विकासन्युज

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६ लाख अमेरिकी डलर सहयोग जुटाउन अपिल गरेको छ । राष्ट्रसङ्घले मानवीय सहायताका साझेदार निकायसँगको समन्वयमा बाढीपछि सिर्जित विपद्बाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकसम्म जीवनरक्षक सहायता पुर्याउन शुक्रबार अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद सुरु हुनुअघिका लागि तय गरिएको नौमहिने योजनालाई उक्त सहयोगले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालस्थित राष्ट्रसङ्घको कार्यालयले जनाएको छ । उच्च हिमाली भेगका बस्तीमा हिउँद सुरु हुनुअघि हुन सक्ने कष्ट तथा सरुवा रोगको जोखिम न्यूनीकरण गर्नु योजनाको मुख्य उद्देश्य रहेको राष्ट्रसङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घ र मानवीय सहायताका साझेदार निकायहरू नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यसँग समन्वयमा रहेर काम गरिरहेका छन् । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका थुप्रै बस्ती प्रभावित तथा विस्थापित भएका छन् । भौतिक पूर्वाधारमा भएको व्यापक क्षतिका कारण यातायातका मार्ग अवरुद्ध भएका छन् । विद्युत् प्रणालीमा असर परेको छ भने खानेपानी तथा सरसफाइका संरचना बगेका छन् । यसले विकट भेगका बासिन्दालाई आधारभूत आवश्यकताबाट समेत वञ्चित बनाएको छ । राष्ट्रसङ्घका अनुसार जोखिममा रहेका समुदायको सुरक्षा गर्न संयुक्त योजनामार्फत विभिन्न क्षेत्रका अत्यावश्यक मानवीय आवश्यकता सम्बोधन गरिनेछ । स्थानीय बजार सञ्चालनमा रहेका क्षेत्रमा प्रभावित परिवारलाई प्रत्यक्ष नगद सहायता उपलब्ध गराइनेछ । हिउँद लाग्नुअघि विस्थापित परिवारलाई जाडोबाट जोगाउन अस्थायी आवास सामग्री वितरण गरिनेछ भने विद्युत् नपुगेका क्षेत्रमा सौर्य उपकरण उपलब्ध गराएर बत्ती तथा आधारभूत ऊर्जाको व्यवस्था गरिनेछ । योजनाअन्तर्गत क्षतिग्रस्त खानेपानी प्रणालीको मर्मत, द्रुत पानी शुद्धीकरण प्रणालीको जडान तथा सरसफाइ सामग्री वितरण गरिनेछ । यसबाट पानीजन्य रोगको फैलावट रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, घुम्ती स्वास्थ्य शिविरमार्फत तत्काल उपचार तथा पोषण सहयोग उपलब्ध गराइनेछ। परिवारबाट छुट्टिएका बालबालिकाको पुनर्मिलनका लागि संरक्षण समूह परिचालन गरिनेछ । यसका साथै आकस्मिक खाद्य सहायता वितरण तथा बाँचेका पशुधनको व्यवस्थापनमार्फत ग्रामीण जीविकोपार्जन जोगाउने काम गरिने राष्ट्रसङ्घले जनाएको छ ।

बाढीपीडितको सम्झनामा ग्वाङ्झाउमा 'फिने' को श्रद्धाञ्जली तथा दीप प्रज्वलन

काठमाडौं । भोटेकोशी नदीमा ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै तथा शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता प्रकट गर्न चीनको ग्वाङ्झाउमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । चीनको ग्वाङ्झाउस्थित जुजियाङ नयाँ सहरको लिटल पापा रेस्टुरेन्टमा नेपाली युवाहरूको संस्थाको आयोजनामा चीनमा रहेका नेपाली समुदाय, सामाजिक संघ-संस्था नेपाली युवाहरुको संस्था अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) चाइनाले श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत भरत खनाल रहेका थिए ।  कार्यक्रममा नेपाली महावाणिज्य दूतावास ग्वाङ्झाउका पदाधिकारी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनका अध्यक्ष मुकुन्द ढकाल, नेपाली युवाहरूको संस्थाका अध्यक्ष दिल बहादुर कठायत, महासचिव दुर्गाप्रसाद अम्गाईलगायत नेपाली समुदायका अगुवा तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सञ्चालन नेपाली युवाहरूको संस्थाका महासचिव दुर्गा प्रसाद अम्गाईले गरेका थिए । उनले उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति सम्मान, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरे ।  कार्यक्रमको सुरुवातमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।  त्यसपछि प्रमुख अतिथि, विशिष्ट अतिथि तथा आयोजक संस्थाका प्रतिनिधिहरूले दीप प्रज्वलन गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा बोल्दै महावाणिज्यदूत भरत खनाल तथा अन्य वक्ताहरूले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे ।   उनीहरूले विपत्तिको समयमा नेपाली समुदायबीच आपसी एकता, सहयोग र मानवीय भावना अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । नेपाली युवाहरूको संस्थाका अध्यक्ष दिल बहादुर कठायतले दुःखको समयमा नेपाली समुदाय एकजुट भएर पीडित परिवारको साथमा उभिनुपर्ने बताए ।  उनले सामाजिक उत्तरदायित्व, सहकार्य र मानवीय सहयोगको महत्वमाथि प्रकाश पारे । त्यसैगरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनका अध्यक्ष मुकुन्द ढकालले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे ।  उनले विपत्तिका समयमा समुदायबीच सहकार्य र सहयोगको भावना अझ बलियो बनाउनुपर्ने बताए । कार्यक्रम सञ्चालन गर्दै महासचिव दुर्गा प्रसाद अम्गाईले दुःखको समयमा एकआपसमा साथ दिनुपर्ने भावनालाई जोड दिँदै भने, ’आजको यो दीप प्रज्वलन केवल श्रद्धाञ्जलीको कार्यक्रम मात्र होइन, यो दुःखमा रहेका परिवारहरूप्रति हाम्रो साथ, सहानुभूति, एकता र मानवताको प्रतीक हो । ’ कार्यक्रममा सहभागी सबैले भोटेकोशी बाढीमा ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य, शक्ति र साहस प्राप्त होस् भनी प्रार्थना गरेका थिए । कार्यक्रम आयोजक नेपाली युवाहरूको संस्था रहेको थियो । संस्थाका अध्यक्ष दिल बहादुर कठायत र महासचिव दुर्गा प्रसाद अम्गाईको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो । 

कोरला नाका हुँदै नेपाल भित्रिँदै लिपमोटर बी १०, डेलिभरी छिट्टै हुने

काठमाडौं । नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी १०को आपूर्ति तथा ढुवानी प्रणालीमा परिमार्जन गरेको छ । सामान्यतया चीनबाट रसुवागढी नाका हुँदै गाडीहरू आयात गरिने भए तापनि, हालै रसुवा क्षेत्रमा आएको बाढीका कारण उक्त मार्गमा अस्थायी अवरोध सिर्जना भएको छ ।  सम्भावित ढिलाइलाई रोक्दै ग्राहकहरूलाई तोकिएकै समयमा गाडी उपलब्ध गराउन सांग्रिला मोटर्सले लिपमोटर बी १० गाडीहरू मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्र्याउन सुरु गरेको छ । यससँगै ग्राहकहरूलाई गाडी डेलिभरी गर्ने कार्य छिट्टै सुरु हुनेछ । नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा लिपमोटर द्यज्ञण् ले पाएको उत्साहजनक प्रतिक्रिया तथा अत्यधिक बुकिङलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो ।  ग्राहकहरूको यही उच्च मागलाई छिटोभन्दा छिटो पूरा गर्न सांग्रिला मोटर्सले कोरला नाकाबाट हुने ढुवानी तथा भन्सार जाँचपासको प्रक्रियालाई तीव्र बनाएको छ, जसले गर्दा देशभरका खरिदकर्ताहरूले सहज र द्रुत रूपमा गाडी प्राप्त गर्न सक्नेछन् । बजेट भाषणपछि लिपमोटर बी १० को मूल्य घटेसँगै यो ईभी पारखीहरूमाझ थप लोकप्रिय बनेको छ । ५४.९९ लाख रुपैयाँ मूल्य तोकिएको बी १० मा १६० किलोवाटको शक्तिशाली रियर ह्विल ड्राइभ मोटर र ६७.१ किलोवाट आवर्स क्षमताको ब्याट्री रहेको छ, जसले एकपटकको पूर्ण चार्जमा ६०० किलोमिटर सम्मको उत्कृष्ट रेन्ज प्रदान गर्दछ ।  आरामदायी र व्यावहारिक प्रयोगका लागि निर्मित यस गाडीमा १८० मिमीको ग्राउण्ड क्लियरेन्स रहेको छ । साथै, १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी, रेकर्डिङ सुविधासहितको ३६०-डिग्री क्यामेरा, हिटर र भेन्टिलेसन सुविधासहितको प्रिमियम लेदरेट सिट, र यस सेगमेन्टमै सनसेडसहितको सबैभन्दा ठूलो प्यानोरामिक सनरूफ जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन् ।   

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्री बालेनले भने- चाँडै सुरक्षित बसोबासको व्यवस्था गर्छौं

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि चाँडै नै सुरक्षित बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत बाढी प्रभावित बालबालिकालाई ‘हाम्रा प्यारा नानी–बाबुहरू’ भनेर सम्बोधन गर्दै उनले सरकार उनीहरूको सुरक्षित भविष्यका लागि निरन्तर खटिरहेको बताएका हुन् ।  प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा बसिरहेका बालबालिकाको बसाइ सहज नरहेको स्वीकार गर्दै प्रधानमन्त्री शाहले उनीहरूलाई पुनः आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिने वाचा गरेका छन् ।  बालबालिकालाई भोलिका उज्याला झुल्काको संज्ञा दिँदै उनले विपत्तिको यस घडीमा सरकारको उद्धार र राहत प्रयासमा सबैको साथ मिल्ने विश्वास व्यक्त गरे ।  यस्तो छ प्रधानमन्त्री बालेनको स्टाटस्: हाम्रा प्यारा नानी-बाबुहरू, आज श्रीकृष्ण जन्माष्टमी। स-साना नानी-बाबुहरू राधा-कृष्णको रूपमा सिँगारिएर मखन खाने र रमाउने दिन हो। हातमा बाँसुरी लिएर नानी-बाबुहरू रमाइरहनुभएका तस्बीरहरू सामाजिक सञ्जालमा साझा भइरहेका होलान्। तर, यसपालिको यो उत्सवमा रसुवा-भोटेकोशी बाढी प्रभावित क्षेत्रका नानी-बाबुहरू त्यसरी खुशी हुन सक्नुभएन। उहाँहरू गहिरो पीडामा हुनुहुन्छ। कतिपयले यो पीडा व्यक्त गरिरहनुभएको छ भने कतिपय स्तब्ध हुनुहुन्छ। अचानक के-के भयो, कतिले त सोच्न समेत भ्याउनुभएको छैन होला। उहाँहरूका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेका होलान्। कतिपय बाबु-नानीहरूले विपद्को १० औं दिनसम्म आइपुग्दा हाम्रो प्यारो देश नेपालले अहिले ठूलो विपद् भोग्नुपरेको छ भन्ने थाहा पाइसक्नुभएको होला।  साँच्चै, आज देश दुःखी भएको छ। कति साथीहरू छुटिनुभयो। कति घर र बस्तीहरू खण्डहर बनेका छन्। खेल्ने-कुद्ने चौरहरू पुरिएका छन्। यहाँहरूको आफ्नै ठाउँ आज बिरानो जस्तै बनेको होला। प्यारा नानी-बाबुहरू, बाढी गएलगत्तै हामीले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू र वृद्धवृद्धासँगै यहाँहरूलाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएका थियौँ। अहिले पनि त्यो क्रम जारी छ।  हामीले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेका होल्डिङ सेन्टरमा यहाँहरू बसिरहनुभएको छ। हामीलाई थाहा छ- यहाँहरूका लागि यो बसाइ सहज छैन। तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ। यहाँहरू त भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ। यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौं। जतिसक्छौं हामी खटिरहेका छौं। त्यसमा यहाँहरूको पनि साथ मिल्ने नै छ। विपद् फेरि पनि आउला। जलवायु परिवर्तनको ठूलो असर हाम्रो हिमालय क्षेत्रमा परिसकेको छ। हामीमाथि परेको विपद्को यो बज्रपातबारे सारा संसारले थाहा पाइसकेको होला। तर पनि हामीले भोग्न थालेको पीडा र विपद् जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनुपर्छ र उनीहरूलाई पनि यस्ता जोखिम घटाउन जिम्मेवार बनाउनुपर्छ। हामी हिमाली देशका बासिन्दा हौं। त्यसैले सधैँ सजग रहनुपर्छ। प्रभावित क्षेत्रका नानी-बाबुहरूले प्रत्यक्ष विपद् भोग्नुभयो। अन्य क्षेत्रका नानी-बाबुहरू पनि उत्तिकै सतर्क रहनुहोला। यहाँहरूले आफ्नो सुनौलो भोलिका लागि आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्नुपर्छ।  पूर्वतयारीका लागि यी कुरामा ध्यान दिनुहोलाः १. विपद् झोलाः आफ्नो घरमा सजिलै सबैले भेट्न सक्ने ठाउँमा एउटा ‘विपद् झोला’ राख्न सुरु गर्नुहोस्। यस्तो झोलामा विपद्का बेला अति आवश्यक पर्ने हलुका र साना वस्तुहरू (जस्तैः घाउचोट बाँध्ने पट्टी, आवश्यक औषधि, पानी, सुक्खा खानेकुरा, केही नगद पैसा आदि) राख्नुहोला। २. ससानो बचतः भोलि आउन सक्ने विपद्का लागि आजैदेखि बचत गर्न सिक्नुहोस्। दैनिकरुपमा १ रुपैयाँ मात्र जम्मा ग¥यौँ भने पनि नेपालभरि एक वर्षमा कति रकम जम्मा होला? यहाँहरु नै आफै हिसाब गर्नुहोस् त?  ३. अध्ययन र छलफलः जलवायु परिवर्तन भनेको के हो र यसले हामीलाई के असर पारिरहेका छ भन्नेबारे अध्ययन सुरु गर्नुहोस्। एकआपसमा यस्ता विषयमा छलफल गर्नुहोस् र जनचेतना फैलाउने काममा अगाडि बढ्नुहोस्। यी त केही सुरुआती कामहरू भए, जुन यहाँहरू आफैँले गर्न सक्नुहुन्छ। प्यारा नानी-बाबुहरू, केही बेर अघिसम्म विपद्मा पर्नुभएका १३ हजार ९५ जना आमा-बाबु, दाजु-भाइ,  दिदी-बहिनीहरूको उद्धार भइसकेको छ।  यो उद्धारमा आफ्नो ज्यानको परबाह नगरी अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायत अन्य विज्ञ टोलीलाई हामी सबैले हृदयदेखि नै धन्यवाद भन्नुपर्छ।  यस विपद्को समयमा विदेशमा बस्नुहुने नेपालीहरू, मित्र राष्ट्रहरू र विकास साझेदार संस्थाहरूले पनि ठूलो सहयोग गर्नुभएको छ। उहाँहरूप्रति पनि हामी कृतज्ञ रहनुपर्छ।  विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ। श्रीकृष्णले पनि भन्नुभएको छ- संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने होइन। धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ। हामी रोकिदैनौं। आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ। धेरै माया...

लाङटाङ हाइड्रोको सुरुङमा दुई जनाको शव फेला

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा जारी खोज तथा उद्धारका क्रममा लाङटाङ जलविद्युत् आयोजनाको सुरुङभित्र दुई जनाको शव फेला परेको छ । नेपाली सेना र गैरसैनिक टोलीको संयुक्त प्रयासमा टनेलभित्र प्रवेश गरी शव निकालिएको हो । सेनाका ७ र गैरसैनिक ६ वटा हेलिकप्टरमार्फत प्रभावित क्षेत्रहरूबाट ५८ जनाको उद्धार गरिसकिएको छ । यस्तै, त्रिशूली-३ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले जीवितै उद्धार गरी उपचारका लागि काठमाडौंस्थित वीरेन्द्र अस्पताल छाउनी पठाएको छ । सोही स्थानबाट थप एक शव समेत बरामद भएको छ । अन्य आयोजनाहरूमा पनि उद्धार कार्यलाई उत्तिकै तीव्रता दिइएको छ । त्रिशूली-३बी आयोजनाको कार्यालय र निवास क्षेत्रमा १५ फिट गहिरो खाडल खनेर खोजी जारी राखिएको छ भने ३ए सँग सम्पर्क जोड्न ७०० मिटर बाटो खुलाइएको छ ।  चिलिमे हाइड्रोमा जेनेरेटर र मड पम्पको सहायताले लेदो फाल्दै टोली १०० मिटर भित्रसम्म पुगेको छ भने माथिल्लो त्रिशुली १ को हाकुस्थित टनेलमा र्‍याफ्ट, बोट र पम्पको प्रयोग गरी पानी फाल्ने र खोजी गर्ने काम भइरहेको छ । उद्धारका साथै यातायात र स्वास्थ्य सेवा सहज बनाउन विशेष टोली परिचालन गरिएको छ । देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिज जडान गरी पुल निर्माण गर्न सेनाको इन्जिनियरिङ्ग टोली खटिएको छ ।  प्रभावित क्षेत्रका जङ्गल, डाँडा र बस्तीहरूमा सुरक्षा प्रत्याभूति दिलाउन डाक्टरसहितको टोलीले पैदल गस्ती गर्दै स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म सेनाका ९ हजार ३ सय भन्दा बढी जनशक्ति उद्धार, शव व्यवस्थापन, सडक सफाइ र आपत्कालीन उपचारमा प्रत्यक्ष रूपमा खटिएका छन् । 

रसुवा बाढी अपडेटः मृतकको संख्या १,२९४ पुग्यो, ५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी तथा त्यसबाट सिर्जित विपद्को पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ ।  २०८३ भदौ १९ गते साँझ ६ः३० बजेसम्मको अद्यावधिक विवरणअनुसार, बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या १,२९४ पुगेको छ ।  प्राधिकरणका अनुसार बाढीका कारण सबैभन्दा बढी मानवीय क्षति चितवनमा भएको छ, जहाँ ३५९ जनाको शव फेला परेको छ ।  अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७३, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भई आफन्तले बुझिलिएका छन् ।  विपद्मा परेकाहरूको खोज र उद्धारका लागि सरकारले २१,४२१ सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाली सेनाका ९,२८७, नेपाल प्रहरीका ७,९३१ र सशस्त्र प्रहरी बलका ४,२०३ जना सहभागी छन् ।  हालसम्म कुल १३,०९५ जनाको जीवितै उद्धार गरिएको छ । शुक्रवार मात्रै त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनालाई जीवितै उद्धार गरिएको छ । प्राधिकरणको विवरणअनुसार अझै ५,०५३ जना सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा रसुवाका २,१३० जना, नुवाकोटका २,३४० जना र ५८३ जना विदेशी नागरिक रहेका छन् ।  नेपाली सेनाले हालसम्म ८८१ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याएका छन् ।  बाढीबाट घाइते भएका ५,६६३ जनाको उपचार गरिएको छ । जसमध्ये ३,२६६ जनाको नेपाली सेना, २,०८३ जनाको सशस्त्र प्रहरी र ३१४ जनाको विभिन्न अस्पतालहरूमा उपचार गरिएको छ । रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४,६२७ जनाले आश्रय लिइरहेका छन् ।  राहत सामग्री ढुवानीका लागि काठमाडौंबाट ७७ ट्रक र ३८ बोलेरो परिचालन गरिएको छ भने दुर्गम क्षेत्रमा ९ वटा हेलिकप्टर उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ ।  सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १७३ पटक हवाई उडानमार्फत राहत सामग्री पुर्‍याएको छ । सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । साथै, अति प्रभावित १५ वटा पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रारम्भिक विवरणअनुसार ७,५७० वटा निजी घरमा क्षति पुगेको छ । सरकारी संरचनातर्फ ४८ वटा भवन (३५ पूर्ण र १३ आंशिक क्षति), १८ वटा विद्यालय र ७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।  यातायात पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । बाढीबाट कुल ३२,९६३ जनसंख्या प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित

काठमाडौं । भदौ १० गतेको भोटेकोशी बाढीबाट देशभर ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक आँकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘शिघ्र प्रारम्भिक क्षति तथा आवश्यकता आँकलन’ प्रतिवेदनले यस्तो तथ्याङ्क देखाएको हो ।  प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार क्षतिग्रस्त घरधुरीका आधारमा ३२ हजार ९३३ नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । सार्वजनिक गरिएको यो विवरण प्रारम्भिक प्रतिवेदन मात्र भएको र विस्तृत क्षति आकलन आउन बाँकी रहेको प्राधिकरणले स्पष्ट पारेको छ ।  बाढीका कारण सरकारी तथा सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुगेको छ । प्रतिवेदनअनुसार ४८ वटा सरकारी संरचनामा क्षति पुगेको छ, जसमध्ये ३५ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १३ वटामा आंशिक क्षति पुगेको छ ।  त्यसैगरी, शिक्षा क्षेत्रतर्फ १८ वटा विद्यालयमा क्षति पुगेको छ, जसमा ११ वटा पूर्ण र ७ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । स्वास्थ्य क्षेत्रका ७ वटा संस्थाहरूमा क्षति पुगेको छ, जसमा ४ वटा पूर्ण र ३ वटा आंशिक छन् । भौतिक पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यस्तै, ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्रवक्ता महतले जानकारी दिए ।  कृषि क्षेत्रमा १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा बाढीले क्षति पुर्‍याएको अनुमान गरिएको छ । यसबाट ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने आँकलन गरिएको छ । प्रभावित पाँचवटै जिल्लामा पशु तथा कुखुरा पालन व्यवसायमा समेत ठूलो असर परेको छ ।   ऊर्जा र वित्तीय क्षेत्रमा पनि बाढीको गम्भीर प्रभाव देखिएको छ । बाढीका कारण ७८३ मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ । यसअन्तर्गत १३ वटा जलविद्युत आयोजना, एउटा सोलार प्लान्ट र दुईवटा प्रशारण लाइनमा क्षति पुगेको छ ।  यस्तै, प्रभावित क्षेत्रका १७ वटा बैंकका शाखाहरूमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बर्जर पेन्ट्स नेपालको ५० लाख सहयोग

काठमाडौं । विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिने प्रतिबद्धता व्यक्त गर्दै बर्जर पेन्ट्स नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा हस्तान्तरण गरेको जनाएको छ ।  विपद्का कारण प्रभावित समुदायलाई आवश्यक राहत तथा पुनःस्थापनामा केही योगदान पुर्‍याउने विश्वास कम्पनीले व्यक्त गरेको छ । २५ वर्षदेखि नेपाली बजारमा विश्वास र गुणस्तरको पर्यायका रूपमा स्थापित बर्जर पेन्ट्स नेपालले कठिन परिस्थितिबाट देशलाई छिट्टै उठाउन सबै पक्षको साझा प्रयास र सहयोग आवश्यक रहेको जनाएको छ । कम्पनीले समृद्ध नेपाल निर्माणको यात्रामा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राख्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।