विकासन्युज

चौलानी नदी पहिरोले थुनिएपछि तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी थुनिन गई अचानक बाढी आउन सक्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । प्रशासन कार्यालयका अनुसार अपिहिमाल गाउँपालिका–१ क्षेत्रमा पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ । नदी थुनिँदा एक्कासि पानीको मात्रा बढेर बाढी आउन सक्ने सम्भावना रहेकाले नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको हो । प्रशासनले नदी तथा खोलाको किनारमा नजान, सम्भावित जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न तथा स्थानीय तह र सुरक्षा निकायले दिएको सूचनालाई गम्भीरतापूर्वक पालना गर्न आग्रह गरेको छ । आपत्कालीन अवस्था आएमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलसँग समन्वय गरी उद्धार तथा राहतका लागि आवश्यक व्यवस्था मिलाइने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचनामा विपद्को जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरिएको छ ।

कविरकी श्रीमतीले भनिन्– फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुसीको सीमा छैन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ए को सुरुङभित्र फसेका ललितपुरका कविर महर्जनको शुक्रबार १० दिनपछि जीवितै उद्धार भयो । नेपाली सेनासहित विज्ञ र प्राविधिकहरूको टोलीले महर्जनको शुक्रबार बिहान सकुशल उद्धार गरी काठमाडौं ल्याएको हो । उनको अहिले सैनिक अस्पताल छाउनीको आईसीयू कक्षमा उपचार भइरहेको छ । श्रीमान्लाई भेट्न सैनिक अस्पताल पुगेकी उनकी श्रीमती हीराशोभा महर्जनले महर्जन सकुशल फर्किंदा परिवारमा खुसीको सीमा नभएको बताइन् । उनले श्रीमान्ले सुरुमा आफूलाई चिन्न नसकेको भए पनि अहिले अवस्था ठीकै रहेको बताइन् । खुट्टामा थोरै चोट लागेको र शरीरसमेत पहेँलो भएको कारण चिकित्सकको निगरानीमा राखिएको उनले बताइन् । उनले भनिन्, ‘अहिले ठीकै छ, अलिअलि बोल्नुभएको छ । आउने बेलामा त त्यस्तो बोल्न सकिराख्नुभएको थिएन । मलाई नै चिन्नुभएन सुरुमा त । अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ । खुट्टामा थोरै चोट लागेको छ । उहाँको सबै शरीर नै पहेँलो भएको छ । उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन । उहाँ फर्किँदा हामी एकदमै खुसी छौँ । परिवारमा सबै खुसी हुनुभएको छ । नेपाली सेनाले उहाँको जीवन बचाइदिनुभएकोमा धन्यवाद ।’ उनी मेकानिकल सुपरभाइजर हुन् ।

पहिरोले कान्ति लोकपथ जोखिममा, सडक खुलाउन मेसिन परिचालन

काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोका कारण आवागमन अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथमा सवारी साधनको चाप अत्यधिक बढेको छ । अत्यधिक सवारी चाप र निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण यो राजमार्ग सञ्चालनमा चुनौती थपिएको हो । हाल कान्ति लोकपथ हुँदै दैनिक एक हजारभन्दा बढी सवारी साधन आवतजावत गरिरहेका छन्  । विशेषगरी हेटौँडाबाट मालवाहक र यात्रुवाहक सवारी साधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने र काठमाडौंबाट खाली फर्किएका सवारी साधनहरू कान्ति लोकपथ प्रयोग गरी हेटौँडा जाने व्यवस्था मिलाइएको छ । काठमाडौंको एकान्तकुना, टीकाभैरव, ठिङ्गन हुँदै हेटौँडा जोड्ने यो सडक खण्डमा सवारी चाप बढेपछि व्यवस्थापनमा कठिनाइ भएको हो । कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर उपेन्द्र महराका अनुसार सडकलाई सुचारु राख्न विभिन्न खण्डमा जनशक्ति र उपकरणहरू परिचालन गरिएको छ । टीकाभैरवदेखि तीनपानेसम्म तीनवटा ह्विल एक्स्काभेटर र एउटा ब्याकहो लोडर परिचालन गरिएको छ । त्यस्तै, तीनपानेदेखि टार्कुचे खण्डमा पनि निर्माण व्यवसायीमार्फत उपकरणहरू परिचालन गरी सडक खुलाउने काम भइरहेको छ । टार्कुचेदेखि वाग्मती खोला (बगुवा) सम्मको जोखिमपूर्ण खण्डमा तीनवटा एक्स्काभेटर र दुईवटा लोडर तैनाथ राखिएका छन् । मकवानपुर खण्डतर्फ ठिङ्गनदेखि हेटौँडासम्मको सडक तुलनात्मक रूपमा सुरक्षित र कालोपत्रे भइसकेकाले त्यहाँ आवागमन केही सहज छ । यद्यपि, लेबडाँडा र सिमाद खोलाआसपासमा वर्षा हुँदा सामान्य अवरोध हुने गरेको इन्जिनियर महराले जानकारी दिए । सडक विभाग, जिल्ला प्रशासन, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली अहोरात्र खटिएर सडक सुचारु राख्ने प्रयास गरिरहेको उनको भनाइ छ । सडकको विर्खेधारा खण्डमा पहिरो पन्छाउने काम गरिरहेका सब–कन्ट्र्याक्टर धनबहादुर लिम्बूका अनुसार वैशाखदेखि नै निरन्तरको पहिरोले काममा बाधा पुर्‍याइरहेको छ । हाल दुईवटा स्काभेटर र छवटा टिपर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार सडक अवरुद्ध हुन नदिन १०–१० मिनेट सवारी रोक्दै पहिरो पन्छाउने कार्य जारी राखिएको छ । यद्यपि, पहिरोको माटो फाल्ने उचित स्थान (डम्पिङ साइट) को अभाव र स्थानीय वन समिति तथा खानेपानी उपभोक्ताहरूको अवरोधका कारण काममा ढिलाइ भइरहेको लिम्बूले बताए । निर्माण व्यवसायी राजकुमार बुढाथोकीका अनुसार बाढी र पहिरोको जोखिमका कारण निर्माणाधीन यस सडकमा हाल निर्माणका कामहरू ठप्प भएका छन् । झन्डै १५० जना मजदुरहरू काम छोडेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । बगुवादेखि टीकाभैरवसम्मका छपेली, टार्कुचे र विर्खेधाराजस्ता ठूला पहिरोहरूले सडकलाई अझै जोखिमपूर्ण बनाएका छन् । अहिलेको विपद्को समयमा कान्ति लोकपथलाई ‘सर्भिसेबल’ (चलायमान) बनाउनु नै मुख्य प्राथमिकता रहेको प्राविधिकहरूको भनाइ छ । पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यस सडकमा चाप नघट्ने र त्यसपछि मात्र रोकिएका निर्माण कार्यहरू पुनः अगाडि बढाउन सकिने देखिन्छ ।

राहदानी विभागले २२ र २३ गते पनि सेवा दिने

काठमाडौं । राहदानी विभागले विदाको दिन पनि सेवा दिने भएको छ । विभागले भदौ २२ र २३ गते पनि नियमित रूपमा सेवा सञ्चालन गर्ने विभागले जनाएको छ । विभागले सूचना जारी गर्दै आगामी २२ र २३ गते सेवाग्राहीलाई प्रदान गरिने सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन रहने बताएको छ । विभागले उक्त दिनहरूमा राहदानीसम्बन्धी सेवा लिन चाहने सेवाग्राहीलाई नियमित सेवा सञ्चालन रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरी सेवा लिन अनुरोध गरेको छ।

बालबालिकालाई राहत दिइरहेको फोटो सामाजिक सञ्जालमा नराख्नूः नेपाल प्रहरी

काठमाडौं । बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्बिर, भिडियो तथा व्यक्तिगत विवरणहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीले आग्रह गरेको छ । सञ्चारमाध्यममा बालबालिकाको तस्विर सार्वजनिक भइरहेको विषयमा नेपाल प्रहरीले आपत्ति जनाएको छ । प्रहरीले विपद्, दुर्घटना वा हिंसाबाट प्रभावित बालबालिकासम्बन्धी सामग्री सार्वजनिक गर्दा उनीहरूको गोपनीयता, आत्मसम्मान र मानसिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पर्न सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्रहरीले पीडित वा प्रभावित बालबालिकाको नाम, ठेगाना, विद्यालय, परिवारको विवरण, अनुहार तथा पहिचान खुल्ने अन्य विवरण सार्वजनिक नगर्न अनुरोध गरेको छ। आवश्यक अवस्थामा उनीहरूको पहिचान लुकाउनुपर्नेमा पनि जोड दिइएको छ। त्यस्तै, बालबालिकाको असहाय वा रोइरहेको अवस्था देखाएर सामग्री भाइरल गर्ने, सहानुभूति वा आर्थिक सहयोग जुटाउने उद्देश्यले उनीहरूको आत्मसम्मानमा ठेस पुग्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न प्रहरीले आग्रह गरेको छ। मानसिक रूपमा प्रभावित बालबालिकासँग पटक–पटक अन्तर्वार्ता लिने, घटना सम्झन बाध्य पार्ने वा उनीहरूको पीडाको पुनः प्रदर्शन हुने किसिमका सामग्री तयार नगर्न पनि आग्रह गरिएको छ। नेपाल प्रहरीले बालबालिकाको पहिचान खुल्ने तस्बिर, भिडियो वा डिजिटल सामग्रीलाई अनुमति र संवेदनशीलताबिना पुनःप्रसारण, सम्पादन, मीम वा अन्य स्वरूपमा प्रयोग नगर्न आग्रह गरेको छ।  विपद्का बेला फोटो वा भिडियो खिच्नुभन्दा बालबालिकाको उद्धार, सुरक्षा, उपचार र संरक्षणलाई प्राथमिकता दिनुपर्ने प्रहरीको भनाइ छ। सामाजिक सञ्जालमा प्राप्त सामग्रीको सत्यता र संवेदनशीलता नबुझी शेयर, रिपोस्ट वा फर्वार्ड नगर्न तथा बालबालिकाको हितविपरीत देखिने सामग्रीको थप प्रसार नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका महर्जनलाई माइल्ड हाइपोथर्मिया

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेर उद्धार गरिएका दुईजनामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया देखिएको छ । अर्का उद्धार गरिएका व्यक्ति सञ्जय शाह भने जोखिममुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण सुरुङभित्र फसेका उनिहरुको १० दिनपछि उद्धार गरिएको हो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई हेलिकोप्टरमार्फत आर्मी अस्पताल छाउनीमा ल्याइएकोे हो ।  लामो समयसम्म चिसो पानी र वातावरणको सम्पर्कमा रहँदा शरीरको तापक्रम घट्न गई हाइपोथर्मिया भएको उपचारमा संलग्न चिकित्सकको भनाई छ । के हो हाइपोथर्मिया ?  हाइपोथर्मिया एउटा जोखिमपूर्ण समस्या हो । हाइपोथर्मिया हुँदा शरीरको तापक्रम घट्दै जान्छ। मानिसको सामान्य तापक्रम ९८ दशमलव ४ डिग्री फरेनहाइड हुन्छ, त्यो तापक्रम छिटोछिटो घट्दै गएको खण्डमा हाइपोथर्मिया हुन्छ। तापक्रम ९५ डिग्री फरेनहाइड तिर झर्‍यो भने हाइपोथर्मिया हुने सम्भावना हुन्छ ।  जाडो बेलामा शरीरले तापक्रम उत्पन्न गर्न नसकेर यो समस्या देखा पर्छ । यो समस्याले गर्दा मुटुले काम गर्न छोड्छ र मानिसको मृत्यु पनि हुनसक्छ। हाइपोथर्मियाले जनावरको समेत मृत्यु हुने गर्छ ।  यसका लक्षण तापक्रम अनुसार फरक–फरक हुन सक्छन् । मन्द खालको हाइपोथर्मियामा जिउ काम्ने तथा दिमाग सुस्त भएर अलमल पर्ने हुन्छ । मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र दिमागको सुस्तता बढेर जान्छ ।

भोटेकोशी बाढी अपडेट : १२ सय ९३ को शव फेला

काठमाडौं ।  भोटेकोशीको बाढी बगाउँदा हालसम्म १ हजार २ सय ९३ जनाको शव फेला परेको छ । रसुवामा १ सय ४० जना, नुवाकोटमा १ सय ८६ जना, धादिङमा ६५ जना, चितवनमा ३ सय ५९ जना, गोरखामा ७२ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २१ जना र नवलपरासी पश्‍चिम १ सय ९४ जना र भारतमा भेटिएको (नवलपरासी पश्‍चिममा बुझाएको)  १८ गरी १ हजार २ सय ९३ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।   साथै घाइते भएका मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । जसमध्ये १ जनाको टिचिङ अस्पताल र १ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।  फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म २ सय २२ महिला, ३ सय ५५ पुरूष र ४ सय ५३ नखुलेको गरी जम्मा १ हजार ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको ) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ६० र आफन्तका ८ सय ४६ गरी कुल २ हजार १ सय ६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार २ सय ६३ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।  बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ९८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ६ सय ५५ जना व्यक्तिहरूलाई राखिएको छ ।  प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटोअवरोध हटाउने कार्य समेत गरिरहेको छ ।   

बाढी पुनर्निर्माण र राहतका लागि सरकारले गर्‍यो ६ वटा विषयगत कार्यदल गठन

काठमाडौं । बाढीबाट क्षतिग्रस्त संरचनाहरूको तत्काल राहत, पुनःस्थापना तथा पुनर्निर्माणको कामलाई तीब्रता दिन सरकारले विभिन्न ६ वटा विषयगत कार्यदल गठन गरेको छ ।  पूर्वाधार विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार गठन गरिएका यी कार्यदलहरूलाई क्षतिको प्राविधिक मूल्यांकनदेखि पुनःस्थापना र पुनर्निर्माणको कार्ययोजना तयार पार्नेसम्मका जिम्मेवारी सुम्पिएको छ । मन्त्रालयले सडक पूर्वाधार पुनःस्थापनाका लागि मन्त्रीका सल्लाहकार सन्तोष पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको छ भने पुल तथा बेलीब्रिज निर्माण र पुनःस्थापना कार्यदलको संयोजकमा मन्त्रीकै सल्लाहकार धर्मेन्द्र झा तोकिएका छन् ।  यसैगरी, खानेपानी तथा वास व्यवस्थापन कार्यदलको संयोजकमा सञ्जिव विक्रम राणा, पुनस्थापना तथा आश्रयस्थल व्यवस्थापन कार्यदलको संयोजकमा सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्याल र झोलुङ्गे पुल तथा स्थानीय सम्पर्क मार्ग पुनःस्थापना कार्यदलको संयोजकमा आयोजना निर्देशक शंकर बुढाथोकीलाई जिम्मेवारी दिइएको छ ।  बाढी, पहिरो तथा नदीजन्य हिलो र फोहोर सफाइका लागि आयोजना निर्देशक इफर सिंह विश्वकर्माको संयोजकत्वमा ’डेभ्रिज क्लिनिंग टास्क फोर्स’ समेत निर्माण गरिएको छ । गठन गरिएका प्रत्येक कार्यदललाई सम्बन्धित क्षेत्रको अवस्था अध्ययन गरी तत्काल सञ्चालन गर्नुपर्ने काम पहिचान गर्ने, स्रोत-साधनको आवश्यकता निर्धारण गर्ने र नियमित प्रतिवेदन पेस गर्ने निर्देशन दिइएको छ ।  कार्यदलहरूले बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, विस्थापित परिवारका लागि आश्रयस्थल, झोलुङ्गे पुल, ट्रेल तथा नदीमा थुप्रिएको हिलो र फोहोर हटाउने कार्यमा समन्वय गर्नेछन् । मन्त्रालयले दोहोरो लगानी तथा स्रोतको दुरुपयोग रोक्न एकीकृत योजना र सूचना प्रणाली प्रयोग गर्न निर्देशन दिएको छ । संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदारबीच समन्वय गर्दै नीतिगत र कानुनी निर्णयका लागि सिफारिस गर्ने अधिकारसमेत कार्यदललाई दिइएको छ ।  यसरी सरकारले विभिन्न विषयगत कार्यदलहरूको परिचालनमार्फत विपद् प्रभावित क्षेत्रमा तत्कालीन राहत, अवरोध हटाउने कार्य र दीर्घकालीन पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाउने लक्ष्य राखेको छ ।