काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई लिएर भारतले तयारी तीव्र पारेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण सफल बनाउने गरी तयारी भइरहेको सन्देश भारतीय विदेश सचिव विक्रम मिस्रीमार्फत पठाएका हुन् ।
प्रधानमन्त्री शाहसँग बिहीबार (आज) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्दै भारतीय विदेश सचिव मिश्रीले यस्तो जानकारी दिएका हुन्।
उनले शाहको भारत भ्रमण सफल बनाउन भारतले आवश्यक तयारी गरिरहेको जानकारी गराए ।
भेटका क्रममा मिस्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको पनि जानकारी गराए । उक्त रेलमार्गमा बिहीबार नै परीक्षणसमेत गरिएको उनले बताए ।
मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार-पारवहन र उड्डयन क्षेत्रसँग सम्बन्धित नेपाल-भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी पनि प्रधानमन्त्रीलाई गराएका थिए ।
भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछि भारतले तत्काल उद्धार तथा राहतमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे ।
भारतले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली परिचालन गरेको थियो ।
त्यस्तै, विपद्का बेला भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत सहयोगको प्रतिबद्धता जनाएकामा पनि शाहले धन्यवाद ज्ञापन गरेका थिए ।
प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग गर्न सकिने सहकार्यका विषयमा समेत चासो राखेका थिए ।