काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद गरेको छ । विमानस्थलबाट ठूलो परिमाणमा चुरोट पठाउन लागेको अवस्थामा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
विमानस्थल सुरक्षा कार्यालय गौचरका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको कार्गो परिसरमा नियमित सुरक्षा जाँचका क्रममा दुई वटा कार्टुन शंकास्पद देखिएपछि थप जाँच गरिएको थियो।
जाँचका क्रममा नयाँ बजारस्थित स्काई किङ लजिस्टिकका सञ्चालक सुवास कुँवरमार्फत अष्ट्रेलिया पठाउन लागिएको उक्त कार्टुनबाट ‘शिखर आइस रुस’ लेखिएको चुरोट बरामद भएको हो।
बरामद चुरोट १२६ बन्डल रहेको र प्रत्येक बन्डलमा १० प्याकेटका दरले जम्मा १ हजार २६० प्याकेट रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, गौश्वारा हुलाक कार्यालय डिल्लीबजारमार्फत सगुन खड्काले कमलराज कार्कीको नाममा अष्ट्रेलिया पठाउन लागेको कार्गो सामान पनि विमानस्थलमा जाँचका क्रममा शंकास्पद देखिएको थियो।
थप जाँच गर्दा उक्त सामानबाट ‘शिखर आइस रुस’ चुरोटका १५ बन्डल अर्थात् १५० प्याकेट बरामद भएको प्रहरीले जनाएको छ।
दुवै घटनामा बरामद भएको कुल १ हजार ४१० प्याकेट अवैध चुरोट आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए ।