काठमाडौं । प्राकृतिक विपद् तथा बाढीबाट प्रभावित घाइतेलाई सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बुधबार २०८३ भदौ ३० गते एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बैंकको केन्द्रीय कार्यालयसहित सातै प्रदेशका आठ शाखा सहभागी भएका थिए ।
बागमती प्रदेशमा बैंकको केन्द्रीय कार्यालय बबरमहल र नारायणगढ शाखा, कोशी प्रदेशमा विराटनगर शाखा, मधेस प्रदेशमा सिमरा शाखा, गण्डकी प्रदेशमा अमरसिंहचोक शाखा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल शाखा, कर्णाली प्रदेशमा सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा धनगढी शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न प्रदेशबाट गरी ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।
प्रभु बैंकले यसअघि पनि बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो । त्यसैगरी बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ समेत कोषमा सहयोग गरिएको बैंकले जनाएको छ ।
यस्तै, बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउन बैंकले १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बैंकले विपद्को कठिन अवस्थामा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतका सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।