विकासन्युज

भोटेकोशी बाढी अपडेट : १२ सय ९३ को शव फेला

काठमाडौं ।  भोटेकोशीको बाढी बगाउँदा हालसम्म १ हजार २ सय ९३ जनाको शव फेला परेको छ । रसुवामा १ सय ४० जना, नुवाकोटमा १ सय ८६ जना, धादिङमा ६५ जना, चितवनमा ३ सय ५९ जना, गोरखामा ७२ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २१ जना र नवलपरासी पश्‍चिम १ सय ९४ जना र भारतमा भेटिएको (नवलपरासी पश्‍चिममा बुझाएको)  १८ गरी १ हजार २ सय ९३ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।   साथै घाइते भएका मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । जसमध्ये १ जनाको टिचिङ अस्पताल र १ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।  फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म २ सय २२ महिला, ३ सय ५५ पुरूष र ४ सय ५३ नखुलेको गरी जम्मा १ हजार ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको ) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ६० र आफन्तका ८ सय ४६ गरी कुल २ हजार १ सय ६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार २ सय ६३ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।  बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ९८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ६ सय ५५ जना व्यक्तिहरूलाई राखिएको छ ।  प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटोअवरोध हटाउने कार्य समेत गरिरहेको छ ।   

बाढी पुनर्निर्माण र राहतका लागि सरकारले गर्‍यो ६ वटा विषयगत कार्यदल गठन

काठमाडौं । बाढीबाट क्षतिग्रस्त संरचनाहरूको तत्काल राहत, पुनःस्थापना तथा पुनर्निर्माणको कामलाई तीब्रता दिन सरकारले विभिन्न ६ वटा विषयगत कार्यदल गठन गरेको छ ।  पूर्वाधार विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार गठन गरिएका यी कार्यदलहरूलाई क्षतिको प्राविधिक मूल्यांकनदेखि पुनःस्थापना र पुनर्निर्माणको कार्ययोजना तयार पार्नेसम्मका जिम्मेवारी सुम्पिएको छ । मन्त्रालयले सडक पूर्वाधार पुनःस्थापनाका लागि मन्त्रीका सल्लाहकार सन्तोष पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको छ भने पुल तथा बेलीब्रिज निर्माण र पुनःस्थापना कार्यदलको संयोजकमा मन्त्रीकै सल्लाहकार धर्मेन्द्र झा तोकिएका छन् ।  यसैगरी, खानेपानी तथा वास व्यवस्थापन कार्यदलको संयोजकमा सञ्जिव विक्रम राणा, पुनस्थापना तथा आश्रयस्थल व्यवस्थापन कार्यदलको संयोजकमा सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्याल र झोलुङ्गे पुल तथा स्थानीय सम्पर्क मार्ग पुनःस्थापना कार्यदलको संयोजकमा आयोजना निर्देशक शंकर बुढाथोकीलाई जिम्मेवारी दिइएको छ ।  बाढी, पहिरो तथा नदीजन्य हिलो र फोहोर सफाइका लागि आयोजना निर्देशक इफर सिंह विश्वकर्माको संयोजकत्वमा ’डेभ्रिज क्लिनिंग टास्क फोर्स’ समेत निर्माण गरिएको छ । गठन गरिएका प्रत्येक कार्यदललाई सम्बन्धित क्षेत्रको अवस्था अध्ययन गरी तत्काल सञ्चालन गर्नुपर्ने काम पहिचान गर्ने, स्रोत-साधनको आवश्यकता निर्धारण गर्ने र नियमित प्रतिवेदन पेस गर्ने निर्देशन दिइएको छ ।  कार्यदलहरूले बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, विस्थापित परिवारका लागि आश्रयस्थल, झोलुङ्गे पुल, ट्रेल तथा नदीमा थुप्रिएको हिलो र फोहोर हटाउने कार्यमा समन्वय गर्नेछन् । मन्त्रालयले दोहोरो लगानी तथा स्रोतको दुरुपयोग रोक्न एकीकृत योजना र सूचना प्रणाली प्रयोग गर्न निर्देशन दिएको छ । संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदारबीच समन्वय गर्दै नीतिगत र कानुनी निर्णयका लागि सिफारिस गर्ने अधिकारसमेत कार्यदललाई दिइएको छ ।  यसरी सरकारले विभिन्न विषयगत कार्यदलहरूको परिचालनमार्फत विपद् प्रभावित क्षेत्रमा तत्कालीन राहत, अवरोध हटाउने कार्य र दीर्घकालीन पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाउने लक्ष्य राखेको छ ।

मृतक प्रहरीका परिवारले साढे २० लाख पाउँने, ऋण पनि मिनाहा

काठमाडौं । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएका मृतकका परिवारले २० लाख ४० हजार रुपैयाँ पाउने भएका छन् । नेपाल प्रहरीका अनुसार मृतक प्रहरीका परिवारले  कल्याण कोषबाट ३ लाख, कल्याण कोषबाट ४० हजार (क्रिया खर्च), राष्ट्रिय वाणिज्य बैंकबाट बिमा ५ लाख, राष्ट्रिय बिमा संस्थान २ लाख र प्रहरी संगठनबाट राहत रु १० लाख रुपैयाँ पाउने भएका हुन्।  त्यसैगरी, रसुवाको बाढीमा परेर ज्यान गुमाएका प्रहरीको नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष ऋण मिनाहा हुने भएको छ । मृतक प्रहरीको परिवारलाई संगठनबाट जनही १० लाख रूपैयाँ दिने निर्णय भएको नेपाल प्रहरीले जनाएको छ ।  नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार मृतक परिवारको सदस्यबाट इच्छुकलाई सीपमूलक तालिम र रोजगारी उपलब्ध गराइनेछ ।  मृतक प्रहरीका सन्तानलाई प्रहरी स्कुलमा शैक्षिक शुल्क मिनाहा गरेर अध्ययनको व्यवस्था मिलाउने भएको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले ऋण मिनाहादेखि मृतकको परिवारलाई १० रूपैयाँ दिने निर्णय गरेको छ ।

अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सुरु, भदौभित्रै यातायात सुचारु गर्ने तयारी

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक खुलाउन शुक्रबार बिहानदेखि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको छ ।  निर्माण कम्पनी शर्मा जेभीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी ट्र्याक खोल्न थालिएको हो भने माथिल्लो भागमा मजदुरहरूले ग्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेका छन् ।  सडकभन्दा करिब ९ मिटर अग्लो पहिलो डाँडा काटेर बनाइने यो ट्र्याक ३५० मिटर लामो र ७ मिटर चौडाइको हुनेछ । यसअघि सञ्चालनमा रहेको २०० मिटर लम्बाइ र १० मिटर फराकिलो सडक त्रिशूली नदीले फेदको संरचना बगाएपछि गत भदौ १४ गते भासिएको थियो, जसका कारण राजधानीसँगको मुख्य सडक सञ्जाल अवरुद्ध बन्न पुगेको छ ।  दुई दिनसम्म रुख, बाँस काट्ने, झाडी फाँड्ने र ग्याविन भत्काउने तयारीको काम सकेपछि अब तीव्र गतिमा काम अघि बढाइएको नौबिसे-मुग्लिन सडक आयोजनाका इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिएका छन् ।  सडकको दुवैतर्फ कडा चट्टान रहे पनि भीरको बीच भागको ६० देखि ७० मिटर क्षेत्र केही कमजोर रहेकोले त्यहाँ विशेष सावधानी अपनाइएको छ ।  सरकारले यथासक्य छिटो यातायात सञ्चालन गर्न निर्देशन दिएसँगै भदौ महिनाभित्रै कृष्णभीरमा नयाँ ट्र्याक सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको छ ।

भोटेकोशी बाढीपीडितलाई सुरक्षित ठाउँमा बसोबास गराउन सरकारको तयारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका बलागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन् ।उपसचिव दामोदर वाग्ले सदस्य–सचिव पनि रहेका छन् । मन्त्रालयका अनुसार समितिलाई बाढीका कारण घरजग्गामा क्षति भई विस्थापित भएका, सोही स्थानमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिइएको छ । समितिले बाढीपीडित परिवारको पहिचानदेखि पुनःस्थापनाका लागि आवश्यक जग्गाको छनोट, स्थलगत अध्ययन, प्रारम्भिक विपद् जोखिम मूल्याङ्कन तथा अस्थायी बसोबासका लागि आवश्यक कानुनी प्रक्रियासम्मका विषय समेटेर स्पष्ट सुझाव तथा सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ । समितिले सम्बन्धित स्थानीय तहको समन्वयमा बाढीपीडित परिवारको वास्तविक विवरण संकलन तथा पहिचान गर्नेछ। पुनःस्थापनाका लागि आवश्यक पर्ने जग्गा सम्बन्धित स्थानीय तह, जिल्लास्थित भूमि प्रशासन कार्यालय र नापी कार्यालयको सहयोगमा पहिचान गरिनेछ । पहिचान भएका जग्गाको स्थलगत अध्ययन गरी सम्बन्धित विषयविज्ञको सहयोगमा प्रारम्भिक विपद् जोखिम मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ । समितिले जग्गाको भौगोलिक अवस्था, बाढी तथा पहिरोको जोखिम, बसोबासका लागि उपयुक्तता र आवश्यक पूर्वाधारलगायतका विषयको अध्ययन पनि गर्नेछ ।

पोखरा फाइनान्सको केन्द्रीय कार्यालय कमलादी सर्दै

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आफ्नो केन्द्रीय (कर्पोरेट) कार्यालय कमलादीमा सर्ने भएको छ । फाइनान्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी दिँदै भदौ २२ गतेदेखि नयाँ कार्यालयबाट सबै सेवा सञ्चालन हुने जनाएको हो । हाल पुतलीसडकस्थित रहेको केन्द्रीय कार्यालय अब काठमाडौं महानगरपालिका–२८, कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको भवनमा सञ्चालन हुनेछ । फाइनान्सले भदौ २२ गतेदेखि आफ्नो सम्पूर्ण कामकाज नयाँ ठेगानाबाट हुने जानकारी दिएको छ ।

५० हजार घुससहित नेपाल विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका इन्जिनियर कृष्ण नारायण यादव लाई ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारका अनुसार सुनसरीको इटहरी वितरण केन्द्रमा कार्यरत सातौं तहका इन्जिनियर यादवले एक गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत लाइन जडान गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । उजुरीपछि अख्तियार इटहरीको टोलीले उनलाई इटहरी उपमहानगरपालिका–९ बाट सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ गर्दा उनीसँग घुसको ५० हजार रुपैयाँसँगै स्रोत नखुलेको थप १२ हजार ८५ रुपैयाँ पनि फेला परेको अख्तियारले जनाएको छ । अख्तियारले भदौ १८ गते विशेष अदालतबाट म्याद थप गरेर घुस तथा भ्रष्टाचार सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सका दुई सञ्चालक पदबाट बाहिरिए

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका दुई जना सञ्चालक पदबाट बाहिरिएका छन् । कम्पनीका संस्थापक सेयरधनी समूहका तर्फबाट सञ्चालक रहेका कुशल मल्लीले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा स्वीकृत भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उनले भदौ १५ गते राजीनामा दिएका थिए । उक्त राजीनामा भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट सञ्चालक रहेका सरस्वती अधिकारी पनि कम्पनीको सञ्चालक पदबाट बाहिरिएकी छन् । राष्ट्रिय वाणिज्य बैंकबाट प्राप्त पत्रअनुसार उनी असार ३१ गतेदेखि बैंक सेवाबाट अनिवार्य अवकाशमा गएकाले कम्पनीको सञ्चालक पदमा नरहेको जानकारी नेप्सेलाई दिइएको कम्पनीले जनाएको छ ।