बाढी पुनर्निर्माण र राहतका लागि सरकारले गर्‍यो ६ वटा विषयगत कार्यदल गठन

काठमाडौं । बाढीबाट क्षतिग्रस्त संरचनाहरूको तत्काल राहत, पुनःस्थापना तथा पुनर्निर्माणको कामलाई तीब्रता दिन सरकारले विभिन्न ६ वटा विषयगत कार्यदल गठन गरेको छ । 

पूर्वाधार विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार गठन गरिएका यी कार्यदलहरूलाई क्षतिको प्राविधिक मूल्यांकनदेखि पुनःस्थापना र पुनर्निर्माणको कार्ययोजना तयार पार्नेसम्मका जिम्मेवारी सुम्पिएको छ ।

मन्त्रालयले सडक पूर्वाधार पुनःस्थापनाका लागि मन्त्रीका सल्लाहकार सन्तोष पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको छ भने पुल तथा बेलीब्रिज निर्माण र पुनःस्थापना कार्यदलको संयोजकमा मन्त्रीकै सल्लाहकार धर्मेन्द्र झा तोकिएका छन् । 

यसैगरी, खानेपानी तथा वास व्यवस्थापन कार्यदलको संयोजकमा सञ्जिव विक्रम राणा, पुनस्थापना तथा आश्रयस्थल व्यवस्थापन कार्यदलको संयोजकमा सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्याल र झोलुङ्गे पुल तथा स्थानीय सम्पर्क मार्ग पुनःस्थापना कार्यदलको संयोजकमा आयोजना निर्देशक शंकर बुढाथोकीलाई जिम्मेवारी दिइएको छ । 

बाढी, पहिरो तथा नदीजन्य हिलो र फोहोर सफाइका लागि आयोजना निर्देशक इफर सिंह विश्वकर्माको संयोजकत्वमा ’डेभ्रिज क्लिनिंग टास्क फोर्स’ समेत निर्माण गरिएको छ ।

गठन गरिएका प्रत्येक कार्यदललाई सम्बन्धित क्षेत्रको अवस्था अध्ययन गरी तत्काल सञ्चालन गर्नुपर्ने काम पहिचान गर्ने, स्रोत-साधनको आवश्यकता निर्धारण गर्ने र नियमित प्रतिवेदन पेस गर्ने निर्देशन दिइएको छ । 

कार्यदलहरूले बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, विस्थापित परिवारका लागि आश्रयस्थल, झोलुङ्गे पुल, ट्रेल तथा नदीमा थुप्रिएको हिलो र फोहोर हटाउने कार्यमा समन्वय गर्नेछन् ।

मन्त्रालयले दोहोरो लगानी तथा स्रोतको दुरुपयोग रोक्न एकीकृत योजना र सूचना प्रणाली प्रयोग गर्न निर्देशन दिएको छ । संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदारबीच समन्वय गर्दै नीतिगत र कानुनी निर्णयका लागि सिफारिस गर्ने अधिकारसमेत कार्यदललाई दिइएको छ । 

यसरी सरकारले विभिन्न विषयगत कार्यदलहरूको परिचालनमार्फत विपद् प्रभावित क्षेत्रमा तत्कालीन राहत, अवरोध हटाउने कार्य र दीर्घकालीन पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाउने लक्ष्य राखेको छ ।

Share News