बाढी प्रभावित र उद्धार टोलीका लागि मोरङ उद्योग व्यापार संघद्वारा सुरक्षा सामग्री हस्तान्तरण

काठमाडौं । मोरङ उद्योग व्यापार संघले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा व्यवस्थापन कार्यमा खटिएका सुरक्षाकर्मी र पीडित समुदायको सहायतार्थ अत्यावश्यक सुरक्षा तथा राहत सामग्री हस्तान्तरण गरेको छ ।  संघको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित एक कार्यक्रमका बिच संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षकलाई ४०० जोर खुला ह्यान्ड ग्लोब्स र १६ कार्टुन (३८४ जोर) सेफेक्स गम्बुट हस्तान्तरण गर्नुभएको हो। सामग्री हस्तान्तरण कार्यक्रममा उच्च प्रहरी अधिकृतहरूसँगै संघका उपाध्यक्ष विकास कुमार वेगवानी, महासचिव संजय कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाईको उपस्थिति रहेको थियो ।  गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा उर्लिएको भीषण बाढीका कारण रसुवाको टिमुरे, धुन्चे, बेत्रावती हुँदै नुवाकोट तथा धादिङका विभिन्न तटीय क्षेत्रहरूमा सडक, पुल र भौतिक पूर्वाधारमा ठूलो क्षति पुग्नुका साथै गम्भीर मानवीय संकट उत्पन्न भएको थियो ।  यस्तो विषम परिस्थितिमा नेपाल प्रहरी तथा सुरक्षा निकायले देखाएको अग्रपंक्तिको उपस्थिति, खोज तथा उद्धार कार्यमा प्रदर्शित साहस र प्रभावकारी भूमिकाको मोरङ उद्योग व्यापार संघले उच्च प्रशंसा गरेको छ । हिलो, ढुङ्गा र भग्नावशेषयुक्त जोखिमपूर्ण स्थानमा खटिने उद्धारकर्मी र बाढीपीडित नागरिकहरूको स्वास्थ्य तथा व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी उपलब्ध गराइएका यी सामग्रीले उद्धार कार्यलाई थप सुरक्षित र सहज बनाउने विश्वास लिइएको छ ।  निजी क्षेत्रको अग्रणी संस्थाको रूपमा मोरङ उद्योग व्यापार संघले विपद् व्यवस्थापन र मानवीय सेवाका कार्यहरूमा सुरक्षा निकायसँग सदैव हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  सामग्री ग्रहण गर्दै कोशी प्रदेश प्रहरी प्रमुखले निजी क्षेत्रको यो सद्भावको सराहना गर्दै हस्तान्तरित सुरक्षा सामग्रीहरू तत्काल आवश्यकता अनुसार बाढी प्रभावित क्षेत्रमा परिचालन तथा वितरण गरिने जानकारी दिए । 

मोरङ उद्योग संघको साधारण सभा सम्पन्न, ७५ वर्षको स्मारिका सार्वजनिक

काठमाडौं । मोरङ उद्योग व्यापार संघको ६९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभासँगै संघको ७५ वर्षको इतिहास समेटिएको विशेष स्मारिका ‘भिजन टु लेगेसी’ पनि सार्वजनिक गरिएको छ । स्मारिकामा संघको ७५ वर्षको यात्रा, उद्योग–व्यापार क्षेत्रमा दिएको योगदान र संस्थाको विकासक्रम समेटिएको छ । स्मारिकाको अनावरण संघका अध्यक्ष अनुपम राठी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, संघका पूर्वअध्यक्षहरू र निवर्तमान अध्यक्ष नवीन रिजालले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा अध्यक्ष अनुपम राठीले ७५ वर्षको इतिहासलाई पुस्तकका रूपमा प्रकाशित गर्न पाउनु संघका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले यो स्मारिका व्यापार, विश्वास र परिवर्तनको ७५ वर्षको दस्तावेज भएको उल्लेख गरे । अध्यक्ष राठीले स्मारिका प्रकाशन समितिका संयोजक अमित राठी र सह–संयोजक दिपेश सुवेदीको विशेष प्रशंसा पनि गरे । स्मारिका तयार पार्न उनीहरूले गरेको मेहनत र योगदानको उच्च मूल्यांकन गर्दै धन्यवाद व्यक्त गरे । उद्योगी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा संघले आफ्नो ७५ वर्षको यात्रा स्मरण गर्दै आगामी दिनमा उद्योग र व्यापार क्षेत्रको विकासमा थप सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।

नेपाल ग्यासले बेच्यो ३.२३ अर्बको ग्यास, बैंकमा ऋण १.१० अर्ब

काठमाडौं । ‘नेपाल ग्यास’ नामबाट तरलीकृत पेट्रोलियम ग्यासका सिलिन्डर बजारमा आपूर्ति गर्दै आएको नेपाल ग्यास इण्डस्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब २३ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीको उक्त आम्दानी आर्थिक वर्ष २०८०/८१ को तुलनामा १.७९ प्रतिशत अर्थात् ५ करोड ९० लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यसअघि आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब १८ करोड ८० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ९ करोड ८० लाख रुपैयाँ र आव २०७७/७८ मा २ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।  सन् १९६९ देखि तरलीकृत पेट्रोलियम ग्यास भर्ने उद्योगका रूपमा सञ्चालनमा रहेको नेपाल ग्यास इण्डस्ट्रिजले नेपाल आयल निगमबाट ग्यास भर्ने उद्योगका रूपमा सञ्चालनको अनुमति प्राप्त गरेको छ । कम्पनीले बागमती प्रदेशमा ‘नेपाल ग्यास’ नामबाट ग्यासका सिलिन्डर आपूर्ति गर्दै आएको छ । कम्पनीको सम्पूर्ण स्वामित्व समृद्धि ग्यास इण्डस्ट्रिज प्रालिको रहेको छ । करिब ५७ वर्षदेखि ग्यास भर्ने तथा आपूर्ति गर्ने व्यवसायमा सक्रिय कम्पनीको सञ्चालक समितिको अध्यक्षमा धर्मराज बरतौला रहेका छन् ।  नेपालको तरलीकृत पेट्रोलियम ग्यास उद्योग आयात अनुमति, सिलिन्डरको मापदण्ड, भण्डारण तथा सञ्चालनसम्बन्धी नियम र वितरण सुरक्षालगायतका विषयमा कडा नियमनमा रहेको छ । नियामकीय मापदण्ड पालना गर्न नसके जरिवाना, सञ्चालनमा अवरोध, प्रतिष्ठामा असर तथा थप नियामकीय निगरानीको जोखिम रहने कम्पनीको भनाइ छ ।  कम्पनीको व्यवसाय मुख्यतः बागमती प्रदेशमा केन्द्रित छ । साथै, नेपालमा तरलीकृत पेट्रोलियम ग्यास आयात गर्ने एक मात्र अधिकृत संस्था नेपाल आयल निगम रहेकाले आयातकर्तामा उच्च निर्भरता रहेको छ । ग्यासको मूल्य तथा आपूर्ति व्यवस्थामा नेपाल आयल निगमसँग प्रत्यक्ष निर्भरता रहेकाले मूल्यमा हुने उतारचढाव, आपूर्ति सीमितता तथा सरकारी नीति वा नियमनमा हुने परिवर्तनले कम्पनीको सञ्चालनमा असर पार्न सक्ने देखिन्छ । नेपाल आयल निगमको निगरानीमा ग्यासको आपूर्ति तथा माग दुवै पक्ष नियमन हुने भएकाले उद्योगमा सञ्चालन नाफाको सीमा साँघुरो रहेको छ । साथै, ग्यास वितरण कम्पनीबीच मूल्यभन्दा बाहेकका पक्षमा हुने प्रतिस्पर्धा तीव्र रहेकाले नाफा वृद्धि तथा सञ्चालनमा आवश्यक लचकता सीमित भएको जनाएको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब १० करोड रुपैयाँ ऋण लिएको छ । उक्त ऋणमध्ये ४७ करोड ३० लाख रुपैयाँ दीर्घकालीन र ६२ करोड ७० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।