ईपीएल सुरु, कसले हात पार्ला ५० लाखको पुरस्कार ?
काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको शनिबारदेखि सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता सवा १२ बजेदेखि सुरू भएकाे हाे । उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ खेलिरहेका छन् । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिएकाे ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएकाे छ । काठमाडौंले टस जितेर बलिङ रोजेको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियुमा चौथो संस्करणको इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ । यसपटकको इपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक इपिएलले जनाएको छ । घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको यो पहिलोपटक हो । इपिएलको इतिहासमा ललितपुर सर्वाधिक सफल टोली हो । पहिलो र तेस्रो संस्करण ललितपुरले हात पारेको थियो । यसपटकको इपिएलमा २४ जना विदेशी खेलाडी खेल्दैछन् । प्रत्येक टिममा ४–४ जना गरी ६ टिमका २४ विदेशी खेलाडी प्रतिस्पर्धामा उत्रन लागेका छन् ।
एचएमडी ग्लोबल काठमाडौंले किंग्स ११ सँग साझेदारी गर्दै
काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नेपालको घरेलु टी २० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग ९ईपीएल० मा काठमाडौं किंग्स इलेवन (केकेएक्सआई) को आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा गरेको छ । यो प्रतियोगिताको चौथो संस्करण गत वर्ष हुने तय भएपनि कोभिड १९ को कारणले यो असोज ९ गते देखि असोज २३ सम्म हुने भएको छ । एचएमडी ग्लोबल प्यान एसियाका जेनेरल म्यानेजर रवि कुँवर केकेएक्सआईसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित भएको बताए । विश्व प्रसिद्ध क्रिकेट खेलाडी शाहिद अफ्रिदी र नेपालका सुपरस्टार सन्दीप लामिछाने केकेएक्सआइका लागि एउटै टीममा एकजुट भएर खेल्नेछन् । प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स र पोखरा राइनोज गरी ६ वटा टीमहरु सहभागी हुनेछन् । खेलाडीहरुको सूचीमा शाहिद अफ्रिदी, र्यान पठान, ओशादा फर्नान्डो, रिचर्ड लेवी, सीकुगे प्रसन्ना जस्ता अन्तर्राष्ट्रिय खेलाडीहरु पनि परेका छन् । केकेएक्सआइको पहिलो खेल ललितपुर प्याट्रियट्स सँंग उद्घाटनको दिनमा हुने तय भएको छ । सबै खेलहरु कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ । एचएमडी ग्लोबल फिनल्याण्डमा डिजाइन गरिएको नोकिया ब्रान्डको इजाजतपत्र प्राप्तकर्ता हो ।
यस वर्ष दसैंकाे टिका लगाउन बिहानकाे १०ः०२ बजे शुभ
काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा अधिकारीले बताए । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७: ११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । विजयादशमीका दिन बिहान ७: ०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।