रसुवा बाढी अपडेटः मृतकको संख्या १,२९४ पुग्यो, ५ हजारभन्दा बढी अझै बेपत्ता
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी तथा त्यसबाट सिर्जित विपद्को पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ । २०८३ भदौ १९ गते साँझ ६ः३० बजेसम्मको अद्यावधिक विवरणअनुसार, बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या १,२९४ पुगेको छ । प्राधिकरणका अनुसार बाढीका कारण सबैभन्दा बढी मानवीय क्षति चितवनमा भएको छ, जहाँ ३५९ जनाको शव फेला परेको छ । अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७३, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भई आफन्तले बुझिलिएका छन् । विपद्मा परेकाहरूको खोज र उद्धारका लागि सरकारले २१,४२१ सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाली सेनाका ९,२८७, नेपाल प्रहरीका ७,९३१ र सशस्त्र प्रहरी बलका ४,२०३ जना सहभागी छन् । हालसम्म कुल १३,०९५ जनाको जीवितै उद्धार गरिएको छ । शुक्रवार मात्रै त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनालाई जीवितै उद्धार गरिएको छ । प्राधिकरणको विवरणअनुसार अझै ५,०५३ जना सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा रसुवाका २,१३० जना, नुवाकोटका २,३४० जना र ५८३ जना विदेशी नागरिक रहेका छन् । नेपाली सेनाले हालसम्म ८८१ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्याएका छन् । बाढीबाट घाइते भएका ५,६६३ जनाको उपचार गरिएको छ । जसमध्ये ३,२६६ जनाको नेपाली सेना, २,०८३ जनाको सशस्त्र प्रहरी र ३१४ जनाको विभिन्न अस्पतालहरूमा उपचार गरिएको छ । रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४,६२७ जनाले आश्रय लिइरहेका छन् । राहत सामग्री ढुवानीका लागि काठमाडौंबाट ७७ ट्रक र ३८ बोलेरो परिचालन गरिएको छ भने दुर्गम क्षेत्रमा ९ वटा हेलिकप्टर उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ । सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १७३ पटक हवाई उडानमार्फत राहत सामग्री पुर्याएको छ । सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । साथै, अति प्रभावित १५ वटा पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रारम्भिक विवरणअनुसार ७,५७० वटा निजी घरमा क्षति पुगेको छ । सरकारी संरचनातर्फ ४८ वटा भवन (३५ पूर्ण र १३ आंशिक क्षति), १८ वटा विद्यालय र ७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । यातायात पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । बाढीबाट कुल ३२,९६३ जनसंख्या प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित
काठमाडौं । भदौ १० गतेको भोटेकोशी बाढीबाट देशभर ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक आँकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘शिघ्र प्रारम्भिक क्षति तथा आवश्यकता आँकलन’ प्रतिवेदनले यस्तो तथ्याङ्क देखाएको हो । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार क्षतिग्रस्त घरधुरीका आधारमा ३२ हजार ९३३ नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । सार्वजनिक गरिएको यो विवरण प्रारम्भिक प्रतिवेदन मात्र भएको र विस्तृत क्षति आकलन आउन बाँकी रहेको प्राधिकरणले स्पष्ट पारेको छ । बाढीका कारण सरकारी तथा सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुगेको छ । प्रतिवेदनअनुसार ४८ वटा सरकारी संरचनामा क्षति पुगेको छ, जसमध्ये ३५ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १३ वटामा आंशिक क्षति पुगेको छ । त्यसैगरी, शिक्षा क्षेत्रतर्फ १८ वटा विद्यालयमा क्षति पुगेको छ, जसमा ११ वटा पूर्ण र ७ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । स्वास्थ्य क्षेत्रका ७ वटा संस्थाहरूमा क्षति पुगेको छ, जसमा ४ वटा पूर्ण र ३ वटा आंशिक छन् । भौतिक पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यस्तै, ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्रवक्ता महतले जानकारी दिए । कृषि क्षेत्रमा १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा बाढीले क्षति पुर्याएको अनुमान गरिएको छ । यसबाट ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने आँकलन गरिएको छ । प्रभावित पाँचवटै जिल्लामा पशु तथा कुखुरा पालन व्यवसायमा समेत ठूलो असर परेको छ । ऊर्जा र वित्तीय क्षेत्रमा पनि बाढीको गम्भीर प्रभाव देखिएको छ । बाढीका कारण ७८३ मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ । यसअन्तर्गत १३ वटा जलविद्युत आयोजना, एउटा सोलार प्लान्ट र दुईवटा प्रशारण लाइनमा क्षति पुगेको छ । यस्तै, प्रभावित क्षेत्रका १७ वटा बैंकका शाखाहरूमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बर्जर पेन्ट्स नेपालको ५० लाख सहयोग
काठमाडौं । विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिने प्रतिबद्धता व्यक्त गर्दै बर्जर पेन्ट्स नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा हस्तान्तरण गरेको जनाएको छ । विपद्का कारण प्रभावित समुदायलाई आवश्यक राहत तथा पुनःस्थापनामा केही योगदान पुर्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ । २५ वर्षदेखि नेपाली बजारमा विश्वास र गुणस्तरको पर्यायका रूपमा स्थापित बर्जर पेन्ट्स नेपालले कठिन परिस्थितिबाट देशलाई छिट्टै उठाउन सबै पक्षको साझा प्रयास र सहयोग आवश्यक रहेको जनाएको छ । कम्पनीले समृद्ध नेपाल निर्माणको यात्रामा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राख्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
त्रिशूली-१ को सुरुङभित्र एक जनाको शव भेटियो
काठमाडौं । माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङमा एकजनाको शव भेटिएको छ । शुक्रबार माथिल्लो त्रिशूली-१ आयोजनामा एकजनाको शव भेटिएको नेपाली सेनाले जानकारी दिएको हो । सेनाका उच्च अधिकारीले सुरुमा उक्त क्षेत्रमा ३०० जना मानिस रहेको भनिए पनि अहिले १५१ जना मात्र सम्पर्कमा रहेका बताए । बाँकी मानिसहरू सुरक्षित स्थानमा भागेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ । यस्तै, टनेलको बीच भागमा अक्सिजनको आपूर्ति बन्द नभएकाले त्यहाँ थुनिएकाहरू जीवितै हुन सक्ने झिनो आशा अझै बाँकी रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले जानकारी दिए । त्रिशूली ३-ए र लाङटाङ आयोजना त्रिशूली ३-ए मा ४२ जना मानिसहरू रहेको आशंका गरिए पनि हालसम्म दुईजना जीवित र एकजनाको शव गरी जम्मा तीनजना मात्र फेला परेका छन । त्यस्तै, लाङटाङमा सुरुङभित्र दुईजनाको मृत्यु भएको पुष्टि भइसकेको छ । लाङटाङको पावर हाउस पुरिएकाले त्यसलाई उत्खनन गर्नुपर्ने अवस्था छ । वरिष्ठ उपाध्यक्ष लामाले हाल भारततर्फ करिब ६०० मेगावाट विद्युत निर्यात भइरहेको र बंगलादेशतर्फको निर्यात पनि सुचारु रहेको जानकारी दिए । यद्यपि, यस वर्ष १२ देखि १६ सय मेगावाटसम्म विद्युत निर्यात गरेर करिब ५० अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा आयोजनाहरूमा भएको क्षतिका कारण उक्त लक्ष्य पुरा नहुने देखिएको छ । आयोजनाहरूमा क्षति पुगे पनि र हिउँदमा केही थप विद्युत आयात गर्नुपर्ने स्थिति आए पनि तत्काल लोडसेडिङ भइहाल्ने र सर्वसाधारण डराउनुपर्ने अवस्था नरहेको लामाले स्पष्ट पारे ।
रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका मधेस प्रदेशका ३१ जना नागरिक परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोका कारण सम्पर्कविहीन भएका उनीहरू सुरक्षित रहेको पुष्टि भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर अझै १६७ जना सम्पर्कविहीन रहेका छन् । यसैबीच, बाढीमा फसेका सप्तरीका सञ्जयकुमार साहलाई त्रिशूली ए सुरुङबाट जीवितै उद्धार गरिएको छ । प्रहरीका अनुसार सम्पर्कमा आउनेहरूमा पर्साको वीरगञ्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम तथा स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता रहेका छन् । यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी, ईशनाथ नगरपालिका–४ का सेख मजिद तथा चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि परिवारको सम्पर्कमा आएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१ का वृजकिशोर दास र सुनिता दास तथा बागमती नगरपालिका–६ का दिपेश थापा पनि सुरक्षित फेला परेका छन् ।महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, ई. विपीनकुमार मण्डल, श्रीकेश यादव, लोहारपट्टीका युवराज पाण्डे, औरहीका सचिनकुमार यादव, गौशालाका आदित्यनारायण यादव र बर्दिवासका विकास भारती सम्पर्कमा आएको प्रहरीले जनाएको छ । यसैगरी, धनुषाको सबैलाका लक्ष्मण मेहता, हंसपुरका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार, जनकपुरधामका रीतिक झा, विक्रम ठाकुर र सुशान्त यादव पनि सम्पर्कमा आएका छन् । सिरहाको गोलबजारका टार्जन बलम्पाकी, लहानका उमेश यादव र कञ्चनरुपका अजय मरिक समेत परिवारको सम्पर्कमा आएको विवरण प्राप्त भएको छ । प्रवक्ता ढकालकाअनुसार हालसम्म सप्तरीका ४७, पर्साका ३८, बाराका २३, सर्लाहीका १८, रौतहटका १३, सिरहाका १२, महोत्तरीका १० र धनुषाका ७ जना अझै सम्पर्कविहीन छन् । मधेस प्रदेशका विभिन्न जिल्लाबाट ठुलो संख्यामा नागरिकहरू हराइरहेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूको अवस्था पत्ता लगाउन र विवरण संकलन गर्न विशेष ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । –न्युज एजेन्सी नेपाल
इटालीमा मेलोनीको नयाँ कीर्तिमान, मोदीले दिए बधाई
काठमाडौं । जर्जिया मेलोनी दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहने प्रधानमन्त्री बनेकी छन् । यो उपलब्धिका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेलोनीलाई बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत मेलोनीलाई बधाई दिँदै उनको उपलब्धिले इटालीका जनताले उनको नेतृत्वप्रति गरेको विश्वास र भरोसा प्रतिबिम्बित गर्ने बताएका छन् । मोदीले लेखेका छन्, ‘मेरी मित्र तथा प्रधानमन्त्री जर्जिया मेलोनीलाई दोस्रो विश्वयुद्धपछि लगातार सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहने प्रधानमन्त्री बन्नुभएकोमा बधाई ।’ उनले भारत र इटालीबीचको विशेष रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन मेलोनीको मित्रता र सहकार्यको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् । ‘दुवै देशका जनताको अझ राम्रो र समृद्ध भविष्यका लागि आगामी दिनमा पनि उहाँसँग मिलेर काम गर्न म उत्सुक छु,’ मोदीले भनेका छन् । साथै उनले मेलोनीको आगामी कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । यसअघि मेलोनीले पनि सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो नेतृत्वमा रहेको सरकार इटाली गणतन्त्रको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकार बनेको बताएकी थिइन् । उनले यस उपलब्धिलाई आफूले गहिरो कृतज्ञता र जिम्मेवारीको भावनाका साथ स्वीकार गरेको बताएकी छन् । मेलोनीका अनुसार स्थिरता देखावटी रूपमा प्रस्तुत गरिने कुनै रेकर्ड नभई देशलाई योजना बनाउन, निर्णय लिन, प्रतिबद्धता पूरा गर्न र सम्मान हासिल गर्न सक्षम बनाउने अवस्था हो । उनले लेखेकी छन्, ‘स्थिरता कुनै प्रदर्शन गर्नुपर्ने रेकर्ड होइन, बरु देशलाई योजना बनाउन, निर्णय लिन, वाचा पूरा गर्न र सम्मान पाउन सक्षम बनाउने अवस्था हो ।’
बाढीप्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले रसुवा, नुवाकोट र धादिङका लगायत बाढीप्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार बाढीपीडित क्यान्सर बिरामीका लागि १० प्रतिशत निःशुल्क बेड तथा उपचार सेवा उपलब्ध गराइँदै आएको छ । यसअन्तर्गत बेड चार्ज, ल्याब परीक्षण शुल्क र अक्सिजन शुल्क निःशुल्क हुने तथा उपलब्ध भएसम्म आवश्यक औषधिसमेत उपलब्ध गराइने अस्पतालले जनाएको छ । त्यस्तै, विपन्न, असहाय तथा बेसहारा बिरामीले नेपाल सरकारबाट प्रदान गरिने विभिन्न प्रकारका क्यान्सर उपचारसम्बन्धी सुविधासमेत लिन सक्ने अस्पतालले जनाएको छ । विपन्न स्वास्थ्य बीमा तथा प्रदेश सरकारले प्रदान गर्ने सुविधामार्फत उपचार लिन सकिने भएकाले अस्पतालको सामाजिक सेवा इकाई वा प्रशासन शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
दार्चुलामा पहिरोले थुनियो चौलानी नदी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टारमा गएको ठूलो पहिरोका कारण चौलानी (चमेलिया) नदी आंशिक रूपमा थुनिएको छ । शुक्रबार दिउँसो खसेको पहिरोले नदीको बहाव रोक्दा अचानक बाढी आउन सक्ने उच्च जोखिम सिर्जना भएको छ । पहिरो खसेलगत्तै नदीको केही भाग थुनिपनि हाल पानी बग्न सुरु गरिसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन् । घटनास्थलमा अझै पनि पहिरो खसिरहेकाले नदी पूर्ण रूपमा थुनिने खतरा कायमै रहेको प्रशासनले जनाएको छ । सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गरी नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ । प्रशासनले नदी वा खोला किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न तथा स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने सूचनालाई गम्भीरतापूर्वक पालना गर्न अनुरोध गरेको छ । साथै, कुनै पनि आपत्कालीन अवस्था उत्पन्न भएमा तत्काल उद्धार तथा राहतका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरी बलसँग समन्वय गर्न अपिल गरिएको छ । ‘पहिरो गएको स्थानबाट करिब सय मिटरको दुरीमा रहेका १२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । तत्काललाई जोखिम छैन् । सतर्क रहनुपर्छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने । पहिरो गएको स्थानमा जिल्ला प्रशासन कार्यालयबाट टाढा रहेकाले थप अवस्था बुझ्न प्रहरी पठाइएको उनको भनाइ छ । स्थानीय जनप्रतिनिधिले दिएको सूचना अनुसार थप पहिरो नथपिए त्यस्तो ठूलो जोखिम नरहेको प्रमुख पौडेलले जानकारी दिए ।