बाढी पीडितको राहतका लागि एनआईसी एशिया क्यापिटलद्वारा २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । 

क्यापिटलले कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरेको जनाएको छ । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा सडक, पुल, बस्ती, बजार तथा जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो । 

सोही अकल्पनीय प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम उपलब्ध गराएको हो । 

विपद्मा परेका नागरिकहरूप्रति दुःख व्यक्त गर्दै क्यापिटलले उद्धार, राहत तथा पुनस्र्थापनामा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक र सहयोगी संस्थाहरूको योगदानको उच्च सम्मान गरेको छ । 

स्थापनाकालदेखि नै व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको एन आई सी एशिया क्यापिटलले देशका विभिन्न भागमा वित्तीय साक्षरता अभिवृद्धि लगायतका कार्यक्रमहरू समेत निरन्तर सञ्चालन गर्दै आएको छ ।

Share News