विकासन्युज

नेपाल राष्ट्र बैंकबाट बिदा भए ५ जना उपनिर्देशक

काठमाडौं । भदौ महिनामा नेपाल राष्ट्र बैंकका विभिन्न विभाग तथा कार्यालयमा कार्यरत पाँच जना उपनिर्देशकले बैंक सेवाबाट अवकाश पाएका छन् ।  राष्ट्र बैंकका अनुसार नेपालगञ्ज कार्यालयका प्रकाशकुमार धितालले भदौ १ गते, मुद्रा व्यवस्थापन विभागका उपनिर्देशक हरिगोविन्द महर्जनले भदौ १४ गते, बैंकिङ विभागका देवराज घिमिरेले भदौ १५ गते, टक्सार महाशाखाका धनबहादुर श्रेष्ठले भदौ १६ गते र सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका इन्द्रप्रसाद शर्माले भदौ ३० गतेदेखि बैंक सेवाबाट अवकाश पाएका हुन् । मानव संसाधन व्यवस्थापन विभागका अनुसार उनीहरूले ५८ वर्षे उमेरहदका आधारमा बैंक सेवाबाट अवकाश पाएका हुन् ।

सुपर हेवा पावरले ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सेयरधनीलाई ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सञ्चालक समितिको असोज २ गते बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २५ गते काठमाडौं सानोभर्याङस्थित बुद्ध प्यालेस पार्टी भेन्यूमा बिहान ११:३० बजे १६औँ वार्षिक साधारण सभा बोलाएको छ ।  सभामा गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा सोही आर्थिक वर्षको लेखापरीक्षणसहितको वार्षिक वित्तीय विवरण पारित गर्नेछ ।  त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । यसैगरी, सभाबाट सञ्चालक समिति गठन गर्ने प्रस्ताव रहेको छ । चार जना सञ्चालकको निर्वाचनसमेत साधारण सभामार्फत गरिने कम्पनीले जनाएको छ ।

हिमालयन बैंकबाट बाहिरिँदै ४ संस्थापक सेयरधनी

काठमाडौं । हिमालयन बैंकका चार जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेका छन् । बैंकका संस्थापक सेयरधनी अमिर रत्न डंगोल, मिना महर्जन, त्रिरत्न महर्जन र विश्वेश श्रेष्ठले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार अमिर रत्न डंगोलले १ लाख कित्ता, मिना महर्जनले ३ लाख ९३ हजार ६६९ कित्ता, त्रिरत्न महर्जनले ३ लाख १७ हजार ४७३ कित्ता र विश्वेश श्रेष्ठले ३८ हजार ९८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर खरिद गर्न ३५ दिनको समय दिएको थियो । तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नआएपछि अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बैंकका अनुसार संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार आवश्यक योग्यता पूरा गरेको हुनुपर्नेछ । इच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

यी हुन् सेयर बजारका ठूला १० कम्पनी, हाइड्रोमा सोलु

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा बजार पुँजीकरणका आधारमा विशाल बजार कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीमध्ये शीर्ष स्थानमा रहेको छ । नेप्सेका अनुसार भदौ मसान्तसम्ममा विशाल बजार कम्पनीको बजार पुँजीकरण १ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।  यस्तै, बजार पुँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) दोस्रो स्थानमा रहेको छ । कम्पनीको बजार पुँजीकरण १ खर्ब ६० अर्ब २० करोड रुपैयाँ रहेको छ । त्यस्तै, नबिल बैंक लिमिटेड १ खर्ब ५१ अर्ब ५१ करोड ९१ लाख रुपैयाँ बजार पुँजीकरणसहित तेस्रो स्थानमा रहेको छ । नागरिक लगानी कोष १ खर्ब १७ अर्ब ७४ करोड ३१ लाख रुपैयाँ बजार पुँजीकरणसहित चौथो स्थानमा रहेको छ भने नेपाल पुनर्बिमा कम्पनी लिमिटेड १ खर्ब १२ अर्ब ७४ करोड ६३ लाख रुपैयाँसहित पाँचौँ स्थानमा रहेको छ । एभरेस्ट बैंक लिमिटेडको बजार पुँजीकरण ९९ अर्ब ८२ करोड ३० लाख रुपैयाँ र ग्लोबल आइएमई बैंक लिमिटेड ९८ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ बजार पुँजीकरण रहेको छ । नेप्सेका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बजार पुँजीकरण ६८ अर्ब ७३ करोड १४ लाख रुपैयाँ रहेको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ६५ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सोलु हाइड्रोपावर लिमिटेड ६५ अर्ब ३० करोड रुपैयाँ बजार पुँजीकरणसहित शीर्ष १० कम्पनीको सूचीमा परेको छ ।

३ एजेण्डा पारित गर्न ओरियन्टल होटल्सले असोज २९ गते डाक्यो साधारण सभा

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारण सभा आगामी असोज २९ गते बिहीबार आयोजना गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजे बस्नेछ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२÷८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरण पारित गर्ने प्रस्ताव रहेको छ । यस्तै, लेखापरीक्षण समितिको सिफारिसमा चालु आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनीले हालका लेखापरीक्षक सुबोध एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गर्न सक्ने जनाएको छ । कम्पनीले साधारण सभाका लागि असोज १३ गतेदेखि असोज २९ गतेसम्म सेयर दाखिल खारेज बन्द गर्ने जनाएको छ । त्यसैले असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कम्पनीको सेयर दाखिल खारेजका लागि प्राप्त भएका सेयरधनीलाई साधारण सभाको प्रयोजनका लागि सेयरधनी कायम गरिनेछ ।

३ संसदीय समितिका बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दै छन् । संघीय संसद् सचिवालयका अनुसार सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका बैठक बस्न लागेका हुन् । सोमबार बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, बाढी प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्यायका विषयमा छलफल गर्ने कार्यसूची छ । उक्त छलफलका लागि समितिले गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवहरूका साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखलाई आमन्त्रण गरेको छ । यसैगरी, बिहान ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । छलफलका लागि समितिले कृषि मन्त्री, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक तथा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका निर्देशनालय, कार्यक्रम तथा केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूलाई आमन्त्रण गरेको छ । यसैगरी, सोमबार बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा जनजीवन तथा पूर्वाधारमा परेको क्षति, पुनस्र्थापना तथा पुनर्निर्माण र पुनर्निर्माणका लागि आवश्यक लगानी व्यवस्थापनका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला न्यायाधिश भगवती शर्मा ढुंगानाको इजलासले जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले जनाएको छ । सीआईबीका अनुसार शुक्रबार एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो ।

८० हजारभन्दा बढी दर्शकले अवलोकन गरेपछि सकियो नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी

काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गरिएको चार दिने ‘नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३’ आइतबार सम्पन्न भएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ, नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा आयोजना गरेको यस प्रदर्शनीलाई अनुमानभन्दा दोब्बर अर्थात् ८० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।  प्रदर्शनीमा सात लाख रुपैयाँदेखि करोडौँ रुपैयाँसम्मका किफायती घर, अपार्टमेन्ट र घडेरीहरू बिक्री तथा प्रदर्शनका लागि राखिनुका साथै बैंक तथा वित्तीय संस्थाले ५.४९ प्रतिशतदेखि ६ प्रतिशतसम्मको सस्तो ब्याजदरमा कर्जा अफर गरेका थिए । प्रदर्शनी अवधिभर वास्तुशास्त्र, सार्वजनिक-निजी साझेदारी, नीतिगत सुधार र भूकम्पीय सुरक्षालगायत विषयमा सेमिनार तथा अन्तरक्रियाहरू समेत आयोजना गरिएका थिए । समापन समारोहका प्रमुख अतिथि एवं पूर्वाधार विकास समितिका सभापति इन्जिनियर आशिष गजुरेल र अर्थ तथा सुशासन समितिका संयोजक रुकेश रञ्जितले दर्शकको व्यापक सहभागिताले अर्थतन्त्र सुधारोन्मुख रहेको संकेत गरेको भन्दै छरिएर रहेका असुरक्षित बस्तीलाई व्यवस्थित गर्न एकीकृत बस्ती विकास र घरजग्गा क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।  त्यसैगरी नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवर, चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रा र महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले २४० भन्दा बढी स्वदेशी उद्योगसँग जोडिएको यो क्षेत्रलाई चलायमान बनाउन जग्गाको हदबन्दी हटाउनुपर्ने, ५० प्रतिशतको लोन टु भ्यालु अनुपातलाई कम्तीमा ८० प्रतिशत पुर्‍याउनुपर्ने, कर्जा पुनर्संरचनाको सुविधा दिनुपर्ने र यस क्षेत्रलाई उद्योगसरह मान्यता दिनुपर्ने नीतिगत मागहरू अघि सारे ।  सिजी प्रोपर्टिज शीर्ष प्रायोजक र एसियन पेन्ट्स पावर्ड बाई प्रायोजक रहेको उक्त प्रदर्शनीको समापनमा उत्कृष्ट प्रदर्शकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।