६ लाख घुस लिएको आरोपमा लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्ली राज खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले दुवै कर्मचारीले आपसी मिलेमतोमा सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको ठहर गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर खड्काले पुलको पुनःडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । घुस मागेको सूचनाका आधारमा अख्तियारको टंगालस्थित कार्यालय र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले खड्कालाई ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा पुलको डिजाइन, पुनःडिजाइन, तेस्रो पक्षबाट प्रमाणीकरण तथा भुक्तानी प्रक्रियासम्बन्धी काम सम्पन्न गर्न दुवै कर्मचारीले मिलेमतो गरेको खुलेको अख्तियारले जनाएको छ । ठेक्कासम्बन्धी काम सम्पन्न भएपछि पेस गरिएको बिलको रकम भुक्तानी गराइदिने भन्दै उनीहरूले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेर लिएको अनुसन्धानबाट स्थापित भएको आयोगको दाबी छ । अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर कायम गरेको छ । आयोगले ६ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ । उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
सन्दीप बने नेपालकाे ओडीआई कप्तान, रोहित पौडेल पदमुक्त
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको एकदिवसीय (ओडिआई) कप्तानबाट रोहित पौडेललाई हटाउँदै लेगस्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान चयन गरेको छ । हालै नेदरल्याण्ड्समा सम्पन्न आईसीसी विश्वकप लिग-२ मा नेपाली टोलीको खराब प्रदर्शनपछि क्यानले नेतृत्व परिवर्तन गर्ने निर्णय लिएको हो । यससँगै सन्दीप चार वर्षको अन्तरालपछि पुनः कप्तानको भूमिकामा फर्किएका छन्। यसअघि सन् २०२२ मा कानुनी विवादका कारण उनले कप्तानी गुमाएका थिए । यता, क्यानले टी-२० टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीलाई सुम्पिसकेकाले रोहितले दुवै फम्र्याटको कप्तानी गुमाउन पुगेका छन् । सन्दीपको कप्तानीमा नेपाली टोलीले आगामी अगष्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्नेछ । प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, डा. इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी समावेश रहेको टोली घोषणा गरेको छ ।
७० लाखको नक्कली करारनामा बनाएर सरकारी कागजात हेरफेर, अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका–२० का वडा अध्यक्ष कौशल कुमार धोवीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी कागजात सच्याएको, नक्कली करारनामा तयार गरेको र सरकारी छाप दुरुपयोग गरेको आरोपमा अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियारका अनुसार वडा अध्यक्ष धोवी र वडा सचिव वीर बहादुर थापा मगरले विकास कुमार चापागाईँ र रविन्द्र लामिछानेसँग मिलेमतो गरेका थिए । उनीहरूले गैरकानुनी लाभ लिने–दिलाउने उद्देश्यले प्रमाण सिर्जना गरेको आयोगको दाबी छ । अनुसन्धानका क्रममा २०७९ साउन १० गते रविन्द्र लामिछाने र विकास कुमार चापागाईँबीच भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१७ स्थित कित्ता नम्बर ९९८ को १६४.१४ वर्गमिटर जग्गा खरिदका लागि ७० लाख रुपैयाँ लेनदेन भएको झुट्टा तथा नक्कली करारनामा तयार गरिएको खुलेको छ । उक्त करारनामालाई वडा कार्यालयको आर्थिक वर्ष २०७९/८० को लिखत प्रमाणित दर्ता किताबमा २०८३ सालमा सच्याई थपघट गरी प्रमाणित गरिएको अख्तियारले जनाएको छ । त्यसक्रममा वडा कार्यालयको सरकारी छापसमेत दुरुपयोग गरिएको आयोगको दाबी छ । त्यस्तै, वडा अध्यक्ष धोवी र सचिव थापा मगरले २०८३ असार २९ गतेको चलानी नम्बर ७२४० को विवरण फेरबदल गरी चलानी नम्बर ७२४२ गतेको झुट्टा विवरणसहितको गलत लिखत तयार गरेको अख्तियारले जनाएको छ । उक्त गलत लिखत आयोगको अभिलेखमा रहने गरी पत्राचारसमेत गरिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ । अख्तियारले वडा अध्यक्ष धोवीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ । वडा सचिव थापा मगरविरुद्ध दफा ९ बमोजिम कैद तथा जरिवानाको सजाय माग गरिएको छ । त्यस्तै, नेपालगञ्ज–२० का रविन्द्र लामिछाने र उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का विकास कुमार चापागाईँलाई मतियारका रूपमा प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध मुख्य कसुरदारलाई हुने सजायलाई आधार मानी भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम सजाय हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चारै जनाविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।