माथिल्लो त्रिशूली-१ को सुरुङभित्र थप १३ शव फेला
काठमाडौं । गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र हराइरहेका व्यक्तिको खोजीका क्रममा आइतबार थप १३ वटा शव फेला परेका छन् । आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार कार्यमा खटिएको टोलीले यी शवहरू फेला पारेको हो । सुरुङभित्र कंक्रिटिङका लागि तयार पारिएको रिबारको जालमा अल्झिएका र हिलोले पुरिएको अवस्थामा ती शवहरू भेटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यससँगै अडिट-३ क्षेत्रबाट मात्रै निकालिएका शवको कुल संख्या ३७ पुगेको छ । उद्धार गरिएका शवहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका-६ स्थित खम्बास्वास्थ्य परिसरमा ल्याएर राखिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले सूचना जारी गर्दै मृतकका परिवार तथा आफन्तहरूलाई शव सनाखतका लागि उपस्थित भई सहयोग गरिदिन अनुरोध गरेको छ । घटनापछि नेपाली सेना र आयोजनाको प्रवर्द्धक कम्पनी 'नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी'को संयुक्त टोली खोज तथा उद्धारमा निरन्तर खटिरहेको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन घटनास्थलमा तालिमप्राप्त कुकुर (सर्च डग) र कम्पनीका तर्फबाट मिनि एक्साभेटरको प्रयोग गरी दुईतर्फी टनेलमा खोजी तीव्र पारिएको छ । भदौ १० गतेको बाढीपछि यस आयोजनामा कार्यरत अझै ४५८ जना व्यक्तिहरू सम्पर्कविहीन रहेकाले खोजी कार्यलाई निरन्तरता दिइएको उद्धार टोलीले जनाएको छ ।
सोमबारदेखि यामाहा ब्लू फेस्ट, १० लाखसम्मको क्यासब्याक अफर
काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले असोज ५ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा वार्षिक कार्यक्रम ‘यामाहा ब्लू फेस्ट’ आयोजना गर्ने भएको छ । ‘द बिगेस्ट एक्सचेन्ज मेला’ का रूपमा प्रस्तुत गरिएको ६ दिने फेस्टमा ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटरमार्फत जुनसुकै ब्रान्डका पुराना दुईपांग्रे सवारीसाधनको बजारकै उत्कृष्ट मूल्यांकन गरिनेछ । मेलामा पुराना सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न प्रोत्साहित गर्ने उद्देश्यले ‘चंगा चेट’ अभियानसमेत सार्वजनिक गरिनेछ, जहाँ ग्राहकले पुरानो मोटरसाइकल वा स्कुटरमा थप ५० हजार रुपैयाँसम्मको भ्यालुएसन पाउनेछन् । साथै, १० लाख रुपैयाँसम्मको क्यासब्याक अफरसहित नागरिकताको भरमा तत्काल फाइनान्सिङ सुविधा र ४० महिनासम्मको न्यूनतम ईएमआई योजनासमेत उपलब्ध गराइनेछ । एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले विश्वस्तरीय मापदण्डका सवारीसाधन नेपाली राइडरसम्म पुर्याउन र एक्सचेन्ज प्रक्रियालाई थप सहज एवं लाभदायक बनाउन यो मेला आयोजना गरिएको बताए । खरिदका अतिरिक्त मेलामा रोमाञ्चक स्टन्ट शो, टेस्ट राइड, सेलिब्रेटी तथा क्रिएटरहरूसँग भेटघाट, कस्प्ले आर्टिस्टको प्रस्तुति र निःशुल्क एसेसरिजका साथै विभिन्न हाइटेक ग्याजेट जित्ने अवसरसमेत रहनेछ ।
बाढीमा परी उत्तरगयाका ११ जनाको मृत्यु, ७३७ सम्पर्कविहीन
काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकामा गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले व्यापक जनधनको क्षति पुर्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङका अनुसार बाढीका कारण ११ जनाको मृत्यु भएको छ भने ७३७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरूमा ४३६ जना स्थायी र ३१ जना अस्थायी बासिन्दा रहेका छन् । वडागत रूपमा हेर्दा वडा नं. १ मा ४३७ जना, वडा नं. २ मा ७५ जना (२ जनाको मृत्यु), वडा नं. ३ मा ३० जना (१ जनाको मृत्यु), वडा नं. ४ मा ७७ जना (१ जनाको मृत्यु) र वडा नं. ५ मा ११८ जना (७ जनाको मृत्यु) प्रभावित भएका छन् । उनले भनिन्, ‘पर्यटक, मजदुर तथा अन्य पेसाकर्मीहरू समावेश नभएकाले क्षति अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीका कारण जनप्रतिनिधि, शिक्षक र निजामती कर्मचारीहरूसमेत प्रभावित भएका छन् ।’ गुरुङका अनुसार उत्तरगया गाउँपालिका वडा नं. १ की कार्यपालिका सदस्य ज्ञानु विक सम्पर्कविहीन छन् । त्यसैगरी, जनस्वास्थ्य निरीक्षक बलराम न्यौपाने, जनस्वास्थ्य अधिकृत प्रदिप न्यौपाने, अनमी दिनिसा शाही र कार्यालय सहयोगी रेप्पा तामाङ बेपत्ता रहेका छन् भने सूचना प्रविधि अधिकृत जनक आचार्यको मृत्यु भएको छ । साथै मिननाथ न्यौपाने, रमेश लामिछाने, संजिव तामाङ, नारायण बहादुर थापा, अजय कुमार यादव, ममता श्रेष्ठ, मनमाया तामाङ, सुक बहादुर तामाङ, प्रिन्सिपल सुरज डंगोल र सुष्मा तामाङ लगायतका शिक्षक तथा विद्यालय कर्मचारीहरू सम्पर्कविहीन छन् । भौतिक पूर्वाधारतर्फ गाउँपालिकाभर ६१३ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् भने ६१८ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । साथै २२ वटा टहरा तथा अन्य संरचनामा क्षति पुगेको छ । सार्वजनिक निकायहरूतर्फ उत्तरगया गाउँपालिकाको कार्यपालिका कार्यालय (कैदलेटार) र वडा नं. १ को सम्पर्क कार्यालय नौविशेमा क्षति पुगेको छ । यसबाहेक सामुदायिक स्वास्थ्य एकाइ, कृषि तथा पशु सेवा सम्पर्क केन्द्र, उत्तरगया आँखा केन्द्र, विभिन्न विद्यालयका १० वटा भवन, ८ वटा शौचालय र ३४ वटा कक्षाकोठाहरू क्षतिग्रस्त भएका छन् । बाढीले यातायात, विद्युत र सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद गराएको छ । गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडकको वेत्रावती-मैलुङ खण्ड र वडा नं. १, २ र ३ जोड्ने सडक पूर्ण रूपमा क्षति भएको छ । ३ वटा पक्की पुल र ३ वटा झोलुङ्गे पुल बाढीले बगाएपछि आवतजावत तथा राहत सामग्री ढुवानीमा गम्भीर समस्या पैदा भएको छ भने वडा नं. १ मा विद्युत र सञ्चारको नेटवर्क पूर्ण रूपमा अवरुद्ध रहेको छ । विस्थापित र प्रभावितहरूलाई सुरक्षित राख्न विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ ।गाउँपालिकाभित्रका शिक्षालय आवि, भिमसेन स्थान, शिम्ले आवि, गणेश आवि र निलकण्ठ मावि छात्रावासमा गरी १७८ जना र नुवाकोट जिल्लाको विदुर तथा बट्टार क्षेत्रमा सारिएका ५३३ जना गरी कुल ७११ जना नागरिकले आश्रय लिइरहेका गाउँपालिकाकी उपाध्यक्ष गुरुङले बताइन् । उनका अनुसार राहत वितरणको क्रममा हालसम्म वडा नं. १ मा ११३, वडा नं. २ मा ७२, वडा नं. ३ मा १८, वडा नं. ४ मा ३२१ र वडा नं. ५ मा ४१७ गरी कुल ९४१ घरधुरीलाई राहत सामग्री वितरण गरिसकिएको छ । साथै भदौ १४ देखि १९ गतेसम्ममा विभिन्न ११५ वटा सरकारी, संघसंस्था तथा व्यक्तिगत तहबाट सहयोग प्राप्त भएको गुरुङको भनाइ छ । सडक र पुल भत्किएका कारण दुर्गम क्षेत्रहरूमा राहत पुर्याउन ठूलो चुनौती सामना गर्नुपरिरहेको उनले बताइन् । ‘अहिले पूर्णरुपमा विवरण आएको छैन् । सामान्य राहत वितरण गरिरहेका छौं । पूर्णरुपमा विवरण आएपछि उहाँलाई कहाँ राख्ने के गर्ने भन्नेबारे योजना बनाउँनेछौं,’उपाध्यक्ष गुरुङले भनिन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी पक्राउ
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलीमा खानमलाई पञ्जाब प्रान्तको लाहोरमा हिरासतमा लिइएको छ । लाहोरका डेपुटी कमिस्नरले उनको हिरासतको पुष्टि गरे । इमरान खानका छोरा कासिम खानले सामाजिक सञ्जाल एक्समार्फत अलीमा खानमलाई प्रहरीले अपहरण गरेको आरोप लगाएका छन् । उनले परिवारलाई अलीमालाई कहाँ लगिएको भन्ने जानकारी नदिइएको र परिवार तथा उनका वकिलले समेत उनीसँग सम्पर्क गर्न नसकेको बताएका छन् । कासिमले सरकारमाथि मानिसलाई नियन्त्रणमा लिएर परिवारमा डर पैदा गरेको तथा मानवअधिकार, उचित कानुनी प्रक्रिया र कानुनको शासनको उल्लंघन गरेको आरोपसमेत लगाएका छन् । ‘पहिले उनीहरूले मेरा बुबालाई जेलमा हाले । अब उनीहरू उनको परिवारको पछि लागेका छन्,’ उनले लेखेका छन् । बीबीसी उर्दूका अनुसार अलीमा खानमका आफन्त कासिम जमान खानले उनलाई लाहोर जिमखानाबाहिरबाट हिरासतमा लिएर कोट लखपत जेलमा स्थानान्तरण गरिएको बताएका छन् । उनका अनुसार शान्ति भंग हुन सक्ने आशंकाका आधारमा डेपुटी कमिस्नरले अलीमा खानमलाई हिरासतमा लिन प्रहरीलाई आदेश दिएका थिए । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा पक्राउ गरेको हो । लाहोर प्रहरीले भने घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । जेलमा रहेका इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले आगामी सेप्टेम्बर २७ मा इस्लामाबादतर्फ लामो मार्च गर्ने घोषणा गरेको छ । सोहीबीच अलीमा खानमलाई हिरासतमा लिइएको हो । अलीमा खानम यसअघि पनि पीटीआई समर्थकहरूसँग विभिन्न प्रदर्शनमा सहभागी हुँदै आएकी छन् ।
४ लाख ३० हजार डाउनपेमेन्टमै नयाँ टियागो ईभी पाइने
काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो ईभी आकर्षक अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ विशेष अभियान सञ्चालन गरिरहेको छ । सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत ग्राहकले ४ लाख ३० हजार रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने सिप्रदीले जनाएको छ । ‘एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट’ मुख्य सन्देशसहित सञ्चालन भइरहेको अभियानमा ग्राहकलाई आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्ने अवसर प्रदान गरिएको छ । अभियानअन्तर्गत नयाँ टियागो ईभी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन् । त्यस्तै, पुरानो गाडी एक्सचेन्ज गर्दा ‘बेस्ट एभर एक्सचेन्ज भ्यालुएसन’ को सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । गाडी खरिद गर्ने ग्राहकका लागि निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर र निःशुल्क होम चार्जिङ इन्स्टलेसन समेत उपलब्ध गराइनेछ । यसले गाडी खरिदसँगै ग्राहकलाई आवश्यक पर्ने थप सुविधामा समेत लाभ पुग्ने कम्पनीको भनाइ छ । आफ्नो पुरानो गाडीलाई विद्युतीय सवारीमा अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘जोयफुल विक’ले एक्सचेन्जदेखि नयाँ गाडी खरिदसम्मको प्रक्रियालाई थप सहज र आकर्षक बनाउने कम्पनीको दावी छ । ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा सम्पर्क गरी टियागो ईभीबारे जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा अभियानअन्तर्गतका अफरबारे बुझ्न सक्ने कम्पनीले जनाएको छ ।
सिप्रदीको सर्भिस सेन्टरमा अब राति ९ बजेसम्म सेवा
काठमाडौं । सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले सेवा समय विस्तार गरेको छ । २०८३ असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो । यसअघि उक्त सर्भिस सेन्टरले बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म मात्रै सेवा दिँदै आएको थियो । टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज, छिटो र भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले समय थप गरिएको हो । ग्राहकको समय र व्यावसायिक सवारी सञ्चालनको आवश्यकतालाई ध्यानमा राख्दै सेवा अवधि रातिसम्म विस्तार गरिएको सिप्रदीले जनाएको छ । श्री जाल्पादेवी अटोवक्र्समा टाटा कमर्सियल भेहिकलका लागि अत्याधुनिक डायग्नोस्टिक उपकरण, टाटा जेन्युइन स्पेयर पार्ट्स, दक्ष तथा प्रशिक्षित प्राविधिक र उच्चतम सुरक्षा मापदण्डअनुसारको सेवा उपलब्ध हुने जनाइएको छ ।
असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने आँकलन
काठमाडौं । आगामी असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न भूभागमा भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बंगालको खाडी क्षेत्रमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका धेरै स्थानमा भारी वर्षा हुनसक्ने देखिएको हो । विभागका अनुसार असोज ९ र १० गते वर्षाको प्रभाव तुलनात्मक रूपमा बढी रहने सम्भावना छ । उक्त अवधिमा विशेषगरी भारी वर्षा हुनसक्ने भएकाले मौसमको अवस्थाप्रति सतर्क रहन विभागले सुझाव दिएको छ । पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्म वर्षा हुने सम्भावना रहेपनि लुम्बिनी प्रदेशमा भने भारी वर्षाको जोखिम बढी देखिएको छ । विभिन्न मौसम पूर्वानुमान प्रणालीले समेत लुम्बिनी क्षेत्रमा उल्लेख्य वर्षा हुनसक्ने संकेत गरेका छन् । पूर्वानुमानअनुसार आगामी चारदेखि पाँच दिनको अवधिमा कतिपय क्षेत्रमा कुल ५०० मिलिमिटरसम्म वर्षा हुन सक्ने देखिएको छ । यद्यपि उक्त परिमाण एकै दिनमा नभई धेरै दिनमा हुने सम्भावित वर्षाको समग्र अनुमान हो । लामो समयसम्म ठूलो परिमाणमा वर्षा भएमा नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै बाढी, पहिरो र डुबानको जोखिमसमेत बढ्न सक्ने मौसमविद्ले बताएका छन् । त्यसैले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो । विभागले विकसित भइरहेको मौसमी प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ । वर्षाको वास्तविक परिमाण, तीव्रता र बढी प्रभावित हुनसक्ने क्षेत्रबारे भने मौसम नजिकिँदै जाँदा थप स्पष्ट विवरण सार्वजनिक हुने विभागको भनाइ छ ।
अर्थमन्त्रीको भ्रमण उपलब्धिपूर्ण, सरकारलाई सुझाव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको भारत भ्रमणलाई उपलब्धिमूलक र देशको आर्थिक हितका दृष्टिले सकारात्मक भएको निष्कर्ष निकालेको छ । रास्वपा सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले भ्रमणका क्रममा नेपाल–भारत आर्थिक सम्बन्ध, द्विपक्षीय साझेदारी र सहयोगका विषयमा महत्त्वपूर्ण छलफल भएको बताए । उनका अनुसार भ्रमणका क्रममा भारतीय पक्षबाट बाढी प्रभावित क्षेत्रका लागि प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरिएको थियो । साथै, द्विपक्षीय हित, आर्थिक सहायता तथा आगामी आर्थिक साझेदारीका विषयमा भारतीय पक्षसँग विस्तृत छलफल भएको थियो । सरकारी अधिकारीसँगको औपचारिक भेटवार्ताका अतिरिक्त अन्य सरोकारवाला पक्षसँग समेत अर्थमन्त्री वाग्लेले फलदायी छलफल गरेको खरेलले जानकारी दिए । उनका अनुसार भ्रमणले नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप अघि बढाउन आधार तयार गरेको पार्टीको निष्कर्ष छ । यसैबीच, अर्थमन्त्रीको भारत भ्रमणका क्रममा प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रीको कार्यकक्षलगायत औपचारिक द्विपक्षीय बैठकमा नेपालको राष्ट्रिय झण्डा राखिएको तस्बिर तथा तथ्यहरू रहेको रास्वपाले जनाएको छ । झण्डाको विषयलाई लिएर भइरहेको चर्चाप्रति रास्वपाले त्यसलाई सामान्य प्राविधिक विषयका रूपमा लिनुपर्ने धारणा राखेको छ । पार्टीले यस्तो विषयलाई अनावश्यक रूपमा उचाल्न आवश्यक नरहेको जनाएको छ । रास्वपाले अर्थमन्त्री वाग्लेको भारत भ्रमण समग्रमा नेपालको राष्ट्रिय हित र अर्थतन्त्रलाई थप चलायमान बनाउने दृष्टिले सकारात्मक रहेको निष्कर्ष निकालेको छ । यूएन महासभाका लागि सरकारलाई नीतिगत निर्देशन रास्वपा सचिवालय बैठकले प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनाललाई संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिताका लागि आवश्यक तयारी गर्न नीतिगत निर्देशनसमेत दिएको छ । बैठकले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसहित महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डललाई नेपालको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थासँगै अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने विषयमा केन्द्रित भएर तयारी गर्न सुझाव दिएको हो । रास्वपाको निर्णयमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लाग्नुभएका सम्माननीय प्रधानमन्त्री, परराष्ट्र मन्त्रीलगायतको कार्यदललाई नेपालको भोटेकोशी विपदसँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्नेगरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ ।’ बैठकले महासभालाई नेपालको विपद् व्यवस्थापन, बदलिँदो राजनीतिक परिस्थिति, आर्थिक समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाबारे नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएको छ ।