महासंघका थप तीन विषयगत समितिले पाए पूर्णता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । यससँगै पूर्णता पाउने समितिको संख्या ११ पुगेको छ । पछिल्लो पटक बैंक, फाइनान्स तथा बीमा समिति, मेला समिति तथा पर्यटन तथा हवाई यातायात समिति विस्तार गरिएको हो । बैंक, फाइनान्स तथा बीमा समितिको सभापतिमा हेमन्त गोल्छा, मेला समितिको सभापतिमा सविन श्रेष्ठ र पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा संघर्ष विष्ट रहेका छन् । महासंघ सचिवालय टेकुमा आयोजित कार्यक्रममा कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई मनोनयन पत्र हस्तान्तरण ग रे। कार्यक्रममा वैद्यले विषयगत समितिहरू निजी क्षेत्रका समस्या, सम्भावना र नीतिगत आवश्यकताको पहिचान गर्ने महत्वपूर्ण संयन्त्र भएको बताए । उनले अध्ययनमा आधारित सुझाव तयार गरी महासंघमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गरे । उनले समितिहरूको सक्रियताले निजी क्षेत्र सशक्त हुने र आर्थिक समृद्धिमा टेवा पुग्ने उल्लेख गरे । निजी क्षेत्रका साझा मुद्दामा संस्थागत धारणा बनाउन पनि समितिको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो । महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले समितिहरूलाई व्यवसायीका समस्या पहिचान गरी समाधानका लागि पहल गर्न आग्रह गरे । तथ्यमा आधारित नीतिगत सुझाव महासंघमा पेश गर्न उनले जोड दिए । कोषाध्यक्ष मनीषलाल प्रधानले समितिहरूको सक्रियताले महासंघको संस्थागत क्षमता थप बलियो बन्ने बताए । निजी क्षेत्र, सरकार र सरोकारवाला निकायबीच समन्वय बढाउन समितिले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । बैंक, फाइनान्स तथा बीमा समितिका सभापति हेमन्त गोल्छाले वित्तीय पहुँच विस्तार, ब्याजदर स्थिरता र निजी क्षेत्रमैत्री नीति निर्माणमा समिति सक्रिय रहने बताए । मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेलालाई व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले स्वदेशी उत्पादनको प्रवर्द्धन र बजार विस्तारलाई प्राथमिकतामा राखिने बताए । पर्यटन तथा हवाई यातायात समितिका सभापति संघर्ष विष्टले पर्यटन पुनरुत्थान, हवाई सेवा सुधार र नीतिगत सुधारका लागि समिति सक्रिय रहने बताए । महासंघले विषयगत समितिहरूलाई निजी क्षेत्रका समस्या पहिचान, नीतिगत सुझाव तयारी तथा सरकारसँग समन्वय गर्ने प्रभावकारी संयन्त्रका रूपमा अघि बढाउँदै आएको जनाएको छ ।
सीएनआई युवा उद्यमी मञ्चको अध्यक्षमा सुगम घिमिरे चयन
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईयुएनइएफ) को आठौं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंस्थित होटल र्याडिसनमा सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र पूर्वमन्त्री अनिल सिन्हाले संयुक्त रूपमा उद्घाटन गरेको उक्त कार्यक्रममा देशका प्रतिष्ठित व्यक्तित्वहरू, कूटनीतिज्ञ, उद्योगपति तथा युवा उद्यमीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष मनिष श्रेष्ठले युवा सशक्तीकरणमा मञ्चको भूमिकाबारे प्रकाश पारेका थिएका थिए भने स्टार्टअप चेयर चिराग सरावगीले विगतका गतिविधि तथा उपलब्धिहरूबारे प्रस्तुतीकरण गरेका थिए । साधारण सभाको अवसरमा उत्कृष्ट योगदान पुर्याउने सदस्य तथा च्याप्टरहरूलाई सम्मानित समेत गरिएको थियो । जसअनुसार जितेन्द्र बहातीलाई ‘मोस्ट एक्टिभ मेम्बर (पुरुष)’, श्रीमती नेहा अग्रवाललाई ‘मोस्ट एक्टिभ मेम्बर (महिला)’ र सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा सुधिज्ञ पन्तलाई ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । त्यसैगरी, सीएनआईवाइईएफ लुम्बिनी च्याप्टरलाई ‘च्याप्टर ग्रोथ अवार्ड’ र सीएनआईवाइईएफ कोशी च्याप्टरलाई ‘च्याप्टर एक्सेलेन्स अवार्ड’ द्वारा सम्मान गरिएको थियो । सभाले सुगम घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । नयाँ बोर्डमा निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ, लर्निङ चेयर चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयर श्रीमती शाइनी खेतान, स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयर श्रीमती निदा दून मल्ल, गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स चेयर सुजित रेग्मी, कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयर पुनीत अग्रवाल, स्ट्र्याटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयर यश अग्रवाल र फाइनान्स एन्ड इन्टरनेसनल रिले्सन्स चेयर अङ्कुर अग्रवाल रहेका छन् । त्यसैगरी, को–चेयरहरूमा श्रीमती न्यान्सी अग्रवाल (मेम्बरसिप एन्ड इन्टिग्रेसन), सचेत मानन्धर (स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन) र चेतन प्रधान (गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स) चयन भएका छन् । कार्यक्रमलाई सम्बोधन डा. पुकार मल्लले सरकारले उद्यमशीलता विकास सुविधाका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै सीएनआईयुएनइएफसँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताए । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको आर्थिक समृद्धिमा युवा उद्यमीको भूमिकाको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिए । कार्यक्रममा निवर्तमान अध्यक्ष मनिष श्रेष्ठले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने नवनिर्वाचित अध्यक्ष सुगम घिमिरेले धन्यवाद ज्ञापन गर्दै सभाको समापन गरेका थिए ।
अशान्तिले साना उद्योग धरापमा पर्ने महासंघको चिन्ता
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण अवस्था, सामाजिक अशान्ति तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र आर्थिक गतिविधिको संरक्षणका लागि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । महासंघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । महासंघका अनुसार सीमित पूँजी, स्थानीय बजार र दैनिक कारोबारमा निर्भर रहने घरेलु तथा साना उद्योगहरू अशान्ति, बन्द, तोडफोड तथा बजार अवरोधबाट सबैभन्दा बढी प्रभावित हुने गर्छन् । यस्तो अवस्थाले उद्यमीहरूको आत्मविश्वास कमजोर बनाउनुका साथै उत्पादन र आपूर्ति प्रणालीमा समेत असर पुर्याउने जनाएको छ । विज्ञप्तिमा नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा पहिचान बोकेको मुलुक भएकाले सामाजिक सद्भाव, सहिष्णुता र आपसी विश्वास नै राष्ट्रिय स्थायित्व तथा आर्थिक समृद्धिको आधार रहेको उल्लेख गरिएको छ । यस्ता घटनाले घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, व्यापार, पर्यटन, रोजगारी तथा समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष र दीर्घकालीन नकारात्मक असर पार्ने महासंघको भनाइ छ । महासंघले कुनै पनि समस्या वा मतभेदको समाधान हिंसा वा टकरावबाट नभई संविधान, कानुन, संवाद र आपसी समझदारीका माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्दै संयमता अपनाउन सबै सरोकारवालालाई आग्रह गरिएको छ । विज्ञप्तिमार्फत महासंघले नेपाल सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग प्रभावित क्षेत्रमा प्रभावकारी शान्ति–सुरक्षाको व्यवस्था गर्न, उद्योग–व्यवसाय र सर्वसाधारणको जनधनको सुरक्षा सुनिश्चित गर्न तथा आर्थिक गतिविधि सहज रूपमा सञ्चालन हुने वातावरण तत्काल निर्माण गर्न आग्रह गरेको छ । साथै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने अफवाह, भ्रामक सूचना र उत्तेजनात्मक अभिव्यक्तिबाट सचेत रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी विश्वासलाई थप मजबुत बनाउन नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई महासंघले आह्वान गरेको छ । महासंघले शान्तिपूर्ण, सुरक्षित तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार, निजी क्षेत्र तथा सबै सरोकारवालासँग आवश्यक सहकार्य गर्न आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ ।