वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौं उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को पछिल्लो तथ्याङ्कअनुसार बुधबार बिहान ११ः०० बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७ मा झरेको छ, जुन ‘राम्रो’ अर्थात् स्वस्थ श्रेणीमा पर्दछ । केही साताअघि विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको काठमाडौं हाल सुधार हुँदै ६६औँ स्थानमा झरेको छ । एक्युआई मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । गत वैशाख १० गते उपत्यकाको वायु गुणस्तर सूचकाङ्क २४७ सम्म पुगेको थियो, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम देखिएको थियो । विज्ञहरूले त्यसबेला प्रदूषणको उच्चस्तरले श्वासप्रश्वाससम्बन्धी समस्या बढाउने चेतावनी दिएका थिए । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयसम्म वर्षा नहुँदा धुलो, धुवाँ र डढेलोबाट उत्पन्न प्रदूषण वायुमण्डलमा थुप्रिने गर्दछ । 'सुक्खा मौसममा वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा थुनिने भएकाले प्रदूषण उच्च हुन्छ', उनले भने, 'छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले पनि काठमाडौंको वायु गुणस्तरमा असर पार्ने गरेको छ ।' उनले वर्षासँगै धुलो र धुवाँ पखालिने तथा हावाको बहाव बढ्ने भएकाले वायु गुणस्तर सुधार हुने बताए । साथै, दीर्घकालीन रूपमा प्रदूषण नियन्त्रण गर्न दिगो र वातावरणमैत्री विकासका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उनको जोड छ । हालको सुधारले उपत्यकावासीलाई केही राहत दिएको भए पनि विज्ञहरूले प्रदूषण नियन्त्रणका स्थायी उपायमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । रासस
नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट सदस्यमा भण्डारी निर्वाचित
काठमाडौं । ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यमा विजयी भएका छन् । १ हजार ४३ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । तीन दशकदेखि स्वास्थ्य व्यवसायीको क्षेत्रमा सक्रिय भण्डारी स्वास्थ्य क्षेत्रका व्यवसायी व्यवस्थापक हुन् । आजभन्दा करिब तीन दशक अघि सिन्धुपाल्चोकबाट काठमाडौं आएका भण्डारी स्वास्थ्य क्षेत्रका उपकरण व्यवसायीका रूपमा यो क्षेत्रमा छिरेका थिए । करिब १९ वर्षसम्म मेडिकल उपकरणको व्यवसाय गरेका उनी हाल काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालको नेतृत्व गरिरहेका छन् भने उनैको नेतृत्वमा भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक अस्पताल पनि सञ्चालन भइरहेको छ । ह्याम्सलाई अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाएका भण्डारीले नागरिक अस्पताललाई पनि ह्याम्स जस्तै अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने क्रममा छन् । भण्डारीले स्वास्थ्य क्षेत्रलाई व्यवसायका रूपमा मात्र नभइ सेवा र जिम्मेवारीका रूपमा लिइरहेका छन् । अस्पतालमा दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र प्रभावकारी व्यवस्थापन प्रणालीमार्फत बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने काममा अग्रसर छन् ।
युरोपेली बजार लक्षित गर्दै डोंगफेङले जर्मनीमा खोल्यो नयाँ डिजाइन हब
काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी डोंगफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गर्दै जर्मनीको म्युनिखमा नयाँ डिजाइन केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रले एम हिरो र भोएज जस्ता ब्रान्डका लागि काम गर्दै कम्पनीको विश्वव्यापी विस्तारलाई थप बल पुर्याउने लक्ष्य राखेको छ । डोंगफेङको यस डिजाइन केन्द्रले कम्पनीको विश्वव्यापी अनुसन्धान तथा विकास सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । जनवरी २९ मा सम्पन्न उद्घाटन समारोहले चिनियाँ अटोमोबाइल कम्पनीको युरोपतर्फको रणनीतिक विस्तारलाई स्पष्ट संकेत दिएको छ । यो नयाँ केन्द्र डोंगफेङको एकीकृत विश्वव्यापी प्लेटफर्मको हिस्सा हुनेछ । यससँगै कम्पनीले चीनका वुहान र सांघाईमा रहेका स्टुडियोहरूसँगै अब जर्मनीमा पनि आफ्नो उपस्थिति विस्तार गरेको छ । कम्पनीका अनुसार, म्युनिखस्थित स्टुडियोले एम हिरो र भोएज ब्रान्डका परियोजनामा केन्द्रित भई युरोपेली ग्राहकहरूको आवश्यकता अनुरूप डिजाइन विकास गर्नेछ । डोंगफेङका अनुसार म्युनिख छनोट गर्नुको विशेष कारण छ । बाभेरियाको राजधानी म्युनिख अटोमोबाइल डिजाइन र इन्जिनियरिङका लागि विश्वकै अग्रणी केन्द्रहरूमध्ये एक मानिन्छ । यस केन्द्रले क्लाउड सोलुसन, भर्चुअल प्रविधि तथा एआई टुलहरूको प्रयोगमार्फत सहकार्यलाई सहज बनाउँदै विकास प्रक्रियालाई तीव्र बनाउनेछ । डिजाइनबाहेक, म्युनिख स्टुडियोले विश्वव्यापी मार्केटिङ र ब्रान्ड रणनीतिमा पनि योगदान पुर्याउनेछ । यसले नयाँ बजारको मागअनुसार उत्पादनहरूलाई छिटो अनुकूल बनाउन सहयोग गर्ने विश्वास गरिएको छ । यस पहलले प्रिमियम सेग्मेन्टमा डोंगफेङको उपस्थितिलाई थप मजबुत बनाउनेछ । युरोपमा गुणस्तर र सौन्दर्यका उच्च मापदण्डलाई ध्यानमा राख्दै कम्पनीले आफ्नो स्थान सुदृढ गर्ने लक्ष्य लिएको छ । घरेलु बजार बाहिर विस्तार गर्ने रणनीति अनुरूप डोंगफेङले युरोपमा डिजाइन केन्द्र स्थापना गरेको हो । युरोपेली ट्रेण्डलाई ध्यानमा राखेर एम हिरो र भोएज मोडेल विकास गर्नु युरोपियन युनियनमा सफल विस्तारका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
६५ घण्टापछि स्याङ्जामा बिजुली
काठमाडौं । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले सेवा पुनःस्थापनाका लागि समन्वयकारी भूमिका निर्वाह गरेको हो । आइतबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा करिब १३ हजार सेवाग्राही (घर, स्वास्थ्य, सञ्चार र अन्य अत्यावश्यक सेवाहरू) प्रभावित भएका थिए । उक्त सूचना मन्त्रालयमा प्राप्त भएसँगै सचिवालय सक्रिय भएको थियो । उक्त क्षेत्रमा बुटवल पावर कम्पनीको वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ । कम्पनीको ट्रान्सफर्मर मर्मत गर्न तीन साताभन्दा बढी समय लाग्ने देखिएपछि वैकल्पिक उपाय अपनाइएको हो । समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको हेटौंडास्थित कार्यालयबाट ३ एमभीए क्षमताको ट्रान्सफर्मर झिकाएर स्याङ्जामा जडान गरिएको छ । कम्पनीको ट्रान्सफर्मर पूर्ण रूपमा मर्मत नहुन्जेलसम्मका लागि प्राधिकरणले उक्त ट्रान्सफर्मर भाडामा उपलब्ध गराएको हो । स्थानीयबासी, नेपाल विद्युत प्राधिकरणका सम्बन्धित शाखाका कर्मचारी तथा बुटवल पावर कम्पनीका प्राविधिक टोलीको सक्रियतासँगै आपतकालीन अवस्थामा छोटो अवधिमै अन्तरनिकायबीच समन्वय गरी सेवा सुचारु भएको हो ।
बुवाको पथ पछ्याउँदै प्रवलजंग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । उनले ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै एसोसिएट उपाध्यक्षमा विजयी हासिल गरेका हुन् । निजी क्षेत्रको नेतृत्वमा उनको आगमनले नयाँ पुस्ताको उपस्थिति अझ स्पष्ट बनाएको छ । हाल महासंघको कार्यकारिणी सदस्यका रूपमा रहेका उनी अब उपाध्यक्ष बनेका हुन् । महासंघभित्र उनको बढ्दो प्रभाव र लामो समयदेखि गरिएको संस्थागत अभ्यासलाई उपहारस्वरूप उनलाई उद्योगी व्यवसायीले मत दिएर जिताएका छन् । व्यावसायिक परिवारमा जन्मिएका पाण्डे महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन् । उनी बुवाको पथ पछ्याउँदै महासंघको पदाधिकारीमा पुगेका हुन् । उनले आफ्नो पहिचान केवल पारिवारिक विरासतमा सीमित नराखी दुई दशकभन्दा बढीको व्यावहारिक अनुभव र विविध क्षेत्रमा सक्रिय संलग्नतामार्फत आफूलाई एक सक्षम व्यवसायिक नेताका रूपमा स्थापित गरेका छन् । इन्जिनियरिङ पृष्ठभूमि भएका ५१ वर्षीय पाण्डेले आफ्नो करियरको सुरुआत नेपाल टेलिकमबाट गरेका थिए । त्यहाँ काम गर्दा उनले प्रविधि, संरचना र व्यवस्थापनका आधारभूत पक्षहरू नजिकबाट बुझ्ने अवसर पाए, जसले पछि व्यावसायिक यात्रामा विश्लेषणात्मक र प्रणालीगत सोच विकास गर्न सहयोग पुर्यायो । त्यसपछि उनी निजी क्षेत्रमा प्रवेश गर्दै सिमेन्ट, औषधि, बैंकिङ र बीमाजस्ता विविध क्षेत्रमा आफ्नो लगानी र संलग्नता विस्तार गर्दै गए । हाल उनी कसमस सिमेन्ट र इस्टर्न कसमसका निर्देशकका रूपमा कार्यरत छन् भने लोमस फर्मास्युटिकल्सका सञ्चालक पनि हुन् । यसका साथै, फर्चुना ग्रुपमार्फत औषधि प्याकेजिङ सामग्री उत्पादनमा उनको भूमिका छ । स्वास्थ्य उद्योगको आपूर्ति श्रृंखलामा समेत उनको योगदान छ । पाण्डेको संलग्नता केवल उत्पादन उद्योगमा मात्र सीमित छैन । उनी निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा समेत आबद्ध छन्, जहाँ बैंक तथा वित्तीय क्षेत्रदेखि लिएर समग्र निजी क्षेत्रका तथ्यांकहरू संकलन र व्यवस्थापन गरिन्छ। यससँगै उनी सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्षका रूपमा पनि कार्यरत छन्, जसले वित्तीय क्षेत्रसँगको उनको गहिरो सम्बन्धलाई थप मजबुत बनाएको छ । महासंघमा उनले तीन कार्यकाल कार्यकारीणी सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्, जसले संगठनभित्रको प्रक्रियागत ज्ञान, नेटवर्क र नेतृत्व क्षमतालाई परिपक्व बनाएको छ । अघिल्लो निर्वाचनमा पनि उनले उपाध्यक्ष पदमा दाबी गरेका थिए । तर, टिम व्यवस्थापनको रणनीतिका कारण प्रतिस्पर्धाबाट पछि हटेका थिए । यसपटक भने उनले स्पष्ट तयारी र एजेन्डासहित मैदानमा उत्रिए र अन्ततः एसोसिएट उपाध्यक्ष बन्न सफल भए । अहिले निजी क्षेत्रको मनोबल निकै खस्किएको समय छ, लामो समयदेखि लगानीका लागि अनुकूल वातावरण बनेको छैन । उनी सरकार र निजी क्षेत्रको मध्येस्थता गरेर सुधार ल्याउने दाबी गर्दै आएका छन् । ‘यस बेलामा निजी क्षेत्रले आफ्नो धारणा स्पष्ट रूपमा लैजानु पर्ने हुन्छ । लामो समय यो क्षेत्रमा काम गरेको र महासंघमा विभिन्न भूमिका निभाएको कारण मैले यो पदको न्याय गर्छु,’ उनले भनेका छन्, ‘दोस्रो पटक म उपाध्यक्ष बन्दिनँ पनि ।’ उनका अनुसार मुलुकको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन दोस्रो चरणको आर्थिक सुधार अपरिहार्य छ । उनी नीतिगत स्थिरतालाई लगानीको आधार मान्दै कर प्रणालीलाई वैज्ञानिक बनाउनु पर्ने, बहुदरको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्नुपर्ने र कर चुहावट नियन्त्रणका लागि प्रभावकारी संयन्त्र आवश्यक रहेको बताउँछन् । आयकर दर घटाउने, उद्योगका लागि सहुलियत दरमा विद्युत उपलब्ध गराउने, उत्पादन लागत कम गर्ने र व्यवसायमैत्री वातावरण निर्माण गर्ने नीति आवश्यक रहेको उनको धारणा छ । उनले हवाई टिकटमा लगाइएको भ्याट खारेज गर्नुपर्ने, मुद्रास्फीतिका आधारमा श्रमिक र निजी क्षेत्रबीच सहकार्य गर्दै न्यूनतम तलब निर्धारण गर्नुपर्ने र भूतप्रवाही कर नलगाउने प्रतिबद्धता सुनिश्चित गर्नुपर्ने विषय उठाउँदै आएका छन् । प्रवलजंग पाण्डे एक यस्ता व्यवसायी हुन्, जसले इन्जिनियरिङ पृष्ठभूमि, विविध औद्योगिक अनुभव र संस्थागत संलग्नताको संयोजनमार्फत आफूलाई निजी क्षेत्रको उदीयमान नेताका रूपमा स्थापित गरेका छन् ।
महासंघको एसोसिएट उपाध्यक्षमा पाण्डे विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन् । १ हजार ७९ मत ल्याउँदै उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत ल्याइन् । पाण्डे लोमस फर्मास्युटिकल्स र कसमस सिमेन्टका सञ्चालक हुन् । उनी सिटिजन्स बैंकको अध्यक्षको रूपमा पनि कार्यरत छन् ।
प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक आह्वान
काठमाडौं । सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा नियुक्तिको प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान भएको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनअनुसार संवैधानिक परिषद सचिवालयले बिहीबारका लागि बैठक बोलाएको बैठक २०८३ वैशाख २४ गते बिहीबार (भोलि) बेलुका ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको हो । बैठकको प्रमुख एजेण्डा ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस रहेको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने उक्त बैठकमा सहभागी हुनका लागि परिषद्का सदस्यहरूलाई पत्राचार गरिएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता, भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी ठाकुरको उपस्थित रहनेछ । संवैधानिक व्यवस्थाअनुसार परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका व्यक्तिको नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश नियुक्त गर्ने प्रावधान रहेको छ ।
४१ करोड डलरका नयाँ परियोजनासँग भारतको चिप उद्योग विस्तार
काठमाडौं । विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति शृङ्खलामा आफ्नो स्थान मजबुत बनाउने लक्ष्यसहित भारतले ४१ करोड ४० लाख डलर बराबरका दुई नयाँ सेमिकन्डक्टर परियोजनालाई स्वीकृति दिएको छ । यो निर्णयले देशलाई इलेक्ट्रोनिक्स उत्पादनको उदीयमान केन्द्रका रूपमा स्थापित गर्ने सरकारी प्रयासलाई थप गति दिने अपेक्षा गरिएको छ । सरकारले सोमबार राति स्वीकृति दिएका यी परियोजनामध्ये एक एलइडी डिस्प्ले उत्पादन सुविधा हो भने अर्को सेमिकन्डक्टर प्याकेजिङ युनिट हो । यी दुई थपिएसँगै भारतमा यस्ता परियोजनाको सङ्ख्या १२ पुगेको छ । यसमा करिब १७ अर्ब २० करोड डलर बराबरको कुल लगानी प्रतिबद्ध रहेको बताइएको छ । भारतले सन् २०२१ देखि घरेलु चिप उत्पादन क्षमतामा विस्तार गर्ने रणनीति अघि बढाउँदै आएको छ । आयातमा निर्भरता घटाउने, आपूर्ति प्रणालीलाई सुरक्षित बनाउने तथा प्रविधिमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले निर्माण, डिजाइन र प्याकेजिङसँग सम्बन्धित विभिन्न पूर्वाधारमा निरन्तर लगानी बढाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यी नयाँ परियोजनाहरूलाई भारतलाई विश्वव्यापी सेमिकन्डक्टर मूल्य शृङ्खलामा अग्रणी बनाउने दीर्घकालीन योजनाको महत्त्वपूर्ण हिस्सा भएको बताएका छन् । उनका अनुसार सेमिकन्डक्टर क्षेत्रमा भइरहेको प्रगतिले आर्थिक रूपान्तरणलाई तीव्र बनाउने, प्राविधिक आत्मनिर्भरता सुदृढ गर्ने र नवप्रवर्तनमा आधारित पारिस्थितिकी प्रणालीलाई थप ऊर्जा प्रदान गर्नेछ । सरकारी विवरणअनुसार एलइडी परियोजना मिनी र माइक्रो डिस्प्ले मोड्युल उत्पादनमा केन्द्रित रहनेछ । यसका लागि कम्पाउन्ड सेमिकन्डक्टर निर्माणसम्बन्धी एकीकृत सुविधा स्थापना गरिनेछ । त्यस्तै, प्याकेजिङ युनिटले अटोमोबाइल, औद्योगिक तथा उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रमा आवश्यक पर्ने चिप समाधान उपलब्ध गराउने लक्ष्य राखेको छ । यी पहलहरूले देशभित्र विकास भइरहेको उच्चस्तरीय चिप डिजाइन क्षमतालाई पूरक सहयोग पुर्याउने र समग्र सेमिकन्डक्टर पारिस्थितिकी प्रणालीलाई उल्लेखनीय रूपमा सुदृढ बनाउने विश्वास सरकारको छ । भारतको चिप बजार पनि तीव्र रूपमा विस्तार भइरहेको छ । सन् २०२३ मा करिब ३८ अर्ब डलरको रहेको बजार सन् २०२४–२५ सम्म ४५ देखि ५० अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ । सरकारले सन् २०३० सम्म यस क्षेत्रलाई एक खर्ब डलरको स्तरमा पुर्याउने महत्त्वाकांक्षी लक्ष्य अघि सारेको छ । यसअघि स्वीकृत कतिपय उत्पादन केन्द्रहरूले सञ्चालन सुरु गरिसकेका छन् भने दुई परियोजनाले त व्यावसायिक ढुवानीसमेत सुरु गरिसकेको बताइएको छ, जसले भारतको चिप उद्योग विस्तारको गति झन् स्पष्ट बनाएको छ । रासस