बाढीपीडित उद्योगी–व्यवसायीलाई पाँच वर्ष करछुट दिन महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बाढीबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका उद्योग तथा व्यवसायलाई पुनरुत्थान गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने बताए ।

उनले बाढीका कारण क्षति भएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानी साधनको आयातमा भन्सार महसुल, अन्तःशुल्क, सडक निर्माण दस्तुर, स्वच्छ पूर्वाधार तथा लगानी शुल्कलगायत सबै प्रकारका कर छुट दिनुपर्नेमा जोड दिए । उनले बाढीमा नष्ट भएका प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरण पुनःआयात गर्दा भन्सार बिन्दुमा लाग्ने सबै प्रकारका कर तथा महसुल छुट दिन मागसमेत गरे ।

अध्यक्ष श्रेष्ठले बाढीपीडित व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा समेटी ब्याज अनुदान, बिमा प्रिमियम छुट तथा अन्य अनुदान उपलब्ध गराउनुपर्नेमा पनि जोड दिए । उनले जीवनभर राज्यलाई कर तिरेका व्यवसायी विपद्का कारण सडकमा पुग्दा उनीहरूलाई पुनः व्यवसायमा फर्काउने जिम्मेवारी राज्यले लिनुपर्ने समेत बताए ।

उनले भने, ‘मन्त्रीज्यूले अहिले बाढीपीडितलाई व्यवसाय तथा उद्योगको पुनःस्थापनाको लागि केही कामहरू गर्नुभएको छ । तर भन्सारमार्फत केही गर्नुपर्ने आवश्यकता छ । व्यावसायिक प्रयोजनमा प्रयोग हुने सवारी साधन र ढुवानी साधन आयातमा भन्सार महसुलमा छुट दिने, भन्सार बिन्दुमा सङ्कलन हुने भन्सार महसुल, अन्तःशुल्क, सडक निर्माण दस्तुर, स्वच्छ पूर्वाधार, लगानी शुल्कलगायत सबै प्रकारका कर छुट दिनुपर्ने हाम्रो माग छ ।' 

उनले राज्यलाई जीवनभर चलायमान बनाउन योगदान दिएका व्यवसायीहरू अहिले असुरक्षित भएको महसुस गरिरहेको पनि बताए ।

Share News