले क्षति पु‍ङयाएको पूर्वाधार पुनःनिर्माणमा सडक र पुलसँगै खानेपानीलाई पनि प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । नुवाकोटको विदुर नगरपालिकामा बाढीपछि देखिएको खानेपानी समस्या समाधान गर्न त्रिशूली क्षेत्रमा भूमिगत पानी निकाल्ने तयारी गरिएको मन्त्री केसीले जानकारी दिए । मन्त्री केसीका अनुसार डिप बोरिङमार्फत भूमिगत पानी निकालेर खानेपानी आपूर्ति गर्ने योजना अघि बढाइएको छ । प्रदेश सरकारका अनुसार अहिलेको प्राथमिकता बाढीबाट अवरुद्ध भएको यातायात र आधारभूत सेवा पुनः सञ्चालनमा ल्याउनु हो । त्यसपछि क्षतिग्रस्त संरचनालाई स्थायी रूपमा पुनःनिर्माण गर्ने योजना अघि बढाइनेछ । भोटेकोशी बाढीबाट भएको क्षति पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ । संघीय सरकारले समेत बाढीबाट भएको समग्र क्षतिको पुननिर्माणका लागि ठूलो रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ । बाढीपछि राहत र उद्धारको चरण पार गर्दै प्रभावित क्षेत्रमा अब पुनःस्थापना र पुनर्निर्माणको चरण सुरु भएको मन्त्री केसीले बताए । बागमती प्रदेश सरकारले सडक, पुल, बेलिब्रिज, झोलुङ्गे पुल र खानेपानीका योजनामार्फत प्रभावित बस्तीलाई पुनः सहज यातायात र आधारभूत सेवासँग जोड्ने काम अघि बढाएको जनाएको छ ।
बंगलादेशमा शेख हसिनाको पार्टीका ७ वरिष्ठ नेतालाई मृत्युदण्ड
काठमाडौं । बंगलादेशको इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले प्रतिबन्धित अवामी लिगका सात वरिष्ठ नेतालाई सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा मानवताविरुद्धका अपराध गरेको अभियोगमा मृत्युदण्ड सुनाएको छ । ती नेताहरूमाथि आन्दोलनका क्रममा हिंसा भड्काउन, हिंसात्मक गतिविधिको निर्देशन दिन वा त्यसलाई प्रोत्साहन गर्न भूमिका खेलेको आरोप लागेको थियो । उक्त आन्दोलनलाई ‘जुलाई विद्रोह’का नामले समेत चिनिन्छ । तीन सदस्यीय ट्रिब्युनल ९आईसीटी–२०को अध्यक्षता न्यायाधीश मोहम्मद नजरुल इस्लाम चौधरीले गरेका थिए । सातै जना अभियुक्तविरुद्ध उनीहरूको अनुपस्थितिमा मुद्दा चलाइएको थियो । अदालतले उनीहरूलाई दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो । मृत्युदण्ड पाउनेमा अवामी लिगका महासचिव तथा पूर्व सडक यातायातमन्त्री ओबैदुल कादेर, संयुक्त महासचिव एएफएम बहाउद्दिन नसीम तथा सूचना तथा प्रसारण मामिलाका पूर्व राज्यमन्त्री मोहम्मद अली अराफात रहेका छन् । त्यस्तै, अन्य चार अभियुक्तमा जुबो लिगका अध्यक्ष शेख फजले शाम्स पराश, महासचिव मैनुल हुसेन खान निखिल, बंगलादेश छात्र लिगका अध्यक्ष सद्दाम हुसेन र महासचिव शेख वली आसिफ एनान रहेका छन् । अदालतले सातै जना अभियुक्तका तर्फबाट प्रतिरक्षा गर्न सरकारी वकिलहरू नियुक्त गरेको थियो । यो फैसला सन् २०२४ को विद्यार्थी आन्दोलनसँग सम्बन्धित मुद्दामा आएको हो । करिब १० महिनाअघि पूर्वप्रधानमन्त्री शेख हसिनालाई पनि उनको अनुपस्थितिमा मृत्युदण्ड सुनाइएको थियो ।
बाढीले भत्काएका झोलुंगे पुल असोज २० गतेसम्म सञ्चालनमा आउने
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली-मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्यलाई सरकारले जारी राखेको छ । क्षतिग्रस्त भएकामध्ये १२ वटा झोलुङ्गे पुलहरूको मर्मत कार्य सुरु भइसकेको छ । धादिङको कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया झोलुङ्गे पुल रहेका छन् । त्यसैगरी, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत सुरु भइसकेको छ । यी पुलहरू असोज २० गतेभित्र सञ्चालनमा आउने गरी मर्मत कार्य तीव्र रूपमा भइरहेको छ । यसका साथै बाढीबाट प्रभावित थप ८ वटा झोलुङ्गे पुलहरूको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढेको छ । मर्मतमा आवश्यक डेकलगायत सामग्री खरिदका लागि विभिन्न निर्माण कम्पनीहरूसँग सम्झौता भइ पहिलो चरणको सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणको स्टिल पाट्र्स खरिद प्रक्रिया अघि बढाइएको छ । यसबाहेक उक्त करिडोरमा मर्मत नै हुन नसक्ने गरी क्षति भएका ३३ वटा झोलुङ्गे पुलको भने पुनःनिर्माणका लागि भदौ १७ गते बोलपत्र आह्वान भइसकेको छ । पुल निर्माण तथा मर्मतका लागि अत्यावश्यक मानिने लठ्ठा, ’बुलडग ग्रिप्स’ लगायतका सामग्री खरिद गर्न सरकारले बोलपत्र आह्वान गरेको हो ।