५९ ऐन संशोधन गरिँदै

काठमाडौं । आगामी नेपाल पूर्वाधार सम्मेलनलाई कानुनी सुधारमार्फत लगानी आकर्षित गर्ने मुख्य एजेन्डासहित आयोजना गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले नेपालमा लगानीको वातावरण सहज र सुनिश्चित बनाउन सरकारले ५९ वटा ऐनमा आवश्यक कानुनी सुधार गरी दस्तावेज तयार पारिसकेको जानकारी दिएका छन् । 

निजी क्षेत्रले निरन्तर सञ्चालन गर्दै आएको यस सम्मेलनलाई थप अर्थपूर्ण, प्रभावकारी र नतिजामुखी बनाउन पूर्वाधार विकास मन्त्रालयले नै यसपटक मुख्य नेतृत्व लिएको मन्त्री लम्सालको भनाइ छ ।

मन्त्री लम्सालका अनुसार सम्मेलन हुनुअघि नै निजी क्षेत्रसँग व्यापक छलफल गरी अन्तिम रूप दिइएका ती ५९ वटा ऐन संशोधनको औपचारिक घोषणा गर्ने तयारी भइरहेको छ । 

यस कदमले नेपालमा आन्तरिक तथा विदेशी लगानी बढाउन र पूर्वाधार क्षेत्रमा देखिएका कानुनी जटिलता फुकाउन ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।

’नेपाल पूर्वाधार सम्मेलन २०८३’ आगामी मंसिर २३ र २४ गते राजधानी काठमाडौंमा आयोजना हुनेछ ।सम्मेलनमा पूर्वाधार विकास, सार्वजनिक-निजी साझेदारी, लगानीका नयाँ सम्भावना र नीतिगत सुधारका विषयमा देश-विदेशका विज्ञ, लगानीकर्ता तथा सरोकारवालाहरूबीच गहन छलफल हुनेछ ।

Share News