नोभा क्राउन प्रिमियम आइसक्रिमको ब्रान्ड एम्बेसडरमा शिल्पा मास्के
काठमाडौं । फिसटेल डेरी प्रालि अन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड नोभा क्राउन प्रिमियम आइसक्रिमले अभिनेत्री शिल्पा मास्केलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अभिनेत्री मास्के र नोभा क्राउनका ब्रान्ड सुपरभाइजर प्रायुष निरौलाबीच ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौता भएको हो । सम्झौतासँगै मास्के नोभा क्राउनका विभिन्न ब्रान्ड प्रवद्र्धन तथा सञ्चार अभियानमा सहभागी हुने भएकी छन् । सम्झौतापछि ब्रान्ड सुपरभाइजर निरौलाले मास्केको प्रतिभा, व्यक्तित्व र युवा पुस्तामाझको लोकप्रियता नोभा क्राउनको ब्रान्ड पहिचानसँग मेल खाने बताए । उनका अनुसार मास्केसँगको सहकार्यले उपभोक्तासँग ब्रान्डको सम्बन्ध थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अभिनेत्री मास्केले पनि नोभा क्राउनसँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै प्रिमियम आइसक्रिम अनुभव प्रदान गर्ने उद्देश्य बोकेको ब्रान्डसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताइन् । कम्पनीका अनुसार ब्रान्ड एम्बेसडरका रूपमा मास्के नोभा क्राउनका विज्ञापन, डिजिटल सामग्री, सामाजिक सञ्जाल अभियान, प्रवद्र्धनात्मक कार्यक्रम तथा विभिन्न मार्केटिङ गतिविधिमा सहभागी हुनेछिन् । मास्केसँगको सहकार्यले विशेषगरी युवा तथा आधुनिक जीवनशैली अपनाउने उपभोक्तामाझ नोभा क्राउनको पहुँच विस्तार गर्न र प्रिमियम आइसक्रिम ब्रान्डका रूपमा आफ्नो पहिचान थप बलियो बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ । फिसटेल डेरी प्रालि अन्तर्गतको नोभा क्राउन प्रिमियम आइसक्रिमले गुणस्तरीय उत्पादन तथा उत्कृष्ट आइसक्रिम अनुभव प्रदान गर्ने उद्देश्यका साथ नेपाली बजारमा आफ्ना उत्पादन तथा ब्रान्ड गतिविधि विस्तार गर्दै आएको कम्पनीले जनाएको छ ।
१०.५२ प्रतिशत लाभांश पारित गर्न सर्वोत्तम पेन्ट्सले डाक्यो साधारण सभा
काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले असोज २५ गते कैलालीको अत्तरियास्थित होटल जंगल स्पा प्रालिमा दिउँसो १ बजे पाँचौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट कम्पनीको चुक्ता पुँजी ३४ करोड रुपैयाँको १० प्रतिशतका दरले ३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२ प्रतिशतका दरले १७ लाख ८९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनी ऐन, २०६३ को दफा ९३ बमोजिम कम्पनीका आधारभूत सेयरधनी वा सञ्चालक सम्बद्ध संस्थासँग तथा कम्पनीसँग सम्बद्ध अन्य संस्थासँग भएका कारोबारको विवरण अनुमोदन गर्ने प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ । त्यस्तै, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची रहेको छ । बोनस सेयर वितरणसम्बन्धी विशेष प्रस्ताव पारित भएपछि कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोहीअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गते सेयर दाखिला खारेज मिति तोकेको छ । त्यसैले असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
‘नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो-२०८३’ भृकुटीमण्डपमा सुरु
काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो-२०८३’ असोज १ गतेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको ७५ औं हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा आयोजित यो ४ दिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले दीप प्रज्वलन गरी गरे । उद्घाटन समारोहका प्रमुख अतिथि सभामुख अर्यालले रियल स्टेट व्यवसायीहरूको हदबन्दी लगायतका समस्या समाधानमा सरकार प्रयासरत रहेको र आफूले पनि आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले साना व्यवसायी र दूरदराजका नागरिकका समस्या हल गर्दै वैदेशिक रोजगारीमा रहेका र युवा पुस्तालाई स्वदेशमै लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले घरजग्गा व्यवसायलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा उल्लेख गर्दै गैरआवासीय नेपालीलाई अपार्टमेन्ट बिक्री गर्ने कानुनी बाटो खोल्न र भृकुटीमण्डप प्रदर्शनी स्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिन सरकारसँग माग गरे । त्यसैगरी, समारोहका सभापति एवम् नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष ई. दीपक कुँवरले हदबन्दी र कित्ताकाटको दीर्घकालीन समाधान नभए व्यवसाय ठप्प हुने बताउँदै बाढीपीडितको पुनर्वासमा सहकार्य गर्न व्यवसायीहरू तयार रहेको स्पष्ट पारे । उनले पृथ्वी राजमार्गको विकल्पका रूपमा थानकोटदेखि शक्तिखोरसम्म निजी क्षेत्रको सहकार्यमा सुरुङ मार्ग निर्माण गर्न सकिने प्रस्ताव समेत अघि सारे । महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले दर्तावाल कम्पनीहरूलाई हदबन्दी छुट, लोन टु भ्यालु रेसियो ८० प्रतिशत पु¥याउनुपर्ने, ३ करोडसम्मको घरजग्गा खरिदमा स्वघोषित आम्दानीलाई मान्यता दिनुपर्ने र यस क्षेत्रलाई उत्पादनमूलक उद्योगको दर्जा दिनुपर्ने जस्ता नीतिगत मागहरू प्रस्तुत गरे । आयोजना समितिका संयोजक रोशन भोयध्योका अनुसार १०० भन्दा बढी स्टलहरू रहेको यो एक्स्पो असोज ४ गतेसम्म बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । एक्स्पो अवधिभर वास्तुशास्त्र, विपद् उत्थानशील पूर्वाधार र सार्वजनिक-निजी साझेदारी मार्फत एकीकृत आवास विकास जस्ता विषयमा उच्चस्तरीय प्राविधिक सेमिनार तथा प्यानल छलफलहरू समेत सञ्चालन हुनेछन् ।