मृत्यु हुनेको संख्या १ हजार २८७ पुग्यो, ३ खर्ब ८७ अर्बको आर्थिक क्षति
काठमाडौं । रसुवा बाढीमा परी ज्यान गुमाएका १ हजार २ सय ८७ जनाको शव फेला परेको छ । शुक्रबार मध्यान्हसम्म १ हजार २ सय ८७ जनाको शव फेला परेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी र सोसँग सम्बन्धित विपद्को पछिल्लो वस्तुस्थितिबारे अद्यावधिक गरेको विवरणअनुसार बाढीमा परी निधन भएकाहरूमध्ये चितवनमा सबैभन्दा बढी ३ सय ५९ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी पश्चिममा २ सय १२, नुवाकोटमा १ सय ८४, रसुवामा १ सय ४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत हुन सकेको छ । विपद्का क्रममा हालसम्म ५ हजार ३ सय ९७ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पताल, नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ । उद्धार कार्यलाई तीव्रता दिँदै सुरक्षा निकायले हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पुर्याएको छ । शुक्रबार मात्रै त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ । हालसम्म नेपाली सेनाले ८ सय ३० पटक र निजी क्षेत्रले १ सय २९ पटक हेलिकप्टर उडान गरी उद्धार र राहत कार्यमा सहयोग पुर्याएका छन् । उद्धार गरिएकामध्ये ३ सय ३ जना विदेशी नागरिक रहेका छन् । विपद् व्यवस्थापनका लागि देशभर २१ हजार ४ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय ३१ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । प्राधिकरणका अनुसार हालसम्म ५ हजार ८३ जना सम्पर्कविहीन रहेका छन् । जसमा ५ सय ८३ जना विदेशी नागरिक छन् । सम्पर्कविहीन हुनेहरूमा रसुवाका २ हजार १ सय ३० र नुवाकोटका २ हजार ३ सय ४० जना रहेका छन् । सम्पर्कविहीनको संख्यामा पहिचान नभएका शवहरू समेत समावेश भएको हुनसक्ने प्राधिकरणको अनुमान छ । प्रारम्भिक आकलनअनुसार बाढी र विपद्बाट ७ हजार ५ सय ७० निजी घरमा क्षति पुगेको छ । यस्तै, ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ । यातायात क्षेत्रतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । विपद्बाट भएको कुल आर्थिक क्षति र नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ । प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई प्राथमिकता दिइएको छ । काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री पठाइएको छ भने सशस्त्र प्रहरीले १६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत पुर्याएको छ। सरकारले रसुवा र नुवाकोट जिल्लालाई १÷१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । बाढीका कारण अवरुद्ध भएका सञ्चार सेवाहरू पनि क्रमशः सुचारु हुँदैछन् । नेपाल टेलिकमका १२० मध्ये ११६ र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् । सम्पर्कविहीन विदेशी र उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणको आधिकारिक वेबसाइट र फेसबुक पेजमा उपलब्ध गराइएको छ ।
स्टामफोर्ड कलेज काठमाडौंमा मोबाइल पब्जी प्रतियोगिता हुँदै
काठमाडौं । स्टामफोर्ड कलेज काठमाडौंले मोबाइल पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको नाम ‘स्टामफोर्ड एलिट एरिना’ राखिएको कलेजले जनाएको छ । प्रतियोगिता नयाँ बानेश्वर, शान्तिनगरस्थित स्टामफोर्ड कलेजमा भदौ ३० गते (१५ सेप्टेम्बर) देखि सुरु हुनेछ । प्रतियोगितामा नेपालभरबाट १२० टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टोलीले ३ लाख ६५ हजार रुपैयाँभन्दा बढी नगद पुरस्कार पाउनेछ । प्रतियोगिता एक सातासम्म सञ्चालन हुने कलेजले जनाएको छ । सहभागी हुन चाहने टोलीले भदौ २७ गते (१२ सेप्टेम्बर) सम्म आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ । स्टामफोर्ड कलेज काठमाडौंले बेलायतको युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्ड सँगको सहकार्यमा कम्प्युटिङ साइन्स (बीआईटी) र साइबर सेक्युरिटी विषयमा स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
सुरुङबाट उद्धार गरिएपछि सञ्जय साह भन्छन्: सबैको ज्यान बचाउनु मेरो जिम्मेवारी थियो
काठमाडौं । भोटेकोसी- त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली- ३ ए जलविद्युत् आयोजनाको सुरुङमा थुनिएको दसौँ दिन केही व्यक्तिको उद्धार भएको छ । मेकानिकल फोरम्यान सञ्जय साहले घटनाका दिन ४५ जनासम्म रहेको प्रतिक्रिया दिएका छन् । उद्धारपछि काठमाडौँ ल्याएर अस्पतालमा भर्ना गरिएका साहले संक्षिप्त प्रतिक्रिया दिँदै बाढी आएको दिन सुरुङ भित्र ४०(४५ जना रहेको जानकारी दिएका हुन्। 'म कन्ट्रोल रुममा अपरेटरको काम गर्थेँ। अरू टाइममा ५- ६ जना मात्रै हुन्थ्यौँ। यतिबेला ४०/ ४५ जनै थियौँ,' उनले भने, ‘म कन्ट्रोल रुममा भएपछि सबैको ज्यान बचाउनु मेरो जिम्मेवारी थियो। त्यस्तो दुर्घटना भएपछि म एक्लै भागेर भएन। सबैलाई बचाउनुपर्‍यो। सबैलाई बचाउने क्रममा मैले भनेँ- एक्सिडेन्ट भयो ठुलो ड्याममा। अनि सबैलाई भाग्न भनेँ। त्यसो गर्दाखेरि मेरो टाइम गयो। लास्टमा म निस्किन पाएन।' उनका अनुसार पावर हाउसभित्र धेरै मानिस फसेको हुन सक्छ। 'भाग्न नसकेको होला। टनेल लामो छ। पानीको फोर्सले भित्र लगिसकेको होला,' उनले भने । भदौ १० गते रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि माथिल्लो त्रिशूली- ३ ए जलविद्युत् आयोजनाको सुरुङमै थुनिएका मेकानिकल फोरम्यान साहसहित मेकानिकल सुपरभाइजर कविर महर्जनको पनि उद्धार गरिएको छ। थप कामदारको खोजी भइरहेको छ । गत बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा ठूलो धनजनको क्षति गरेको थियो ।
त्रिशुली ३ ए को सुरुङबाट दुई कर्मचारीको सकुशल उद्धार
काठमाडौं । माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन् । सुरुङबाट सफलतापूर्वक उद्धार गरिएका दुवै जनालाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । उनीहरू आयोजनाको प्राविधिक कार्यमा संलग्न रहेकै अवस्थामा सुरुङमा परेका थिए । दुवैको अवस्था अहिले सामान्य रहेको जानकारी प्राप्त भएको छ । गत भदौ १० गते भोटेकोशी आएको बाढीले माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका थिए । बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । १ हजार २ सय बढीको शव फेला परेको छ भने ४ हजार २ सय बढी बेपत्ता छन् ।
सिद्धार्थ बैंकको २५ लाख कित्ताको डिबेन्चर अवधि सकिँदै
काठमाडौं । सिद्धार्थ बैंकले जारी गरेको ‘१०.२५% एसबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र आगामी भदौ २५ गते परिपक्व (म्याच्योर) हुने भएको छ । बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाउँदै उक्त ऋणपत्रको अवधि सकिन लागेको जानकारी दिएको हो । बैंकले २०७६ भदौ २६ गते ७ वर्ष अवधिको यो ऋणपत्र बाँडफाँट गरेको थियो । प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर कायम गरिएको थियो । उक्त ऋणपत्र २०७६ कात्तिक ५ गते नेप्सेमा सूचीकृत भएको थियो । अब भदौ २५ गतेपछि ऋणपत्र परिपक्व हुने भएकाले सूचीकरण सम्झौताअनुसार आवश्यक प्रक्रिया अघि बढाइदिन बैंकले नेप्सेलाई अनुरोध गरेको छ ।
कर, भन्सार र कर्जामा सहुलियत दिने सरकारी निर्णय सकारात्मक : नाडा
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार र व्यवसायीका लागि सरकारले ल्याएको पुनरुत्थान प्याकेजको स्वागत गरेको छ । नाडाले बिहीबार सरकारले घोषणा गरेको राहत तथा पुनरुत्थान प्याकेज सकारात्मक र आवश्यक कदम भएको जनाएको छ । सरकारको निर्णयले बाढीबाट प्रभावित व्यवसायीलाई राहत पुग्ने विश्वास पनि नाडाले व्यक्त गरेको छ । सरकारले बाढी प्रभावित निजी क्षेत्रका लागि भन्सार र करमा छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था र बीमा दाबी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको छ । नाडाका अनुसार बाढीमा पूर्णरूपमा क्षति भएका वा बगेर हराएका व्यावसायिक सवारीसाधनको दर्ता खारेज गरी नयाँ सवारी आयात गर्दा भन्सार छुट दिने निर्णयले अटोमोबाइल र ढुवानी व्यवसायीलाई ठूलो राहत मिल्नेछ । क्षतिग्रस्त मेसिनरी तथा उपकरण पुनः आयातमा दिइएको सहुलियतले पनि व्यवसाय पुनः सञ्चालन गर्न सहयोग पुग्ने नाडाको भनाइ छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्पछि निजी क्षेत्रलाई पुनः उठाउन कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकैपटक सम्बोधन गर्नु सकारात्मक कदम भएको बताए । यसले प्रभावित व्यवसायीलाई फेरि व्यवसायमा फर्किन आधार तयार गर्ने उनको भनाइ छ । नाडाले सरकारको निर्णय छिटो, सरल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । साथै, वास्तविक क्षतिको अध्ययन गरेर आवश्यक परे दोस्रो चरणको पुनरुत्थान प्याकेज पनि ल्याउन सरकारसँग माग गरेको छ ।
‘मुखले मात्रै भनेर हुँदैन, पर्यटकलाई सुरक्षा सुनिश्चित गर्नुपर्छ’
नेपालको पर्यटन क्षेत्रले हरेक वर्ष कुनै न कुनै प्राकृतिक विपत्तिको सामना गर्दै आएको छ । भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा अकस्मात् आएको बाढीले पनि पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ । पर्यटकीय सिजन सुरु हुनै लागेका बेला आएको यस विपत्तिका कारण पर्यटन क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको छ । बाढीका कारण पर्यटकीय पूर्वाधारमा क्षति पुग्नुका साथै पर्यटकको आवागमन र बुकिङमा समेत प्रत्यक्ष असर परेको छ । यसै विषयमा केन्द्रित रहेर स्वा टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक जिस्वान तुलाधरसँग विकासन्युजकर्मी बबिता तामाङले गरेको कुराकानीको संक्षिप्त अंश । बाढीपछि पर्यटक आगमन र बुकिङमा कति असर परेको छ ? अहिले रसुवामा आएको बाढी होस् वा नेपालमा घट्ने जुनसुकै घटनाले सबैभन्दा धेरै असर गर्ने क्षेत्र भनेको पर्यटन नै हो । बाढीपहिरोलगायत विपद् आउँदा नेपालको आन्तरिक तथा बाह्य पर्यटन दुवैमा असर पर्छ । अहिलेको अवस्थामा वास्तविकता एउटा छ, तर अर्कोतिर सञ्चारमाध्यममा आएका विभिन्न समाचार हेरेर पर्यटकहरूले असुरक्षित महसुस गर्न थाल्नुभएको छ । जसले गर्दा अहिले बुकिङहरू पोस्टपोन हुने क्रममा छन् । बुकिङ गरिसकेका टिकट रद्द नै गर्नेभन्दा पनि केही समय पछाडि सार्ने पर्यटकहरू धेरै हुनुहुन्छ । नेपाल आइसक्नुभएका पर्यटकहरू भने अहिले पनि टुर गरिरहनुभएको छ । तर तुलनात्मक रूपमा यसपटक बाढीले पहिलेभन्दा ठूलो क्षति पुर्याएकाले पर्यटन क्षेत्रमा समस्या परेकै छ । विशेषगरी अहिले कैलाश जाने हाम्रो पिक सिजन हो । कम्तीमा तीन/चार रात बस्ने गरी कैलाश जाने ठूलो संख्यामा पर्यटकहरू हुनुहुन्थ्यो । अहिले त्यसमा शतप्रतिशत नै असर परेको छ । यो सालमात्रै होइन, आउने वर्षहरूमा पनि यसले प्रभाव पार्ने छ । किनभने ठूलो संख्यामा कैलाश जाने पर्यटकहरू हुनुहुन्थ्यो । नेपाल भ्रमणमा आउने कति प्रतिशत जति पर्यटक आगमन प्रभावित भएको अनुमान गर्नुभएको छ ? धामिक पर्यटकका रुपमा ठूलो स्केलमा कैलाश जाने पर्यटकहरू आउनुहुन्थ्यो । नेपाल आएर कैलाश जाने बेस्ट अप्सन नै थियो । विशेषगरी कैलाश जाने मूख्य पर्यटकहरुमा गैरआवासीय नेपाली, भारतीय पर्यटकरु र अन्तर्राष्ट्रिय पर्यटकहरू पर्दछन् । यो धार्मिक भ्रमण रद्द हुँदा नेपाल आउने लगभग ३० प्रतिशत पर्यटक आगमन प्रभावित भएको छ । अहिलेको मुख्य सिजनमै यस्तो घटना भयो । अब अर्को वर्षका लागि पनि पर्यटकहरूले असुरक्षित महसुस गर्ने अवस्था हुन सक्छ । अन्य नियमित टुरमा पनि असर परेको छ । ट्रेकिङ सिजन पनि भर्खर सुरु भएकाले नियमित ट्रेकिङ क्षेत्रहरू प्रभावित भएका छन् । अहिले ट्रेकिङ सिजन भएकाले अब अन्य ट्रेकिङ क्षेत्रमा पनि असर परेको छ । मैले धेरै साथीहरूसँग कुरा गर्दा ५० प्रतिशतभन्दा बढी एडभेन्चर र रिलिजियस टुरिजममा असर परेको जानकारी आएको छ । विशेषगरी मनाङ, मुस्ताङलगायत क्षेत्रमा एडभेन्चर र रिलिजियस टुरिजममा ठूलो प्रभाव परेको छ । अहिलेको यो परिस्थितिमा पर्यटकलाई नेपाल सुरक्षित छ भन्ने सकारात्मक सन्देश दिनु कति आवश्यक छ ? अहिलेको घटनाले अन्तर्राष्ट्रिय बजारमा ‘सिंगो नेपाल नै असुरक्षित’ रहेको नकारात्मक सन्देश प्रवाह भइरहेको छ । तर अहिलेको बाढीबाट मुख्य रूपमा रसुवा, नुवाकोट र धादिङ गरी सीमित क्षेत्र बढी प्रभावित भएका छन् । ती क्षेत्रबाहेक अन्य ठाउँमा नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने काम हाम्रो तर्फबाट भइरहेको छ । सरकारले पनि आफ्नो ठाउँबाट अपिल गरिरहेको छ । सकारात्मक सन्देश जाने गरी सरकारले पहल सुरु गरिसकेको छ । अहिले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै विमानस्थल सञ्चालनमा छन् । नेपाल पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने मुख्य भूमिका सरकार र नेपाल पर्यटन बोर्डकै हो । यसमा सञ्चारमाध्यमको भूमिका पनि महत्त्वपूर्ण रहन्छ । यो परिस्थितिमा पर्यटकलाई नेपाल सुरक्षित छ भन्नु मात्रै पर्याप्त छ ? अहिले हाम्रो मुख्य भूमिका के हुन्छ ? पैसा कमाउने हेतुले मात्रै होइन, देशलाई उठाउन आर्थिक रूपमा पनि हामीलाई पर्यटकको समर्थन आवश्यक छ । तर त्यसका लागि पर्यटकलाई जबरजस्ती नेपाल आउन आग्रह गर्ने कुरा आउँदैन । सरकारले यसका लागि स्पष्ट नीति ल्याउनुपर्छ । अहिले पर्यटकलाई खालि ‘आउनूस्, आउनूस्’ भनेर मात्रै हुँदैन । जोखिमको अवस्था नबुझी पर्यटकलाई बोलाएर फेरि प्रभावित गराउन सक्छौं । त्यसैले सरकारले ठोस योजना बनाउनुपर्छ । आपत्कालीन अवस्थामा ल्यान्डिङ, उद्धार, सुरक्षा तथा अन्य आवश्यक सेवाहरू उपलब्ध छन् भनेर सुनिश्चित गर्नुपर्छ । त्यसको विश्वसनीय सन्देश दिन सक्नुपर्छ । मुखले मात्रै ‘नेपाल आउनूस्’ भनेर हुँदैन जस्तो लाग्छ । पर्यटक नेपाल आएर यहाँ बसेका बेला कुनै घटना भयो र ‘यस्तो भयो’ भनेर सुन्नुपर्ने अवस्था आउनु हुँदैन । त्यो पैसा कमाउनेभन्दा पनि ठूलो कुरा हो । पर्यटनबाट आर्थिक गतिविधि र मोबिलिटी बढाउनुपर्छ, तर पर्यटकलाई सुरक्षा सुनिश्चित गरेर मात्रै ल्याउनुपर्छ । पर्यटन क्षेत्र सामान्य अवस्थामा आउन कति समय लाग्ला ? अब पर्यटन क्षेत्र सामान्य अवस्थामा आउन धेरै समय लाग्छ । नेपाल पर्यटन बोर्ड र सम्बन्धित संघसंस्थाले सरकारसँग समन्वय गरेर पर्यटकलाई सुरक्षाको ठोस सुनिश्चितता नदिएसम्म पर्यटक ल्याउनु पनि बेकार हुन्छ । आफ्नै इच्छाले पर्यटक आउनु फरक कुरा हो, तर अहिले पर्यटकलाई बोलाउनकै लागि मार्केटिङ गर्नु उपयुक्त हुँदैन । यो सानोतिनो विपत्ति होइन । फेरि पनि यस्ता विपत्ति आउन सक्छन् भन्ने समाचार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गइरहेका छन् । त्यसैले आवश्यक अनुसन्धान गरेर वास्तविक र ग्राउन्ड बेस्ड डेटा तयार गर्नुपर्छ । त्यसका आधारमा मात्रै पर्यटकलाई नेपाल सुरक्षित छ भन्ने विश्वास दिलाएर मार्केटिङ गर्नुपर्छ ।
आईसिएफसि फाइनान्सले असोज १३ गते डाक्यो सभा, १०.५२ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न आईसिएफसि फाइनान्सले वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सको सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले असोज १३ गते बौद्ध हेरिटेज बौद्ध पिपलबोट काठमाडौंमा बिहान १० बजे २३औँ वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको कर प्रयोजनसहित १०.५२ प्रतिशतका दरले १२ करोड ४५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । सभाबाट संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक को नियुक्ति तथा पारिश्रमिक तोक्नेछ । बहालवाला लेखापरीक्षक एसएआर एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस पुनः नियुक्तिका लागि योग्य रहेको जनाएको छ । साथै सभाले सञ्चालकको सेवा सुविधा थप गर्ने र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ५ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।