काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले ३२औँ वार्षिक साधारण सभा असोज २२ गते अनुपम फुड ल्यान्ड एन्ड बैंक्वेट, बत्तीसपुतली, काठमाडौंमा बिहान ९ बजे बोलाउने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँको करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने र चालु आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पेस हुनेछ ।
त्यसैगरी, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने तथा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना र संस्थापक सेयरधनी समूहबाट ३ जना गरी ४ जना सञ्चालकको निर्वाचन तथा मनोनयन गर्ने कार्यसूची रहेको छ ।
साथै, सञ्चालकहरूको बैठक भत्ता निर्धारण गर्ने र कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।