अर्थमन्त्रीले डेपुटी गभर्नर सिफारिस गर्नुछ भनेपछि...
काठमाडौं । गभर्नर डा. विश्व पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई वाइपास गरेर सोझै प्रधानमन्त्री बालेन्द्र शाहसँग सम्वाद गर्ने गरेको विषयमा सार्वजनिक वहस भइरहेको समयमा अर्थमन्त्री वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (ईडी)हरूसँग छुट्टै संवाद गरेका छन् । औपचारिक रूपमा अर्थतन्त्र र मौद्रिक नीतिबारे राय/सुझाव लिन आयोजित भनिएको बैठकलाई सहभागी कार्यकारी निर्देशकहरूले भने केवल नियमित छलफलका रूपमा मात्रै लिएनन् । उनीहरूको बुझाइमा यो बैठक अर्थतन्त्रको वास्तविक अवस्था बुझ्ने प्रयाससँगै रिक्त रहेको डेपुटी गभर्नर पदका सम्भावित उम्मेदवारहरूको सोच, क्षमता र दृष्टिकोण बुझ्ने अवसर पनि थियो । बैठकको सुरुवात अर्थमन्त्रीको मन्तव्यबाट भयो । त्यसपछि उपस्थित कार्यकारी निर्देशकहरूलाई पालैपालो बोल्ने अवसर दिइयो । कसैले पनि लिखित मन्तव्य तयार पारेका थिएनन् । सबैले आफूले नेतृत्व गरिरहेको विभागको अनुभव, मौद्रिक नीतिको कार्यान्वयन, अर्थ मन्त्रालयसँगको समन्वय, वित्तीय क्षेत्रका चुनौती तथा आफ्नै व्यावसायिक अनुभवका आधारमा धारणा राखे । एक कार्यकारी निर्देशकका अनुसार छलफलमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको सम्बन्ध, केन्द्रीय बैंकको संस्थागत संरचना, सरकारको अपेक्षा तथा विभागगत जिम्मेवारीका विषयमा केन्द्रित भएर कुराकानी भयो । अर्थमन्त्रीले उठाएका प्रश्न र जिज्ञासालाई प्रत्येक कार्यकारी निर्देशकले आफ्नो जिम्मेवारीअनुसार उत्तर दिने प्रयास गरेका थिए । मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग झण्डै तीन घण्टा लामो छलफल गरेका अर्थमन्त्री वाग्लेसँग बैंकर्सहरूले राष्ट्र बैंकको नियमन शैली र सरकारको भूमिकामाथि खुलेर आलोचना गरेका थिए । तर कार्यकारी निर्देशकहरूको बैठकमा भने त्यस्तो दृश्य देखिएन । गभर्नर वा डेपुटी गभर्नरको कार्यशैलीमाथि कसैले टिप्पणी गरेनन् । बरु संस्थागत सुधार, मौद्रिक नीतिको प्रभावकारिता र अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रीय बैंकले खेल्न सक्ने भूमिकामै छलफल केन्द्रित रह्यो । सहभागी कार्यकारी निर्देशकहरूका अनुसार बैठकमा राष्ट्र बैंकको स्वायत्तताको विषय पनि उठेको थियो । केन्द्रीय बैंक स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्नेमा सबैको जोड रहे पनि स्वायत्तता भनेको जवाफदेहिताबाट मुक्त हुनु नभएको धारणा व्यक्त गरिएको थियो । गभर्नर जो भए पनि सरकार, तालुक मन्त्रालय, लेखापरीक्षण निकाय र कानुनी संयन्त्रप्रति उत्तरदायी हुनुपर्नेमा छलफल केन्द्रित भएको उनीहरूको भनाइ छ । बैठकको अर्को रोचक पक्ष भने समय व्यवस्थापन बन्यो । सुरुमा बोल्ने कार्यकारी निर्देशकहरूले १०-१२ मिनेटसम्म आफ्ना धारणा विस्तारमा राख्ने अवसर पाए । तर बैठक चलिरहेकै बेला अर्थमन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुपर्ने भएपछि समय छोट्याइयो । त्यसपछि बोल्ने कार्यकारी निर्देशकहरूलाई पाँच मिनेट र अन्त्यतिर दुई-तीन मिनेटमै आफ्नो धारणा टुंग्याउन भनियो । यसले सबैलाई समान अवसर नदिएको अनुभूति भएको एक कार्यकारी निर्देशकले गुनासो गरे । उनका अनुसार यदि अर्थमन्त्रीले सबैको सोच, नेतृत्व क्षमता र नीतिगत दृष्टिकोण बुझ्न खोज्नुभएको हो भने सबैलाई बराबर समय दिनुपर्थ्यो । समय अभावका कारण अन्तिमतिर बोल्नेहरूले धेरै विषय उठाउनै पाएनन् । त्यसपछि अर्थमन्त्रीले पहिलो चरणमा १२ जना कार्यकारी निर्देशकसँग मात्रै छलफल सकेर बाँकी ६ जनालाई साँझ साढे ५ बजे पुनः बोलाएका छन् । यही कारण बैठकलाई लिएर कार्यकारी निर्देशकहरूबीच अर्को चर्चा पनि चल्यो । अहिले नेपाल राष्ट्र बैंकमा एक डेपुटी गभर्नर पद रिक्त छ । छलफलका क्रममा अर्थमन्त्रीले ‘डेपुटी गभर्नर पनि सिफारिस गर्नुपर्ने छ’ भन्ने प्रसंग निकालेपछि धेरै कार्यकारी निर्देशकले त्यसलाई सामान्य टिप्पणीभन्दा बढी अर्थपूर्ण रूपमा बुझे । अर्थमन्त्रीले ‘तपाईंहरूलाई चिन्नुपर्ने पनि थियो, हामी एउटै यात्रामा छौं’ भन्ने अभिव्यक्तिसँगै डेपुटी गभर्नर नियुक्तिका लागि बुझ्न खोजेको अनुभूति भएको एक कार्यकारी निर्देशकले बताए । यही कारण बैठकमा सहभागी अधिकांश कार्यकारी निर्देशकले आफूहरूलाई औपचारिक अन्तर्वार्ताका लागि नबोलाइएको भए पनि अनौपचारिक रूपमा आफ्नो सोच र नेतृत्व क्षमता परीक्षण भइरहेको अनुभूति गरेको उनको भनाइ छ । ‘बैठक छलफलकै लागि थियो,’ ती कार्यकारी निर्देशकले भने, ‘तर कताकता डेपुटी गभर्नरका सम्भावित उम्मेदवारहरूको सोच, दृष्टिकोण र नेतृत्व क्षमता बुझ्ने अनौपचारिक अन्तर्वार्ता पनि जस्तो लाग्यो ।’ छलफलका क्रममा अर्थसचिव घनश्याम उपाध्यायले पनि राष्ट्र बैंकका स्थायी कर्मचारीको भूमिकामाथि जोड दिएका थिए । गभर्नर र डेपुटी गभर्नरसँग नियमित छलफल भइरहने भए पनि संस्थाको दीर्घकालीन अनुभव र संस्थागत स्मृति कार्यकारी निर्देशकहरूसँग रहेको उल्लेख गर्दै उनले अहिलेका आर्थिक चुनौतीबारे उनीहरूको भोगाइ, बुझाइ र अनुभव प्रत्यक्ष रूपमा सुन्न चाहेको बताएका थिए ।
भेटेरिनरी कार्यालयका प्रमुखविरुद्ध १ लाख ३२ हजार घुस लिएको आरोप
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा दायर गरिएको हो । अख्तियारका अनुसार उनीहरूले भ्याक्सिनेटरहरूलाई सेवा उपलब्ध गराएबापत पाउनुपर्ने पारिश्रमिक भुक्तानी गराइदिने भन्दै २० प्रतिशत कमिसनस्वरूप घुस मागेका थिए । उजुरीपछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा डा. दासले कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा पशु खोप कार्यक्रमका लागि नियुक्त गरिएका भ्याक्सिनेटरहरूको पारिश्रमिक भुक्तानी गराइदिने नाममा सवारी चालक भोगेन्द्र यादवसँग मिलेमतो गरी कम्तीमा २० प्रतिशत रकम घुस मागेको खुलेको आयोगले जनाएको छ । अख्तियारका अनुसार दुवैले भ्याक्सिनेटरहरूलाई दबाबमा पारेर १ लाख ३२ हजार ३५० रुपैयाँ घुस लिएको प्रमाण फेला परेको छ । उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर हुने भन्दै अख्तियारले १ लाख ३२ हजार ३५० रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।
डीएभी बिजनेस स्कुलको तेस्रो कर्पोरेट फुटसल सम्पन्न
काठमाडौं । डीएभी बिजनेस स्कुलले ह्युमन रिसोर्सेस सोसाइटी नेपालसँगको सहकार्यमा आयोजना गरेको ‘डीएभी कर्पोरेट फुटसल प्रतियोगिता–२०२६’ को तेस्रो संस्करण सम्पन्न भएको छ । साउन १५ देखि १७ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा ३२ वटा कर्पोरेट टोलीको सहभागिता रहेको थियो । खेलकुदमार्फत उद्योग र शैक्षिक क्षेत्रबीच सहकार्य, टोली भावना, व्यावसायिक सञ्जाल विस्तार तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा वाणिज्य बैंक, बीमा कम्पनी, व्यापारिक संस्था, सूचना प्रविधि कम्पनी, अटोमोबाइल डिलर तथा उत्पादनमूलक उद्योगका टोलीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता सुरु हुनुअघि आयोजित प्रि–टुर्नामेन्ट बैठकमा सहभागी टोलीका कप्तान, व्यवस्थापक तथा प्रतिनिधिहरूलाई प्रतियोगिताबारे जानकारी गराइएको थियो । डीएभी बिजनेस स्कुलका एमबीए कार्यक्रम संयोजक राजेश कुमार चौधरीले कार्यक्रमको समापन गर्दै सहभागी सबैलाई धन्यवाद दिएका थिए । प्रतियोगिताको औपचारिक उद्घाटन डीएभी बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले गरेका थिए । उद्घाटन समारोहमा ह्युमन रिसोर्सेस सोसाइटी नेपालका महासचिव दिपेश नाथको पनि उपस्थिति रहेको थियो । प्रतियोगितामा ३२ लिग खेलपछि १५ नकआउट खेल आयोजना गरिएको थियो । फाइनलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक फाइनलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उत्कृष्ट टोली प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो । नेपाल नागरिक उड्डयन प्राधिकरण उपविजेतामा सीमित भयो । विजेता काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नगद १ लाख रुपैयाँ, ट्रफी तथा स्वर्ण पदक प्राप्त गरेको छ । उपविजेता नेपाल नागरिक उड्डयन प्राधिकरणले ५५ हजार रुपैयाँ, ट्रफी तथा रजत पदक हात पारेको छ । समापन समारोहमा प्रतियोगितामा सहभागी सबै ३२ टोली, प्रायोजक संस्था तथा रेफ्रीहरूलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो । डीएभी बिजनेस स्कुलका अनुसार प्रतियोगिताले कर्पोरेट क्षेत्रका पेशाकर्मीबीच टोली भावना विकास, व्यावसायिक सम्बन्ध विस्तार तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य सफलतापूर्वक पूरा गरेको छ । सहभागीहरूले प्रतियोगिताको व्यवस्थापन र प्रतिस्पर्धात्मक वातावरणको प्रशंसा गर्दै आगामी संस्करणमा पनि सहभागिता जनाउने उत्साह व्यक्त गरेका छन् । डीएभी बिजनेस स्कुलले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने ह्युमन रिसोर्सेस सोसाइटी नेपाल, मुसाक, क्वान्टम बिट्स (साने), इको इन्फिनिटी प्रालि (एनआईयू), उपर्या ग्रुप (लिब्रा) र अल्का हस्पिटल प्रालिलगायत साझेदार संस्था, सहभागी, अधिकारी तथा स्वयंसेवकप्रति आभार व्यक्त गरेको छ । विद्यालयले आगामी दिनमा पनि कर्पोरेट र शैक्षिक क्षेत्रबीच सहकार्य प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
काठमाडौं । ब्रड पिक हिमालमा हिमपहिरोमा परेर ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित चार जनाको शव बेसक्याम्प ल्याइएको छ। एलिट एक्स्पेडले बुधबार सार्वजनिक गरेको आधिकारिक वक्तव्यअनुसार निर्मल पुर्जासँगै चिनियाँ आरोही झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्त कठिन खोजपछि बेसक्याम्पमा ल्याइएको हो । अभियानमा पाकिस्तानी पर्वतारोही सिर्बज खान लगायतको टोली सहभागी थियो। जसको नेतृत्त्व मिङ्गमा डेबिटले गरेका थिए । वक्तव्यमा अत्यन्त जोखिमपूर्ण परिस्थितिमा उद्धार सम्पन्न गरेको भन्दै टोलीको साहस, व्यावसायिकता र समर्पणप्रति कृतज्ञता व्यक्त गरिएको उल्लेख छ । उद्धार कार्यमा सहयोग पुर्याएको भन्दै पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अन्य सबै निकायप्रति पनि धन्यवाद व्यक्त गरिएको छ। केही दिनअघि पाकिस्तानको ब्रड पिक आरोहणकको क्रममा परेर निम्सदाइसहित दश जनाको मृत्यु भएको थियो । पाकिस्तानको अल्पाइन क्लबले सार्वजनिक गरेको सूचीअनुसार बेपत्ता हुनेमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ, अमेरिकाकी मालोरी गाइस तथा नेपालका निर्मल पुर्जा ‘निम्स दाइ’, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका थिए ।
‘प्रीटि सलुन’ले काठमाडौंबाट अन्तर्राष्ट्रियस्तरको सेवा दिने
काठमाडौं । ‘प्रीटि सलुन’ले काठमाडौंमा पनि अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा सुरु गरेको छ । काठमाडौं महानगरपालिका–३१, शंखमूलस्थित बागमती नदीको पुलनजिक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको भवनको तेस्रो तलाबाट सलुन सञ्चालनमा आएको हो । सलुनको औपचारिक उद्घाटन गायिका आगन्तुक खरेलकी सुपुत्री आँचल पुनले रिबन काटेर गरेकी थिइन् । उद्घाटन कार्यक्रममा सांगीतिक क्षेत्रका कलाकार तथा अन्य अतिथिको उपस्थिति रहेको थियो । रिबन काटेलगत्तै गायिका खरेलसहित सहभागीहरूले केक काटेर उद्घाटन समारोहलाई विशेष बनाएका थिए । सलुनकी सञ्चालिका तथा गायिका आगन्तुक खरेलले महिलाहरूका लागि आवश्यक सम्पूर्ण सौन्दर्य तथा स्किन केयर सेवा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ काठमाडौंमा प्रीटि सलुन सञ्चालनमा ल्याइएको बताइन् । उनका अनुसार प्रीटि सलुनको मुख्य विशेषता गुणस्तरीय सेवा, आधुनिक प्रविधि र अनुभवी विशेषज्ञमार्फत प्रत्येक ग्राहकको आवश्यकता अनुरूप व्यक्तिगत सेवा प्रदान गर्नु हो । सलुनमा हेयर स्टाइलिङ, मेकअप, नेल आर्ट, ब्राइडल मेकओभरलगायतका ब्युटी सेवासँगै अत्याधुनिक स्किन केयर सेवा पनि उपलब्ध रहेको उनले जानकारी दिइन् । छालासम्बन्धी समस्याको पहिचानका लागि अनुभवी चिकित्सकको परामर्श उपलब्ध गराइने र त्यसका आधारमा आवश्यक उपचार तथा सेवा प्रदान गरिने व्यवस्था गरिएको पनि उनले बताइन् । प्रीटि सलुनमा हाइड्रा फेशियल, लेजर ट्रीटमेन्टलगायत आधुनिक स्किन केयर प्रविधिमा आधारित सेवा सञ्चालनमा छन् । साथै, अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय स्किन केयर ब्रान्डका उत्पादन प्रयोग गरिएकाले सुरक्षित, प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्ने लक्ष्य रहेको सञ्चालिका खरेलको दाबी छ । दुबईमा आर्जन गरेको ११ वर्षको अनुभवलाई नेपालमा विस्तार गर्दै नेपाली ग्राहकलाई विश्वस्तरीय ब्युटी तथा स्किन केयर सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंमा प्रीटि सलुन सञ्चालनमा ल्याइएको खरेलले बताइन् ।
एक्सेल डेभलपमेन्ट बैंकको नाफा ५४ करोड, लाभांश क्षमतामा सुधार
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष उल्लेखनीय वित्तीय सुधार हासिल गरेको छ । कर्जा असुलीमा सुधार, खुद ब्याज आम्दानीमा वृद्धि र सञ्चालन नाफामा उल्लेख्य विस्तारसँगै बैंकको लाभांश वितरण क्षमता पनि मजबुत बनेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ५६ करोड ५५ लाख रुपैयाँबाट १४.७२ प्रतिशतले बढेर ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष १७ करोड २६ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) गरेको बैंकले गत आर्थिक वर्ष कर्जा असुलीमा सुधार गर्दै १९ करोड ४२ लाख रुपैयाँ राइटब्याक गरेको छ । यही सुधारले बैंकको नाफा वृद्धि गर्न मुख्य योगदान दिएको बैंकले जनाएको छ । सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ११ करोड २१ लाख रुपैयाँबाट बढेर ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफामा आएको उल्लेख्य वृद्धिसँगै बैंकको लाभांश वितरण गर्ने क्षमता पनि बलियो बनेको छ । बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २४.७६ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर वितरणयोग्य नाफा (डीपीएस) १४.३८ रुपैयाँ पुगेको छ । यी सूचकले लगानीकर्ता तथा शेयरधनीका लागि सकारात्मक प्रतिफलको संकेत गरेका छन् । त्यसैगरी, बैंकको पूँजी पर्याप्तता अनुपात १४.६३ प्रतिशत कायम रहेको छ । यो अनुपातले बैंकको वित्तीय जोखिम वहन गर्ने क्षमता सुदृढ रहेको तथा नियामकीय मापदण्डभित्र रहेर सुरक्षित रूपमा कर्जा विस्तार गरिरहेको देखाउँछ । समीक्षा अवधिमा बैंकको निक्षेप १६ अर्ब ७५ करोड रुपैयाँबाट १२ प्रतिशतले बढेर १८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । ग्राहकलाई प्रवाह गरिएको कर्जा १२ अर्ब ८४ करोड रुपैयाँबाट ७.३२ प्रतिशतले वृद्धि हुँदै १३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यसैगरी बैंकको कुल सम्पत्ति १८ अर्ब ९८ करोड रुपैयाँबाट बढेर २१ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । बैंकका अनुसार समग्र वित्तीय सूचकमा आएको सुधारले संस्थागत स्थायित्व, व्यवस्थापनको प्रभावकारिता र भविष्यको व्यवसायिक सम्भावनाप्रति सकारात्मक संकेत गरेको छ । कोशी प्रदेशलाई कार्यक्षेत्र बनाएको एक्सेल डेभलपमेन्ट बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, सङ्खुवासभा र धनकुटा जिल्लाका ४७ शाखा तथा तीनवटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लामा समेत शाखा विस्तार गर्ने लक्ष्य बैंकले लिएको जनाएको छ ।
परोपकार नर्सिङकी सहायक क्याम्पस प्रमुख मरासिनीको करार नथपिने
काठमाडौं । परोपकार नर्सिङ क्याम्पसको सञ्चालक समितिले सहायक क्याम्पस प्रमुख प्रतिक्षा गौतम मरासिनीको बाँकी करार अवधि नथप्ने निर्णय गरेको छ । मंगलबार (साउन १९ गते) बसेको सञ्चालक समितिको बैठकले मरासिनीको करार नवीकरण नगर्ने तथा अब सहायक क्याम्पस प्रमुख पदमा क्याम्पसकै स्थायी कर्मचारीबाट नियुक्ति गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । यो निर्णयसँगै केही महिनादेखि विवादमा रहेको सहायक क्याम्पस प्रमुख नियुक्ति प्रकरण औपचारिक रूपमा नयाँ मोडमा पुगेको छ । मरासिनीको नियुक्ति सुरुदेखि नै विवादित बनेको थियो । नियुक्ति प्रक्रिया पारदर्शी नभएको, स्थापित मापदण्ड पालना नगरिएको तथा स्थायी कर्मचारीलाई बेवास्ता गरिएको भन्दै क्याम्पसभित्रै प्रश्न उठेका थिए । कर्मचारी र सरोकारवालाले नियुक्ति प्रक्रियाको वैधानिकता र औचित्यमाथि समेत प्रश्न गरेका थिए । विकासन्युजले नियुक्ति प्रक्रियासम्बन्धी अनियमितता, कर्मचारीको असन्तुष्टि तथा प्रशासनिक निर्णयबारे निरन्तर समाचार प्रकाशन गर्दै आएको थियो । समाचारमार्फत उठाइएका विषयले क्याम्पसभित्र मात्र होइन, सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराएको क्याम्पसका एक कर्मचारीले जानकारी दिए । स्रोतका अनुसार नियुक्ति विवाद स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयसम्म पुगेपछि मन्त्रालयले समेत घटनाक्रमबारे चासो देखाएको थियो । मन्त्रालयका सचिव डा. विकास देवकोटा र ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीको दवावमा भएको नियुक्तिसम्बन्धी निर्णय सञ्चालक समितिले सच्याएको क्याम्पसका एक कर्मचारीले जानकारी दिए । प्रतिक्षा डा. मरासिनीकी श्रीमती हुन् । सचिव डा. देवकोटाकी श्रीमती विष्णु भुजेल पनि क्याम्पसमा करार सेवामार्फत कार्यरत रहेकी छन्। मंगलबारको बैठकले अन्ततः मरासिनीको बाँकी करार अवधि नथप्ने निर्णय गर्दै आगामी दिनमा सहायक क्याम्पस प्रमुख पदमा क्याम्पसका स्थायी कर्मचारीबाट नियुक्ति गर्ने नीति अघि सारेको हो । यसलाई क्याम्पसभित्र लामो समयदेखि उठ्दै आएको मागको सम्बोधनका रूपमा हेरिएको कर्मचारीहरूको दाबी छ । क्याम्पस स्रोतका अनुसार स्थायी कर्मचारीबाट जिम्मेवारी दिने निर्णयले संस्थागत प्रणालीलाई बलियो बनाउने, आन्तरिक वृत्ति विकासको अवसर सिर्जना गर्ने तथा भविष्यमा यस्ता विवाद दोहोरिन नदिने अपेक्षा गरिएको छ । यस विषयमा निर्णयबारे औपचारिक धारणा लिन खोज्दा क्याम्पस प्रमुख रीना श्रेष्ठले प्रतिक्रिया दिन चाहिनन् । श्रेष्ठले उल्टै क्याम्पसको उन्नति नचाहनेहरूले समाचार बनाएर क्याम्पसको उन्नतिमा अवरोध सिर्जना गरेको बताइन् । सरकारी नीति छल्न २२५२२ खर्च संकेतको सहारा परोपकार नर्सिङ क्याम्पसमा करार भर्तीको ‘पावर नेटवर्क’
त्यो पीडा अरू बैंकरले भोग्न नपरोस्
काठमाडौं । अर्थपूर्ण भनाई त्यो हो जो अरुले सुन्छन् र मनन् गर्छन । मंगलबार अर्थमन्त्रालयमा बैंकर ज्योति प्रकाश पाण्डेको भनाई सबैले सुने । र, सबैले भने-'उहाँले जस्तो हामीले भोग्नु नपरोस् ।' अर्थ मन्त्रालयमा मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भएको छलफलमा धेरै बैंकरले बैंकिङ क्षेत्रका नीतिगत समस्या उठाए । कसैले निर्देशित कर्जाको बाध्यता सुनाए, कसैले राष्ट्र बैंकको नियमन शैलीमाथि प्रश्न गरे । तर, झण्डै तीन घण्टा चलेको छलफलमा धेरै ध्यान खिच्ने प्रस्तुति भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको रह्यो । बैठकमा सहभागी बैंकरहरूका अनुसार पाण्डेले आफू पक्राउ परेको अनुभवलाई केवल व्यक्तिगत घटनाका रूपमा प्रस्तुत गरेनन् । उनले स्वस्थ बैंकिङ अभ्यास गर्दै गर्दा पनि बैंकका प्रमुख कार्यकारी र सञ्चालकहरूले कानुनी जोखिम भोग्नुपरेको विषयलाई बैंकिङ प्रणालीकै साझा समस्याका रूपमा अर्थमन्त्री वाग्ले समक्ष राखे । बैठकमा राष्ट्र बैंकका प्रतिनिधि उपस्थित थिएनन् । सहभागीहरूका अनुसार राष्ट्र बैंकको अनुपस्थितिले छलफललाई खुला बनायो । ‘सबैले दिल खोलेर बोले,’ सहभागी एक बैंकरले भने, ‘यसपटक कसैले आफ्नो कुरा लुकाउनुपरेन ।’ छलफलका क्रममा ज्योति पाण्डेले स्मार्ट टेलिकमसँग सम्बन्धित प्रकरणमा आफू पक्राउ परेको प्रसंग उठाएका थिए । बैंकले कानुनअनुसार धितो व्यवस्थापन र बिक्री प्रक्रिया अघि बढाउँदा पनि अनुसन्धानको नाममा आफूलाई पक्राउ गरिएको भन्दै उनले त्यसले बैंकिङ क्षेत्रमै त्रासको वातावरण सिर्जना गरेको बताए । उनले अनुसन्धान गर्ने निकायले बैंकिङ कारोबारको प्रकृति, धितो व्यवस्थापनको कानुनी प्रक्रिया र बैंकका निर्णय संरचनाबारे पर्याप्त बुझाइबिनै कारबाही गर्ने प्रवृत्ति रहेको सुनाए । ‘एउटा शाखामा भएको घटनाबारे सीईओ वा सञ्चालकलाई प्रत्यक्ष जानकारी हुँदैन । तर, अन्तिम जिम्मेवारी उनीहरूमाथि नै थोपरिने अभ्यासले बैंकिङ नेतृत्वको आत्मबल कमजोर बनाएको छ,’ पाण्डेको भनाइ उद्धृत गर्दै एक बैंकरले भने । ती बैंकरका अनुसार सीईओ पाण्डेको प्रस्तुति व्यक्तिगत पीडाभन्दा पनि प्रणाली सुधारको मागमा केन्द्रित थियो । ‘उहाँले आफूले भोगेको दुःख सुनाउनु भयो । तर, त्यो पीडा अब अरू बैंकरले भोग्न नपरोस् भन्ने सन्देश दिनुभयो,’ ती बैंकरले भने । छलफलमा बैंक तथा वित्तीय संस्था ऐन (बाफिया)को कार्यान्वयनसम्बन्धी विषय पनि उठेको थियो । उद्योग वा व्यवसायलाई दिइने कर्जामा मुख्य धितो चल सम्पत्ति, वर्किङ क्यापिटल र स्टक हुने तथा घरजग्गा दोस्रो धितोका रूपमा रहने कानुनी व्यवस्था भए पनि अनुसन्धान र कानुन कार्यान्वयन गर्ने निकायले त्यसको मर्म नबुझेको गुनासो बैंकरहरूले गरे । प्रोजेक्ट फाइनान्सिङका क्रममा धितो बिक्री गर्दा आउने कानुनी जटिलतादेखि स्थिर ब्याजदर (फिक्स्ड रेट) मा दिइएको कर्जाको व्यवस्थापनसम्मका विषय पनि पाण्डेले उठाए । ‘राष्ट्र बैंकको विद्यमान व्यवस्थाले बैंकले एकपटक तोकेको स्थिर ब्याजदर घटाउन नपाउने अवस्था छ । तर, केही वर्षपछि अर्को बैंकले कम ब्याजदरमा कर्जा प्रस्ताव गर्दा ऋणी सहजै त्यहाँ सर्न सक्छ,’ छलफलमा भएको विषय सुनाउँदै ती बैंकरले भने, ‘ग्राहक जुनसुकै बेला बैंक छाड्न स्वतन्त्र छ, तर बैंकले प्रतिस्पर्धा गर्न पाउँदैन ।’ बैंकरहरूले बैंकिङ क्षेत्रले सरकारका हरेक अभियानमा साथ दिएको पनि अर्थमन्त्रीलाई स्मरण गराए । संघीय संरचनाअनुसार देशभर शाखा विस्तार गर्न सरकारले आग्रह गर्दा बैंकहरूले सबै स्थानीय तहमा शाखा खोलेका छन् । अधिकांश शाखा घाटामा सञ्चालन भइरहेको उनीहरूको भनाइ छ । त्यसैगरी ४५ प्रतिशतसम्म निर्देशित क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने बाध्यता र उच्च कर्पोरेट करको दोहोरो दबाबमा बैंकहरू रहेको विषय पनि उठाइएको थियो । सहभागी बैंकरहरूका अनुसार ज्योति पाण्डेले उठाएका विषयमा अन्य सीईओहरूले पनि समर्थन जनाएका थिए । उनीहरूले यो कुनै एक व्यक्तिको समस्या नभई सम्पूर्ण बैंकिङ क्षेत्रले भोग्न सक्ने जोखिम भएको धारणा राखेका थिए । ‘उहाँले भोगेको पीडा उहाँको व्यक्तिगत होइन, बैंकिङ प्रणालीको पीडा हो,’ एक सहभागी बैंकरले भने, ‘आज उहाँले बोलेका कुरा सुनेपछि अरू धेरैले पनि आफ्ना अनुभव खुलाएर राख्नुभयो ।’