कविरकी श्रीमतीले भनिन्– फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुसीको सीमा छैन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ए को सुरुङभित्र फसेका ललितपुरका कविर महर्जनको शुक्रबार १० दिनपछि जीवितै उद्धार भयो ।

नेपाली सेनासहित विज्ञ र प्राविधिकहरूको टोलीले महर्जनको शुक्रबार बिहान सकुशल उद्धार गरी काठमाडौं ल्याएको हो । उनको अहिले सैनिक अस्पताल छाउनीको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

श्रीमान्लाई भेट्न सैनिक अस्पताल पुगेकी उनकी श्रीमती हीराशोभा महर्जनले महर्जन सकुशल फर्किंदा परिवारमा खुसीको सीमा नभएको बताइन् । उनले श्रीमान्ले सुरुमा आफूलाई चिन्न नसकेको भए पनि अहिले अवस्था ठीकै रहेको बताइन् ।

खुट्टामा थोरै चोट लागेको र शरीरसमेत पहेँलो भएको कारण चिकित्सकको निगरानीमा राखिएको उनले बताइन् ।

उनले भनिन्, ‘अहिले ठीकै छ, अलिअलि बोल्नुभएको छ । आउने बेलामा त त्यस्तो बोल्न सकिराख्नुभएको थिएन । मलाई नै चिन्नुभएन सुरुमा त । अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ । खुट्टामा थोरै चोट लागेको छ । उहाँको सबै शरीर नै पहेँलो भएको छ । उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन । उहाँ फर्किँदा हामी एकदमै खुसी छौँ । परिवारमा सबै खुसी हुनुभएको छ । नेपाली सेनाले उहाँको जीवन बचाइदिनुभएकोमा धन्यवाद ।’

उनी मेकानिकल सुपरभाइजर हुन् ।

Share News