बालबालिकालाई राहत दिइरहेको फोटो सामाजिक सञ्जालमा नराख्नूः नेपाल प्रहरी

काठमाडौं । बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्बिर, भिडियो तथा व्यक्तिगत विवरणहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीले आग्रह गरेको छ । सञ्चारमाध्यममा बालबालिकाको तस्विर सार्वजनिक भइरहेको विषयमा नेपाल प्रहरीले आपत्ति जनाएको छ ।

प्रहरीले विपद्, दुर्घटना वा हिंसाबाट प्रभावित बालबालिकासम्बन्धी सामग्री सार्वजनिक गर्दा उनीहरूको गोपनीयता, आत्मसम्मान र मानसिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पर्न सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रहरीले पीडित वा प्रभावित बालबालिकाको नाम, ठेगाना, विद्यालय, परिवारको विवरण, अनुहार तथा पहिचान खुल्ने अन्य विवरण सार्वजनिक नगर्न अनुरोध गरेको छ। आवश्यक अवस्थामा उनीहरूको पहिचान लुकाउनुपर्नेमा पनि जोड दिइएको छ।

त्यस्तै, बालबालिकाको असहाय वा रोइरहेको अवस्था देखाएर सामग्री भाइरल गर्ने, सहानुभूति वा आर्थिक सहयोग जुटाउने उद्देश्यले उनीहरूको आत्मसम्मानमा ठेस पुग्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न प्रहरीले आग्रह गरेको छ।

मानसिक रूपमा प्रभावित बालबालिकासँग पटक–पटक अन्तर्वार्ता लिने, घटना सम्झन बाध्य पार्ने वा उनीहरूको पीडाको पुनः प्रदर्शन हुने किसिमका सामग्री तयार नगर्न पनि आग्रह गरिएको छ।

नेपाल प्रहरीले बालबालिकाको पहिचान खुल्ने तस्बिर, भिडियो वा डिजिटल सामग्रीलाई अनुमति र संवेदनशीलताबिना पुनःप्रसारण, सम्पादन, मीम वा अन्य स्वरूपमा प्रयोग नगर्न आग्रह गरेको छ। 

विपद्का बेला फोटो वा भिडियो खिच्नुभन्दा बालबालिकाको उद्धार, सुरक्षा, उपचार र संरक्षणलाई प्राथमिकता दिनुपर्ने प्रहरीको भनाइ छ। सामाजिक सञ्जालमा प्राप्त सामग्रीको सत्यता र संवेदनशीलता नबुझी शेयर, रिपोस्ट वा फर्वार्ड नगर्न तथा बालबालिकाको हितविपरीत देखिने सामग्रीको थप प्रसार नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।

Share News