चौलानी नदी पहिरोले थुनिएपछि तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी थुनिन गई अचानक बाढी आउन सक्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

प्रशासन कार्यालयका अनुसार अपिहिमाल गाउँपालिका–१ क्षेत्रमा पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ । नदी थुनिँदा एक्कासि पानीको मात्रा बढेर बाढी आउन सक्ने सम्भावना रहेकाले नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको हो ।

प्रशासनले नदी तथा खोलाको किनारमा नजान, सम्भावित जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न तथा स्थानीय तह र सुरक्षा निकायले दिएको सूचनालाई गम्भीरतापूर्वक पालना गर्न आग्रह गरेको छ ।

आपत्कालीन अवस्था आएमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलसँग समन्वय गरी उद्धार तथा राहतका लागि आवश्यक व्यवस्था मिलाइने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचनामा विपद्को जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरिएको छ ।

Share News