जेनजी आन्दोलनमा गोली नचलाउनु र दमन नगर्नु भनेको हुँ: केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आफूले दमन नगर्न र गोली नचलाउन निर्देशन दिए पनि गोली चलाइएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै ओलीले भदौ २३ गते नवयुवासहितका युवाको हत्या योजनाबद्ध र षड्यन्त्रपूर्ण ढंगले गराइएको दाबी गरे । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रूपमा लुटपाट, हिंसा, आतंक र अराजकता फैलाइएको उनको भनाइ छ । ओलीले आन्दोलनका क्रममा गोली चलाउने विषयमा आफूले दमन नगर्न निर्देशन दिएको भन्दै गोली कसरी चल्यो भन्ने विषय षड्यन्त्रपूर्ण रहेको बताए । उनले घटनाबारे विभिन्न अन्तर्राष्ट्रिय खोज, अध्ययन तथा अनुसन्धानका प्रतिवेदन, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्रीले समेत विभिन्न पक्ष उजागर गरेको दाबी गरे । उनले भने, ‘गत वर्ष एउटा नरहत्याको योजना रचना गरियो । त्यस योजना अन्तर्गत २३ गते अनावश्यक ढंगले नवयुवाहरू र अरू युवाको हत्याको काण्ड घटाउने काम भयो योजनाबद्ध ढंगले, षड्यन्त्रपूर्ण ढंगले । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रूपमा लुटपाट, हिंसा, आतंक, अराजकता फैलाउनु थियो, त्यो फैलाइयो ।’ ओलीले भदौको हिंसा तथा तोडफोडलाई आधार बनाएर आफूहरूमाथि दोष थोपर्ने प्रयास भएको बताए । उनले आफूले गोली नचलाउन र दमन नगर्न भनेको भए पनि आन्दोलनका क्रममा गोली कसरी चल्यो भन्ने विषयमा छानबिन हुनुपर्ने बताए । त्यस्तै, उनले नेपाललाई अराजकतातर्फ धकेलेर असंवैधानिक सरकार स्थापना गर्ने र आफ्ना स्वार्थ पूरा गर्ने षड्यन्त्र भएको दाबी गरे । संविधान र लोकतान्त्रिक प्रक्रियाबाट अघि बढिरहेको मुलुकलाई सडकबाट केही हजार मानिस अगाडि सारेर ध्वस्त पार्ने प्रयास भएको उनको आरोप थियो । ओलीले देशलाई पुनः अन्धकार युग र अराजकतातर्फ फर्काउने प्रयास भइरहेको पनि बताए । उनका अनुसार मुलुकमा विधि, पद्धति र प्रक्रियाभन्दा बलजफ्तीका माध्यमबाट काम गर्ने प्रवृत्ति बढेको छ । उनले भने, ‘कतिपय पछाडि, ब्ल्याक होलतिर, अन्धकार युगतिर फर्काउने, अराजकतातिर फर्काउने प्रयासमा जुटिरहेका छन् । स्थिति होइन, विधि होइन, पद्धति होइन, प्रक्रिया होइन, बलजफ्तिका यस्ता तरिका अवलम्बन भइरहेका छन् ।’ ओलीले अराजक तरिकाले मुलुक र संवैधानिक निकाय तथा संस्थाहरू सञ्चालन गर्ने प्रयास भइरहेको आरोप लगाए । अराजकताले हिंसा, अकर्मण्यता, गैरजिम्मेवारी र दिशाहीनता निम्त्याउने भन्दै उनले लोकतान्त्रिक विधि, प्रक्रिया र प्रणालीबाट मुलुक सञ्चालन हुनुपर्ने बताए । गत भदौ २३ र २४ गतेको आन्दोलन संविधान र लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने उद्देश्यले आयोजना गरिएको ओलीको दाबी थियो । उनले उक्त घटनामा कसको संलग्नता थियो भन्ने विषय बिस्तारै खुल्दै गएको बताए । ओलीले विभिन्न शक्तिहरू नेपाललाई ‘कुबातो’तर्फ धकेल्न सक्रिय रहेको दाबी गर्दै गत निर्वाचनको मौन अवधिमा बीबीसीले नेपालमा गलत सूचना सम्प्रेषण गरेर मतदातालाई दिग्भ्रमित पार्न खोजेको आरोपसमेत लगाए । उनले स्थापित भनिएका कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसमेत नेपालमा असत्य सूचना फैलाएर जनतालाई दिग्भ्रमित पार्न उद्यत भएको जिकिर गरे ।
शेष घलेको बाढी प्रभावित बालबालिकालाई पढाउन करिब ५८ करोड सहयोग
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र पत्नी जमुना गुरुङले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि आर्थिक सहयोग गर्ने भएका छन्। उनीहरू दम्पत्ती मिलेर १८ वर्षमुनिका बालबालिकालाई १२ कक्षा सम्मको अध्ययनका लागि सहयोग गर्ने भएका हुन्। राष्ट्रिय बाल अधिकार परिषद् (एनसीआरसी) सँग भएको समझदारीपत्र (एमओयू) अनुसार एमआईटी ग्रुप फाउन्डेसनले फाउन्डेसनले बाढी प्रभावित बालबालिकालाई ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गरेको हो। फाउन्डेसनका अनुसार सहयोगअन्तर्गत बालबालिकाको अवस्था र आवश्यकताका आधारमा शिक्षा, खाना, आवास, कपडा, स्वास्थ्य उपचारलगायत अन्य अत्यावश्यक आवश्यकता पूरा गर्न सहयोग गरिनेछ। शेष घलेले सामाजिक सञ्जालमा लेख्दै बाढीको पानी घटेपछि पनि प्रभावित बालबालिकाको जीवनमा त्यसको असर लामो समयसम्म रहने बताएका छन् । फाउन्डेसनले उनीहरूको भविष्यमा सहयोग पुर्याउने उद्देश्यले दीर्घकालीन परियोजना अघि बढाएको उनले उल्लेख गरेका छन् । 'बाढीको पानी घटे पनि यसको असर लामो समयसम्म रहन्छ । जुन कुनै पनि बालबालिकाले भोग्न नपरोस्। यी बालबालिका र उनीहरूका परिवारले भोग्नुपरेको पीडाले मेरी श्रीमती र मलाई निकै भावुक बनाएको छ,’ उनले लेखेका छन्,' यस्तो कठिन समयमा मात्र नभई आगामी वर्षहरूमा पनि उनीहरूलाई सहयोग गर्ने छौ । सहयोग गर्न पाएकामा हामी आफूलाई भाग्यमानी ठान्छौँ। आफ्नो शिक्षालाई निरन्तरता दिन सकून्, आवश्यक आधारभूत आवश्यकता पूरा गरुन र भविष्यमा राम्रो भएर अघि बढुन भन्ने हाम्रो चाहना हो।' फाउन्डेसनले बालबालिकाले आफ्नो शिक्षा निरन्तरता दिन सकून्, आधारभूत आवश्यकता पूरा गर्न सकून् र भविष्यप्रति आशावादी भएर अघि बढ्न सकून् भन्ने उद्देश्यले सहयोग गर्न लागिएको जनाएको छ। यो सहयोग केवल आर्थिक सहायता नभई बालबालिका हुर्कँदै जाँदा निरन्तर साथ दिने दीर्घकालीन प्रतिबद्धता भएको उल्लेख गरिएको छ। बाढीका कारण बालबालिकाले भोगेको कठिनाइले उनीहरूको भविष्यका अवसरलाई प्रभावित गर्न नदिने उद्देश्यले सहयोगलाई कक्षा १२ सम्म निरन्तरता दिन लागिएको फाउन्डेसनले जनाएको छ।
छाया देवी कम्प्लेक्सको आम्दानी ८९.२० करोड, बैंकमा ऋण १.८५ अर्ब रुपैयाँ
काठमाडौं । छाया देवी कम्प्लेक्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ८९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.४८ प्रतिशत अर्थात् ३ करोड रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ८६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको मुख्य आम्दानीको स्रोत होटल सञ्चालन हो । यसबाहेक क्यासिनो तथा भाडालगायतका स्रोतबाट पनि आम्दानी गर्दै आएको छ । गत आर्थिक वर्षमा होटल सञ्चालनबाट भएको आम्दानी अघिल्लो वर्षको तुलनामा करिब ७ प्रतिशतले बढेर ८० करोड १० लाख रुपैयाँ पुगेको छ । औसत कोठा दरमा भएको वृद्धि तथा करिब ७२ प्रतिशतको कोठा उपयोग दर कायम गर्न सफल भएकाले होटल आम्दानी बढेको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ८५ करोड ७० लाख रुपैयाँ, आव २०७९/८० मा ८३ करोड ७० लाख रुपैयाँ, आव २०७८/७९ मा ८४ करोड ६० लाख रुपैयाँ र आव २०७७/७८ मा १ अर्ब ८७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । १६७ कोठा क्षमताको पाँचतारे होटलसहित व्यावसायिक खुद्रा मल सञ्चालन गर्दै आएको छाया देवी कम्प्लेक्स सन् २००८ को जनवरीमा स्थापना भएको हो । कम्पनीले आफ्नो कुल क्षेत्रफलमध्ये ५१ प्रतिशत होटल सञ्चालनका लागि र बाँकी क्षेत्र व्यावसायिक कम्प्लेक्सका लागि छुट्याएको छ । व्यावसायिक कम्प्लेक्सले सन् २०१८ अक्टोबरदेखि व्यावसायिक सञ्चालन सुरु गरेको थियो । त्यसको करिब ९ महिनापछि सन् २०१९ जुलाईदेखि होटल सञ्चालनमा आएको हो । छाया देवी कम्प्लेक्सको सञ्चालक समितिको अध्यक्षता पृथ्वीबहादुर पाण्डेले गर्दै आएका छन् । बैंकिङ क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव भएका पाण्डे हाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षका रूपमा कार्यरत छन् । कम्पनीका प्रबन्ध निर्देशक महेश्वरप्रकाश श्रेष्ठ हिमालयन इन्फ्रास्ट्रक्चर फन्डका सञ्चालकसमेत हुन् । उनीसँग वित्त तथा बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । छाया देवी कम्प्लेक्सले स्टारवुड एसिया प्यासिफिक होटल्स एन्ड रिसोट्र्स प्राइभेट लिमिटेडसँग इजाजतपत्र सम्झौता गरेको छ । उक्त कम्पनी म्यारियट इन्टरनेसनलको स्वामित्वमा रहेको छ । सम्झौताअनुसार छाया देवी कम्प्लेक्सले आफ्नो होटल ‘एलफ्ट’ ब्रान्डअन्तर्गत सञ्चालन गर्ने अधिकार पाएको छ । साथै, कम्पनीले स्टारवुडको विश्वव्यापी होटल आरक्षण प्रणालीमा पहुँच तथा मताधिकार प्राप्त होटललाई उपलब्ध गराइने विभिन्न सेवाको सुविधा प्राप्त गर्नेछ । विश्वव्यापी रूपमा स्थापित होटल ब्रान्डसँगको आबद्धताले कम्पनीलाई स्थापित सेवा प्रणाली, ठूलो ग्राहक आधार, बजारीकरण सहयोग तथा परिचित ब्रान्डको लाभ प्राप्त हुने अपेक्षा गरिएको छ । यसले होटलमा पाहुना बुकिङ बढाउन तथा आम्दानी विस्तारमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ । कम्पनीअन्तर्गतको होटल काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा अवस्थित छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६.२ किलोमिटर दूरीमा रहेको होटल काठमाडौंका प्रमुख पर्यटकीय तथा सांस्कृतिक स्थलको समेत पहुँचमा छ । काठमाडौं अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपालको प्रमुख प्रवेशद्वार हुनुका साथै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले होटलले पर्यटकको निरन्तर आवागमनबाट लाभ लिन सक्ने देखिन्छ । काठमाडौंका सात विश्व सम्पदा क्षेत्र, तीन दरबार क्षेत्र तथा अन्य पर्यटकीय स्थलको निकटताले पनि होटलको व्यवसायमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, हिमाली दृश्यावलोकनका लागि प्रसिद्ध नगरकोट होटलबाट करिब २८ किलोमिटरको दूरीमा रहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब ८५ करोड रुपैयाँ ऋण लिएको छ । यसमध्ये १ अर्ब ८० करोड ७० लाख रुपैयाँ दीर्घकालीन र ४ करोड ३० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । कम्पनीको ऋणको ब्याजदर चलायमान ब्याजदर प्रणालीमा आधारित रहेकाले बैंक तथा वित्तीय संस्थाको आधारदरमा हुने परिवर्तनसँगै ब्याज खर्चमा समेत उतारचढाव आउन सक्छ । ब्याजदर बढेमा कम्पनीको नाफामा दबाब पर्न सक्ने जोखिम रहेको छ । छाया देवी कम्प्लेक्स लिमिटेड सन् २०२१ जुन २५ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि १४ लाख ३७ हजार ५०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । प्रस्तावित आईपीओबाट कम्पनीले सर्वसाधारणबाट ५७ करोड ५० लाख रुपैयाँ संकलन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटलले पाएको छ ।
नापजाँच सकिएको ९ वर्षपछि २४२ परिवारले पाए लालपुर्जा
काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ (साविक रमदैया भवाडी गाविस-१, ५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीयले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन् । नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । उक्त क्षेत्रको नापजाँच २०७४ सालमै सम्पन्न भएको थियो । नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म लालपुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले २४२ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो । लालपुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ । जग्गा दर्ता भई लालपुर्जा प्राप्त भएपछि स्थानीयलाई जग्गाको कारोबार तथा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने अपेक्षा गरिएको छ । त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुने बताइएको छ । यसअघि धनुषाका ४ हजार ३५४ परिवारले लालपुर्जा प्राप्त गरिसकेका छन् ।
भदौमा ५ अर्ब बढीको विद्युत् निर्यात
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । प्राधिकरणको प्रणाली सञ्चालन विभागअन्तर्गत भार प्रेषण केन्द्र, स्युचाटारले सार्वजनिक गरेको विवरणअनुसार भदौमा भारतको हरियाणा तथा बिहार राज्य र बंगलादेशमा द्विपक्षीय सम्झौतामार्फत तथा विद्युत् बजारमार्फत विद्युत् निर्यात गरिएको हो । उक्त अवधिमा दुवै माध्यमबाट गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात भएको छ । यसको कुल कारोबार रकम ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २८२ रुपैयाँ रहेको छ । द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख २१ हजार २८८ युनिट विद्युत् निर्यात गर्दा ३ अर्ब ६४ करोड २५ लाख २८ हजार रुपैयाँ आम्दानी भएको छ । यस्तै, विद्युत् बजारमार्फत १४ करोड ३९ लाख ८५ हजार १५५ युनिट विद्युत् निर्यात गरी १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । भदौमा भएको कुल विद्युत् निर्यातमा द्विपक्षीय सम्झौतामार्फत भएको निर्यातको हिस्सा बढी रहेको छ । विद्युत् बजारमार्फत पनि उल्लेख्य मात्रामा विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ । भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि बंगलादेशतर्फको विद्युत् निर्यात भने बन्द रहेको छ । अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोधसमेत गरिसकिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ ।
काठमाडौंका मुख्य क्षेत्रमा दुई दिन बिजुली कटौती
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा दुई दिन विद्युत आपूर्ति बन्द गर्ने भएको छ । रत्नपार्क वितरण केन्द्र तथा काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले नियमित मर्मतसम्भार, भूमिगत तार व्यवस्थापन तथा अन्य प्राविधिक कार्य गर्न विद्युत आपूर्ति बन्द गर्न लागेको हो । प्राधिकरणका अनुसार आज (असोज ३ गते शनिबार) अनामनगर र पुतलीसडक फिडरअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । अनामनगर फिडरअन्तर्गत के–३ सडकको पर्खाल हुँदै अनामनगर पानी ट्यांकी, अनामनगर मोड, पूर्वी गेट, हनुमानस्थान, सिंहदरबार दक्षिण गेट हुँदै अन्नपूर्ण न्युरो अस्पतालसम्म, अनामनगर भाटभटेनी, धोबीखोला करिडोर हुँदै मैतीदेवी सेतो पुलसम्म तथा आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुनेछ । त्यस्तै, पुतलीसडक फिडरअन्तर्गत माइतीघर मण्डला, बबरमहल, काठमाडौं जिल्ला अदालत हुँदै बिजुलीबजार पुल, थापाथली एपीआई टेलिभिजन तथा आसपासका क्षेत्रमा सोही समय विद्युत आपूर्ति बन्द हुनेछ । यस्तै, असोज ४ गते आइतबार भोटेबहाल फिडरअन्तर्गत भोटेबहाल पिपलबोट, एङ्गल चोक, लगन चोक, भगवती मन्दिर, दक्षिणकाली मन्दिर तथा आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले कार्य सम्पन्न भएमा निर्धारित समयभन्दा अगावै विद्युत सेवा सुचारु हुन सक्ने जनाएको छ । विद्युत आपूर्ति बन्द हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।
भारतीय उद्योगपतिसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले, नेपालमा लगानीको आह्वान गर्ने
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा लगानी गर्न आह्वान गर्ने भएका छन् । अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसंघले आयोजना गरेको उद्योगीहरूसँगको गोलमेच छलफललाई उनले शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित परिसंघको मुख्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । परिसंघकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने कार्यक्रममा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । छलफलका क्रममा उनले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न तथा नेपालमा लगानी गरिसकेका उद्योगीलाई थप लगानी विस्तार गर्न आह्वान गर्नेछन् । यस्तै, नेपालमा लगानीका लागि कानुनी स्थिरता, लगानी सुरक्षा तथा प्रतिफलको सुनिश्चितताका विषयमा सरकारको धारणा पनि उनले भारतीय उद्योगपतिसमक्ष प्रस्तुत गर्नेछन् । अर्थमन्त्री वाग्लेसँगको छलफलमा भारतीय उद्योग परिसंघका पूर्वअध्यक्ष तथा आइटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन उद्योगपति सहभागी हुने परिसंघले जनाएको छ ।
समस्याग्रस्त सहकारीको घरजग्गा ४० लाखमा बिक्रीमा, प्रतिआना ११ लाख रुपैयाँ
काठमाडौं । समस्याग्रस्त लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र लुनिभा बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेको घरजग्गा लिलाम बिक्रीमा राखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संस्थाको नाममा दर्ता रहेका घरजग्गा बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको हो । समितिले लालीगुराँस बहुउद्देश्यीय सहकारीको नाममा रहेको भक्तपुरको ताथली-४ स्थित कित्ता नम्बर ६४७ को ०-८-३-३ क्षेत्रफलको जग्गा बिक्रीमा राखेको छ । उक्त जग्गाको न्यूनतम मूल्य प्रतिआना ११ लाख रुपैयाँका दरले कुल ९८ लाख ३१ हजार २५० रुपैयाँ तोकिएको छ । जग्गाको अगाडि २० फिटे ढलान बाटो रहेको समितिले जनाएको छ । यस्तै, लालीगुराँस बहुउद्देश्यीय सहकारीकै नाममा रहेको ललितपुर महानगरपालिका-२२ स्थित कित्ता नम्बर ११३९ को ०-०-३-० क्षेत्रफलको जग्गा तथा त्यसमा रहेको घर पनि बिक्रीमा राखिएको छ । उक्त घरजग्गाको न्यूनतम मूल्य प्रतिआना ३० लाख रुपैयाँ तोकिएको छ । त्यसैगरी, लुनिभा बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेको काठमाडौं महानगरपालिका-१५ स्थित कित्ता नम्बर ७९ को ३१.७९ वर्गमिटर क्षेत्रफलको जग्गा तथा त्यसमा रहेको घर बिक्रीमा राखिएको छ । उक्त घरजग्गाको न्यूनतम मूल्य प्रतिआना ४० लाख रुपैयाँ तोकिएको समितिले जनाएको छ । सहकारी संस्थाका ऋणी सदस्य, जमानीकर्ता तथा सञ्चालकले बुझाउनुपर्ने साँवा, ब्याज र हर्जानासहितको ऋण दायित्व फरफारक नगरेपछि संस्थाको नाममा दर्ता रहेका घरजग्गा लिलाम बिक्रीमा राखिएको समितिले जनाएको छ । सहकारी ऐन, २०७४ तथा सहकारी नियमावली, २०७५ बमोजिम तोकिएको न्यूनतम मूल्यभन्दा कम नहुने गरी घरजग्गा खरिद गर्न इच्छुक व्यक्ति, संस्था वा बचतकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । समितिले लिलाम बिक्रीमा राखिएका सम्पत्तिको न्यूनतम मूल्य चलनचल्तीको मूल्यका आधारमा कायम गरिएको जनाएको छ ।