भोटेकोशी बाढी अपडेट : १२ सय ९३ को शव फेला

काठमाडौं ।  भोटेकोशीको बाढी बगाउँदा हालसम्म १ हजार २ सय ९३ जनाको शव फेला परेको छ । रसुवामा १ सय ४० जना, नुवाकोटमा १ सय ८६ जना, धादिङमा ६५ जना, चितवनमा ३ सय ५९ जना, गोरखामा ७२ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २१ जना र नवलपरासी पश्चिम १ सय ९४ जना र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको)  १८ गरी १ हजार २ सय ९३ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।  

साथै घाइते भएका मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । जसमध्ये १ जनाको टिचिङ अस्पताल र १ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । 

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म २ सय २२ महिला, ३ सय ५५ पुरूष र ४ सय ५३ नखुलेको गरी जम्मा १ हजार ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको ) गरिएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार २ सय ६० र आफन्तका ८ सय ४६ गरी कुल २ हजार १ सय ६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

साथै पहिचान नभएको १ हजार २ सय ६३ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।  बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।

हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ९८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ६ सय ५५ जना व्यक्तिहरूलाई राखिएको छ । 

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटोअवरोध हटाउने कार्य समेत गरिरहेको छ । 
 

Share News