त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका महर्जनलाई माइल्ड हाइपोथर्मिया

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेर उद्धार गरिएका दुईजनामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया देखिएको छ । अर्का उद्धार गरिएका व्यक्ति सञ्जय शाह भने जोखिममुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

भोटेकोशी नदीमा आएको बाढीका कारण सुरुङभित्र फसेका उनिहरुको १० दिनपछि उद्धार गरिएको हो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई हेलिकोप्टरमार्फत आर्मी अस्पताल छाउनीमा ल्याइएकोे हो ।

 लामो समयसम्म चिसो पानी र वातावरणको सम्पर्कमा रहँदा शरीरको तापक्रम घट्न गई हाइपोथर्मिया भएको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।

के हो हाइपोथर्मिया ? 

हाइपोथर्मिया एउटा जोखिमपूर्ण समस्या हो । हाइपोथर्मिया हुँदा शरीरको तापक्रम घट्दै जान्छ। मानिसको सामान्य तापक्रम ९८ दशमलव ४ डिग्री फरेनहाइड हुन्छ, त्यो तापक्रम छिटोछिटो घट्दै गएको खण्डमा हाइपोथर्मिया हुन्छ। तापक्रम ९५ डिग्री फरेनहाइड तिर झर्यो भने हाइपोथर्मिया हुने सम्भावना हुन्छ । 

जाडो बेलामा शरीरले तापक्रम उत्पन्न गर्न नसकेर यो समस्या देखा पर्छ । यो समस्याले गर्दा मुटुले काम गर्न छोड्छ र मानिसको मृत्यु पनि हुनसक्छ। हाइपोथर्मियाले जनावरको समेत मृत्यु हुने गर्छ । 

यसका लक्षण तापक्रम अनुसार फरक–फरक हुन सक्छन् । मन्द खालको हाइपोथर्मियामा जिउ काम्ने तथा दिमाग सुस्त भएर अलमल पर्ने हुन्छ । मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र दिमागको सुस्तता बढेर जान्छ ।

Share News