बुटवल धागो कारखाना सञ्चालनको तयारी, डीडीए अन्तिम चरणमा

काठमाडौं । लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालनमा ल्याउने तयारी अघि बढेको छ। कारखाना सञ्चालनका लागि आवश्यक सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) अन्तिम चरणमा पुगेको उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताए । यस्तै, सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीसँगै त्यसका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने योजनालाई पनि अघि सारेको छ । यही क्रममा बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको हो । उद्योगमन्त्री गौरीकुमारी यादवले नेपालमा कपडा उद्योगका लागि आवश्यक पर्ने कपासको उत्पादन बढाउन निजी क्षेत्र र व्यवसायीलाई खेतीमा लगानी गर्न आह्वान गरेकी छन् । कपडा उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थमा विदेशी निर्भरता घटाउँदै स्वदेशी उत्पादन बढाउने उद्देश्यले कपास खेती विस्तारमा जोड दिइएको उनले बताइन् । मन्त्री यादवले कृषि मन्त्री गीता चौधरीसँग भेट गरी कपास खेती विस्तारका सम्भावनाबारे छलफलसमेत गरेकी छन् । छलफलमा कृषि मन्त्री चौधरीले दाङ, बाँके र बर्दियालगायतका जिल्लामा कपास खेतीका लागि अनुकूल वातावरण रहेको बताइन् ।  नेपालमा कपास खेतीको सम्भावना भए पनि व्यावसायिक स्तरमा पर्याप्त उत्पादन हुन नसक्दा कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमै निर्भर हुनुपर्ने अवस्था छ । सरकारले कपास उत्पादन र उद्योग सञ्चालनलाई एकीकृत रूपमा अघि बढाउन सके आयात घटाउनुका साथै किसानको आम्दानी र रोजगारीका अवसर बढाउन सकिने अपेक्षा गरेको छ । हेटौँडा कपडा उद्योगसँगै बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने तयारीले कपास उत्पादनदेखि धागो र त्यसपछि कपडा उत्पादनसम्मको स्वदेशी औद्योगिक शृंखला निर्माण गर्ने आधार तयार हुने देखिएको छ । सरकारले स्वदेशी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ नेपालमै उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति अघि सारेको छ। कपास खेती विस्तार गरेर विदेशी कपासको आयात घटाउने, स्वदेशी उत्पादनको आधार बलियो बनाउने र औद्योगिक रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ ।

फाइल बोकेर सरकारी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सुशासन कायम गर्न सबै सरकारी सेवाहरू ‘कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस’ बनाउन आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले सरकारी सेवाहरू डिजिटल प्रणालीमार्फत सञ्चालन भए मात्र सेवा प्रवाह प्रभावकारी हुनुका साथै सुशासन कायम गर्न सहज हुने बताएका हुन् । उनले उद्योग विभागका सबै सेवा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने पहल सकारात्मक रहेको बताए । विगतमा पनि उद्योग विभागले डिजिटल प्रणालीमार्फत सेवा दिने भनिए पनि सेवाग्राहीले फाइल बोकेर विभिन्न ठाउँमा धाउनुपर्ने अवस्था रहेको स्मरण गर्दै आगामी दिनमा त्यस्तो अवस्था दोहोरिन नहुनेमा विभाग गम्भीर हुनुपर्नेमा उनले जोड दिए । डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गरी सरकारी निकायका प्रणालीहरूलाई आपसमा अन्तरसम्बन्धित बनाउनुपर्ने उनको भनाइ छ । विभिन्न निकायमा एउटै विवरण पटक–पटक प्रविष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गरी सबै प्रणालीलाई आपसमा जोड्नुपर्ने उनले बताए । ‘गुड गभर्नेन्सको आधारभूत पक्ष भनेको कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस पहल हो । सबै कुरा डिजिटल प्रणालीमा गए पनि फेरि प्रिन्ट गरेर फाइल बोकेर जानुपर्ने अवस्था भयो भने त्यसले अपेक्षित प्रभाव पार्दैन,’ अध्यक्ष पाण्डेले भने, ‘अब उद्योग विभाग पूर्ण रूपमा डिजिटल प्रणालीमा जाने कुरा खुशीको विषय हो । यसले कामको प्रभावकारिता बढाउनुका साथै समयको समेत बचत गर्छ ।’ डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गरी सरकारी प्रणालीहरूलाई अन्तरसम्बन्धित बनाउन सके व्यवसाय सञ्चालनको लागत घट्नुका साथै सरकारी सेवाको दक्षता र प्रभावकारिता बढ्ने उनले बताए । अध्यक्ष पाण्डेले डिजिटल प्रणालीको विकासले स्वदेशी तथा विदेशी लगानीकर्ता र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्नसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सर्वोत्तम सिमेन्टको नाफा १.१० अर्ब, प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ

काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब २ करोड ८२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७.७० प्रतिशत बढेको हो । अघिल्लो वर्ष ९ अर्ब ५३ करोड ७३ लाख ३३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष १० अर्ब २५ करोड ८५ लाख २७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ९३ करोड ५१ लाख ३६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ५२ करोड ७७ लाख ५२ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष २ अर्ब ९५ लाख ८१ हजार रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर २ अर्ब ३२ करोड ३३ लाख ९० हजार रुपैयाँ पुगेको छ ।  यस्तै, कम्पनीको अन्य आम्दानी गत वर्ष १७ करोड ६९ लाख ५० हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको अन्य आम्दानी १३ करोड ७६ लाख ७ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीले २५ करोड ७४ लाख ४२ हजार रुपैयाँ प्रशासनिक खर्च, ६५ करोड ६५ लाख ४७ हजार रुपैयाँ विक्री वितरण खर्च र १ अर्ब १५ करोड ६३ लाख ९५ हजार रुपैयाँ कुल खर्च गरेको छ ।  अघिल्लो वर्ष कम्पनीले २२ करोड ४२ लाख २७ हजार रुपैयाँ प्रशासनिक खर्च, ३३ करोड ९६ लाख ४५ हजार रुपैयाँ विक्री वितरण खर्च र ८६ करोड १ लाख ६६ हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ८७ करोड ७७ लाख ६४ हजार रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.२० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ रहेको छ ।