विकासन्युज

काउली किलोको ३० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २६ र आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (तराई) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ४०, सेता मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, राजमा प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु १८०, तीते करेला प्रतिकिलो रु ९०, लौका प्रतिकिलो रु ३०, परवर प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ८०, चिचिन्डो प्रतिकिलो रु ५०, घिरौँला प्रतिकिलो रु ३०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ६०, सखरखण्ड प्रतिकिलो रु ७५, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकन्दर प्रतिकिलो रु ५०, कोइराला प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु १९०, सेलरी प्रतिकिलो रु १८०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २५० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३९०, केरा दर्जन रु २५०, अनार प्रतिकिलो रु ४००, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ४०, रुखकटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४५० र एभोकोडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, माछे खुर्सानी प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु ५००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

भृकुटीमण्डपका १०३ सटर भाडामा दिँदै,  मासिक भाडा ५ लाख रुपैयाँ

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भृकुटीमण्डपमा रहेका सटरहरू भाडामा दिने भएको छ । कम्पनीले काठमाडौं महानगरपालिका-२८ स्थित भृकुटीमण्डपमा रहेका सटरहरू भाडामा दिने भएको हो ।  कम्पनीले भृकुटीमण्डप क्षेत्रका ‘ब्लक बी’ र ‘ब्लक सी’ मा रहेका सटरहरू भाडामा दिने निर्णय गरेको जनाएको छ । ब्लक ‘बी’ मा ५२ वटा र ब्लक ‘सी’ मा ५१ वटा गरी १०३ वटा सटर रहेका छन् । कम्पनीका अनुसार ब्लक ‘बी’ का सटरहरूको न्यूनतम् मासिक भाडा (बहाल करसहित) ६ लाख ४७ हजार ५२० रुपैयाँ तोकिएको छ भने ब्लक ‘सी’ का सटरहरूको न्यूनतम् मासिक भाडा ५ लाख रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूले ७ दिनभित्र १ हजार रुपैयाँ (फिर्ता नहुने) तिरी दरभाउपत्र खरिद गर्नुपर्नेछ । खरिद गरिएका दरभाउपत्रहरू आठौं दिन अपराह्न १२ बजेसम्म पेश गर्नुपर्नेछ । प्राप्त दरभाउपत्रहरू सोही दिन दिउँसो २ बजे खोलिने कम्पनीले जनाएको छ । 

सेती नदीमा १८ मेगावाटको हाइड्रो बन्ने, २०८७ मा सम्पन्न गर्ने

काठमाडौं । केसीज होटल्स एण्ड मल्टिपल इन्डष्ट्रिजले १८ मेगावाट क्षमताको ‘सुप्रिम मध्य सेती जलविद्युत आयोजना’ निर्माण गर्ने भएको छ । पोखरा महानगरपालिका-१४, २७, २९ र ३३ नम्बरमा अवस्थित विजयपुर खोला र सेती नदीको पानी उपयोग गरी नदी बहावमा आधारित प्रविधिमा आयोजना निर्माण गरिने भएको हो । केसीज होटल्सले विद्युत ऐन, २०४९ को दफा ४ तथा विद्युत नियमावली, २०५० को नियम १२ बमोजिम आवेदन दिएको र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र सन् २०२३ मा अद्यावधिक गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा आयोजना प्रक्रिया अगाडि बढाइएको हो ।  आयोजनाको जडित क्षमता १८ मेगावाट रहनेछ । डिजाइन बहाव ४४.१४ घनमिटर प्रतिसेकेन्ड र समग्र हेड ५० मिटर रहनेछ । यस आयोजनाबाट वार्षिक औसत १०९.३३ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ । साथै, विजयपुर–२ जलविद्युत आयोजनाको टेलरेसबाट निस्कने पानीसमेत उपयोग गरिने जनाइएको छ । आयोजनाका संरचनात्मक पक्षमा सेती नदीमा करिब ९० मिटर लामो र ४ मिटर उचाइको बाँध निर्माण गरिनेछ । बाँधको बायाँ किनारबाट पाँच वटा साइड इन्टेकमार्फत पानी ग्राभेल ट्र्यापमा लगिनेछ । त्यहाँबाट पानी ७५० मिटर लामो नहर हुँदै दुई च्याम्बरयुक्त डिस्यान्डिङ बेसिनमा पुर्‍याइनेछ । त्यसपछि पानी विभिन्न क्यानालमार्फत कलेक्सन पोखरीमा संकलन गरिनेछ र २ हजार ७७ मिटर लामो हेडरेस क्यानाल हुँदै फोरबेमा पुर्‍याइनेछ । त्यहाँबाट १ हजार ५७ मिटर लामो पाइपमार्फत सर्ज स्याफ्ट हुँदै १८० मिटर पेनस्टकमार्फत विद्युतगृहमा पानी पुर्‍याइनेछ । विद्युतगृहमा तीनवटा भर्टिकल स्याफ्ट फ्रान्सिस टर्बाइन र तीनवटा तीन-फेज जेनेरेटर जडान गरी १८ मेगावाट विद्युत उत्पादन गरिनेछ । उत्पादन भएको विद्युत ४.५ किलोमिटर लामो प्रसारण लाइनमार्फत लेखनाथ सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । विद्युत उत्पादनपछि पानी ३२० मिटर लामो टेलरेस क्यानालमार्फत पुनः सेती नदीमा प्रवाह गरिने व्यवस्था मिलाइने जनाएको छ । साथै विद्युतगृह नजिकै आउटडोर स्विचयार्ड पनि निर्माण गरिनेछ । पर्यावरणीय पक्षलाई ध्यानमा राख्दै आयोजना क्षेत्रभित्रका जलचर, वनस्पति तथा अन्य जीवजन्तुको संरक्षणका लागि न्यूनतम आवश्यक पानी निरन्तर रूपमा तल्लो तटीय क्षेत्रमा छाडिने प्रस्ताव कम्पनीले गरेको छ । यो आयोजना वि.सं. २०८७ असार (सन् २०३०) भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

सम्बन्धन प्राप्त क्याम्पस र कलेजमा स्थलगत अध्ययन गर्दै त्रिवि, ७० हजार रुपैयाँ शुल्क

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकाय, डीनको कार्यालय कीर्तिपुरले सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूको स्थलगत सम्भाव्यता अध्ययन गर्ने भएको छ ।  व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन भइरहेका नियमित शैक्षिक कार्यक्रमहरू ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस) र मास्टर अफ बिजनेस स्टडीज (एमबीएस) र विशेष शैक्षिक कार्यक्रम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी म्यानेजमेन्ट (बीआईटी), ब्याचलर अफ पब्लिक एडमिनिस्ट्रेशन (बीपीए), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), ब्याचलर अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट (बीटीटीएम), मास्टर अफ हस्पिटालिटी म्यानेजमेन्ट (एमएमएचएमएम), मास्टर अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट (एमटीटीएम), मास्टर अफ इन्फर्मेशन टेक्नोलोजी म्यानेजमेन्ट (एमआईटीएम) मा नयाँ कार्यक्रम वा सेक्सन थप गर्न आवेदन दिएका क्याम्पस तथा कलेजहरूको स्थलगत अध्ययन गरिनेछ । त्रिवि कार्यकारी परिषदको २०८२ भदौ १४ गतेको बैठकको निर्णय अनुसार १०० पूर्णाङ्कको मूल्यांकनमा न्यूनतम् ६० अंक प्राप्त गर्न सक्ने क्याम्पस/कलेजहरू मात्र अध्ययन प्रक्रियामा समावेश हुन सक्नेछन् । उपत्यकाभित्रका क्याम्पस/कलेजहरूले प्रति शैक्षिक कार्यक्रम ५५ हजार रुपैयाँ र उपत्यका बाहिरका क्याम्पस/कलेजहरूले ७० हजार रुपैयाँका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । उक्त रकम व्यवस्थापन संकाय, डीनको कार्यालयको खातामा सूचना प्रकाशित मितिले १५ दिनभित्र जम्मा गर्नुपर्नेछ । साथै, तोकिएको समयसीमा भित्र शुल्क नबुझाउने क्याम्पस÷कलेजहरूलाई स्थलगत सम्भाव्यता अध्ययनका लागि योग्य नमानिने पनि त्रिविले जनाएको छ ।

अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा

ईन्द्रा कुमारी केसी काठमाडौं । जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ । कैलालीको बर्दगोरिया गाउँपालिका-३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुन् । जन्मजात दृष्टिविहीन उनले अँध्यारोसँग हार मान्नु भएन, बरु त्यही अँध्यारो भित्रबाट उज्यालो खोज्दै आफू मात्र होइन, हजारौं विद्यार्थीको भविष्य उज्यालो बनाउने यात्रामा लागे । विसं २०६५ देखि जगदम्बिके भगवती माध्यमिक विद्यालयमा शिक्षण पेसामा संलग्न चौधरीले १५ वर्ष बढी समय कक्षाकोठामा बिताइ सकेका छन् । उनका लागि विद्यालय केवल जागिर खाने थलो मात्र होइन, जीवनको उद्देश्य हो । उनी कक्षामा उभिँदा आँखाले नदेखे पनि विद्यार्थीको क्षमता, सम्भावना र भविष्य देख्ने आत्मदृष्टिले उभिन्छन् । उनले पढाएका विद्यार्थीहरू आज विभिन्न क्षेत्रमा स्थापित छन् । गाउँबाट पढेका ती विद्यार्थीहरू सफल भएको देख्दा उनलाई आफ्नो सङ्घर्ष सार्थक भएको अनुभूति हुन्छ । उनी भन्छन्, ‘मैले दिएको सानो ज्ञानले पनि कसैको जीवन बदलिन्छ त्योभन्दा ठुलो खुसी अरू केही हुँदैन ।’ तर, उनको जीवन यात्रा सहज भने थिएन । सानै उमेरमा बुबा–आमा गुमाउनु पर्‍यो । पारिवारिक सहारा कमजोर बन्दै गयो । दृष्टि कमजोर हुँदा दैनिक जीवन झन् कठिन बन्दै गयो । दाजु पनि दृष्टिविहीन हुँदा दिदी, भिनाजु र बहिनीको सहारामा बाँच्नु परेको उनी बताउँछन् । बाल्यकालमा भोगेका अपमान र पीडा आज पनि उनका स्मृतिमा ताजा छन् । गाउँमा कतिपयले उनलाई ‘अन्धो’ भनेर बोलाउँथे, सँगै हिँड्न हिचकिचाउँथे । हिँडडुल गर्न, विद्यालय जान दैनिक जीवनयापन निर्वाह गर्नलगायत सबै कुरा चुनौतीपूर्ण थियो । यी कठिनाइले उनलाई कमजोर बनाउनुको साटो अझ बलियो बनायो । सुरुमा आफूले पढ्न सक्दिनँ भन्ने लागे पनि एक जना शिक्षकको साथ र प्रेरणाले उनको सोच बदलियो । शिक्षकले घरमै आएर पढाइमा सहयोग गरेपछि उनको आत्मविश्वास बढ्दै गयो । उनले बुझ्दै गए की शारीरिक क्षमतामा सीमितता भए पनि सिक्ने चाहना र मेहनत भए सम्भावना असीमित हुन्छ । एसएलसी उत्तीर्ण गरेपछि उनले शिक्षण पेसामा पाइला टेके । त्यो समय उनका लागि केवल जागिर सुरु गर्ने क्षण थिएन, जीवनलाई नयाँ अर्थ दिने मोड थियो । दृष्टिविहीन भएर पनि कक्षामा उभिएर पढाउनु सजिलो थिएन । तर उनले कहिल्यै आफूलाई कमजोर ठान्नुभएन बरु कमजोरीलाई नै शक्ति बनाउँदै अघि बढे । अध्यापनसँगै उनले उच्च माध्यमिक तह उत्तीर्ण पनि गरे । कक्षामा उनी केवल पाठ्यपुस्तकका कुरा मात्र गर्नुहुन्न जीवनका अनुभव पनि साट्छन् । उनको पारिवारिक जीवन पनि सङ्घर्षपूर्ण छ । उनकी श्रीमती पनि दृष्टिविहीन छन् । १३ वर्षीय छोरी र दुई वर्षीय सानो छोराको जिम्मेवारी उनीहरूले मिलेर सम्हालिरहेका छन् । छोरीले सानो उमेरमै ठुलो जिम्मेवारी बोकेकी छन् । घरको कामकाजदेखि बाबुआमाको हेरचाहसम्ममा उनी सक्रिय छिन् । चौधरीको जीवनमा सङ्गीत र साहित्यले पनि विशेष स्थान ओगटेको छ । उनी कहिलेकाहीँ गीत गाउँछन् भने कविता पनि लेख्छन् । सानै कक्षामा पढ्दा लेखेको एउटा कविताले आज पनि उनको सोच झल्काउँछ, ‘आँखा बन्द भए पनि दिमाग बन्द हुँदैन’ यही विश्वासले उनलाई निरन्तर अघि बढ्न ऊर्जा दिएको छ । समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति दृष्टिकोण बिस्तारै बदलिँदै गएको छ । ‘पहिले हेप्नेहरू आज सम्मानका साथ बोलाउँछन्, सल्लाह माग्छन्,’ उनी भन्छन् । गाउँमा कुनै कार्यक्रम हुँदा उनलाई विशेष रूपमा बोलाइन्छ । उनी अब केवल एउटा व्यक्ति मात्र होइन, अनुभव र प्रेरणाको स्रोत बनेका छन् । उनका विचारमा अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अवसर चाहिन्छ । ‘हामीलाई कमजोर ठानेर पछाडि राख्नु हुँदैन, अवसर दिइयो भने हामी पनि काम गर्न सक्छौँ,’ उनी भन्छन् । रासस

१० लाखमा बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण

काठमाडौं । पर्यटकलाई आकर्षित गर्न म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको बाघखोरमा पार्क निर्माण गरिएको छ । भकिम्लीको मुसुङ र भुकभुके टोलको शिर, स्वर्गाश्रम र बेलढुङ्गाको फेदीमा प्रयोग विहीन अवस्थामा रहेको सार्वजनिक पाखोलाई संरक्षण र व्यवस्थापन गरेर पार्क बनाइएको हो ।  बेनी नगरपालिका र दाताको सहयोग तथा स्थानीयबासीको श्रमदान जुटाएर पर्यटकका लागि आश्रयस्थल भवन, वनभोज स्थल र बाघको प्रतिमा भएको पार्क निर्माण गरेको बेनी नगरपालिका-३ का वडाअध्यक्ष पदम पुनले जानकारी दिए । 'आर्थिक वर्ष २०७६/७७ मा वडाको प्रस्तावमा बेनी नगरपालिकाले १ लाख रुपैयाँ बजेट विनियोजन गरेर सुरु भएको पार्क निर्माण योजनाका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएका छौँ,' उनले भने, 'यसपालि विनियोजन भएको ३ लाख रुपैयाँ बजेटबाट वनभोज स्थलका लागि आवश्यक सामग्री खरिद र घेराबार गरेर पूर्णता दिने तयारीमा छौँ ।' पार्क निर्माणमा नगरपालिका र समुदायको १० लाख रुपैयाँ भन्दा बढी खर्च भएको वडाअध्यक्ष पुनले बताए । समुद्री सतहदेखि करिब २ हजार २५० मिटर उचाइमा अवस्थित बाघखोरमा पार्क बनाउन बराहताल सामुदायिक वन क्षेत्रमा पर्ने ८ रोपनी जग्गालाई घेराबार गरिएको छ । दुइवटा भवन, सार्वजनिक शौचालय निर्माण भएको पार्कमा खानेपानीको व्यवस्था पनि मिलाइएको निर्माण समितिका अध्यक्ष पृथीप्रसाद पुनले बताए । ३ लाख ५० हजार रुपैयाँ खर्च गरेर बाघको प्रतिमा राखिएको छ । स्थानीय दिलमती र सञ्जय सुनारले पानको पात अङ्कित स्तम्भ बनाएका छन् । धनलाल जैसीको सहयोगमा कालिका र मालिका देवीको मन्दिर निर्माण भएको छ । मुसुङ र भुकभुकेदेखि स्वर्गाश्रम जाने पदमार्ग र सडकको छेउमा अवस्थित बाघखोरबाट धौलागिरि, अन्नपूर्ण, गुर्जा हिमशृङखला, सूर्योदय, नागबेली परेर बगेको म्याग्दी नदी र म्याग्दीका विभिन्न ग्रामीण बस्तीहरुको दृश्यावलोकन गर्न सकिन्छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको स्वर्गाश्रम र बेलढुङ्गा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्बाउने उद्देश्यले बाघखोरमा पार्क बनाएको निर्माण समितिका अध्यक्ष पुनले बताए । उनका अनुसार परापुर्वकालमा यहाँ बाघलाई पासोमा पार्न खोर राखिएकाले बाघखोर नामाकरण भएको किंवदन्ती छ । रासस

शिक्षकहरूको अनुरोधमा सरकारले तोकेको तालिका अगाडि नै पठनपाठन सुरु

काठमाडौं । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ का लागि तय गरेको समय तालिका अगाडि नै जिल्लाका अधिकांश स्थानीय तहले पठनपाठन सुरु गरेका हुन् । सङ्घीय सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान र २१ गतेदेखि मात्र नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि नवलपरासीका अधिकांश स्थानीय तहले शैक्षिक क्यालेन्डरमा प्रभाव पार्ने भन्दै नियमित कक्षा सुरु गरेका हुन् । जिल्लाको मध्यविन्दु नगरपालिकाले वैशाख ७ गतेदेखि नै पठनपाठन सुरु गरिसकेको छ । पालिकाका नगर शिक्षा अधिकारी पदमराज आचार्यले पालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको अनुरोधअनुसार नगर प्रमुखले पठनपाठन सुरु गर्न सहजीकरण गरेको बताए ।  ‘सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले आइतबार पनि बिदा हुने भएपछि पढाइ थोरै दिन हुने भन्दै पालिकाको शैक्षिक क्यालेन्डरअनुसार पठनपाठन सुरु गर्न अनुरोध गर्नुभयो । प्रअहरूले अनुरोध गरेपछि वैशाख २ देखि ६ गतेसम्म भर्ना अभियान र ७ गतेदेखि नियमित कक्षा सुरु गर्न नगर प्रमुखबाट सहजीकरण भयो,’ उनले भने । अहिले पालिकामा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन सुरु भइसकेको उनले बताए । त्यसैगरी, कावासोती नगरपालिका, गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिकाले पनि मङ्गलबार र बुधबारदेखि पढाइ सुरु गराएका छन् । कावासोती नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले पालिकाभित्रका विद्यालयहरूले मङ्गलबारदेखि नियमित पठनपाठन सुरु गरिसकेका जानकारी दिए ।  हुप्सेकोट गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज गौतमले पालिकामा बुधबारदेखि नियमित पठनपाठन सुरु गरिएको बताए ।  जिल्लाको बुलिङटार गाउँपालिका र बौदिकाली गाउँपालिकाले भने बिहीबारदेखि नियमित शिक्षण अभ्यास सुरु गर्ने भएका छन् । बौदिकाली गाउँपालिका शिक्षा शाखा प्रमुख जीवलाल भुसालले कार्यपालिका बैठक बसेर बिहीबारदेखि पढाइ सुरु गर्ने निर्णय गरेको बताए ।  ‘सङ्घीय सरकारले २१ गतेदेखि मात्रै पढाइ सुरु गर्न भनेको भए पनि अभिभावकहरूको आग्रहमा कार्यपालिका बैठकले १० गतेदेखि विद्यालयमा पढाइ सुरु गर्ने निर्णय गरेको हो,’ उनले भने । जिल्लाको देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले भने सङ्घीय सरकारको निर्देशनविरुद्ध नजाने निर्णय गरेका छन् । देवचुली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव रामप्रसाद शर्माले विद्यालयको पठनपाठन अगाडि गर्ने भनेर कार्यपालिका बैठक बसेको भए पनि पारित हुन नसकेको बताए ।  संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको भन्दै स्थानीय तहहरूले विद्यालय खुलाएका हुन् । एउटै जिल्लामा पनि फरक-फरक मितिमा विद्यालय खुल्दा अभिभावकहरू भने अन्योलमा परेका छन् । 

हिमाल र पहाडमा आंशिक बादल लाग्ने, तराईमा तातो लहर चल्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा देशका हिमाली र पहाडी भू-भागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी, गण्डकी र कर्णाली  प्रदेशको मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षार हिमपातको सम्भावना रहेको छ ।  मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ । त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र पहाडी भू-भागलगायत बागमती, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको  महाशाखाले जनाएको छ ।