नेपाल टेलिकम बन्यो एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर

काठमाडौं । नेपाल टेलिकम नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को अफिसियल टेलिकम पार्टनर बनेको छ। आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपाल टेलिकमले साझेदारी गर्ने भएको हो। यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गरेका छन्। सम्झौतामा नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा हस्ताक्षर गरिएको हो। सम्झौतापछि नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको बताए। उनले यस सहकार्यले कम्पनीको ब्रान्ड पहिचान बढाउनुका साथै नेपालमा क्रिकेट खेलको संस्थागत विकास र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार यस सहकार्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्न र नेपाल टेलिकम तथा नेपाल क्रिकेट संघबीचको सम्बन्ध थप बलियो बनाउनसमेत भूमिका खेल्नेछ। नेपाल क्रिकेट संघका महाप्रबन्धक ढुंगानाले नेपाल टेलिकमजस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसबाट नेपाली क्रिकेटलाई थप अघि बढाउन योगदान पुग्ने बताए। उनले सहकार्यले खेलको विकाससँगै खेलाडीको जीवनस्तरमा समेत सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे। नेपाल टेलिकमले नेपाली खेलकुद क्षेत्रको विकास तथा प्रवर्द्धन गर्ने सरकारको नीतिलाई यस सहकार्यले थप टेवा पुर्‍याउने विश्वास लिएको जनाएको छ। साथै, एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएकोमा कम्पनीले नेपाल क्रिकेट संघलाई बधाईसमेत दिएको छ।

दशैंभन्दा ड्युटी ठूलो

काठमाडौं । दशैंले घरआँगन छोइसकेको छ । गाउँघरमा लिङ्गे पिङको चहलपहल बढेको छ, बजारमा किनमेल गर्नेको भीड छ र बसपार्कमा घर फर्किने यात्रुको घुइँचो । वर्षभरि काममा व्यस्त रहनेहरू बिदा मिलाएर परिवारसँग दशैं मनाउने तयारीमा छन् । विदेशमा रहेका नेपालीदेखि सहरमा जागिर गर्नेहरूसम्मलाई यतिबेला एउटै कुराले तानेको छ, आफ्नो घर, परिवार र आफन्तको साथ । तर, सबैका लागि दशैं घर फर्किने र बिदा मनाउने अवसर हुँदैन । कसैको दशैं यात्रामा बित्छ, कसैको परिवारसँगको भेटघाटमा । अनि कसैको दशैं भने नागरिकको जिउधनको सुरक्षा गर्दै सडक, चोक र कार्यालयमा बित्छ । ती हुन्, नेपाल प्रहरी । अरूका घरमा दशैंको खुसी भित्रिँदै गर्दा प्रहरीको काँधमा भने सुरक्षा व्यवस्थापनको जिम्मेवारी थपिन्छ । मानिसहरू घर छाडेर गाउँ फर्किने, बजारमा किनमेल बढ्ने र सार्वजनिक स्थानमा भीडभाड हुने समय भएकाले चोरी, लुटपाट, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी थप सक्रिय हुनुपर्छ । नागरिकले ढुक्कसँग चाडपर्व मनाउन पाऊन् भनेर प्रहरी कर्मचारी आफ्नो पारिवारिक खुसीलाई थाती राखेर कार्यक्षेत्रमा खटिन्छन् । यस वर्ष प्राकृतिक विपत्तिका घटनाले प्रहरी संगठनलाई थप संवेदनशील बनाएको छ । सुरक्षामा खटिनुपर्ने नियमित जिम्मेवारीसँगै विपत्तिका कारण गुमाएका सहकर्मीको पीडा पनि प्रहरी कर्मचारीका लागि दशैंको भावनासँग जोडिएको छ । दशैंको तयारी र योजनाबारे विकासन्युजले नेपाल प्रहरीका विभिन्न तहका अधिकृतसँग कुराकानी गरेको छ । उनीहरूको अनुभवमा प्रहरीका लागि दशैं अरू नागरिकको जस्तो लामो बिदा र घुमफिरको अवसर होइन । ड्युटीको समय मिलाएर परिवारसँग केही क्षण बिताउने, कार्यालयमै सहकर्मीसँग खुसी साट्ने र जिम्मेवारी पूरा गर्ने अवसर हो । प्रहरीका लागि दशैंभन्दा ड्युटी ठूलो नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबीनारायण काफ्लेका लागि दशैंको अर्थ अरू नागरिकको भन्दा फरक छ । प्रहरी सेवामा रहँदासम्म व्यक्तिगत खुसीभन्दा नागरिकको सुरक्षा प्राथमिकतामा पर्ने भएकाले चाडपर्वमा पनि नियमित जिम्मेवारीबाट अलग हुन नसकिने उनी बताउँछन् । “प्रहरीका लागि दशैं भन्ने हुँदैन । प्रहरीले नागरिकको जिउधनको सुरक्षा गर्नुपर्छ,” काफ्ले भन्छन्, “हामीले जनता र समाजको सुरक्षामा ध्यान दिनुपर्छ । चाडपर्वमा चोरी तथा झैझगडा हुने सम्भावना हुने भएकाले प्रहरी तैनाथ हुनुपर्छ ।” दशैंमा धेरै मानिस घरबाहिर निस्किने, कतिपय परिवार घरमा ताला लगाएर गाउँ जाने र बजारमा भीडभाड बढ्ने भएकाले सुरक्षा चुनौती पनि बढ्ने उनको भनाइ छ । यस्ता सम्भावित घटनालाई रोक्न प्रहरी अधिकृतदेखि जवानसम्मलाई जिम्मेवारीअनुसार परिचालन गर्नुपर्ने हुन्छ । यस वर्ष प्राकृतिक विपत्तिको अवस्थाले प्रहरीलाई थप सतर्क रहनुपर्ने बनाएको काफ्ले बताउँछन् । नियमित शान्ति सुरक्षा कायम राख्नुपर्ने दायित्वसँगै विपद् व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने भएकाले प्रहरीको जिम्मेवारी अझ संवेदनशील बनेको उनको भनाइ छ । “प्रहरी सेवामा रहँदासम्म आफ्नो खुसीभन्दा पनि नागरिकको सुरक्षामा ध्यान दिनुपर्छ । दशैंमा सामान्य रूपमा परिवारसँग एकछिन भेटघाट गरिन्छ,” उनी भन्छन् । प्रहरीमा लामो बिदाको व्यवस्था सहज नहुने भएकाले दशैंमा घुमफिरको योजना बनाउन पनि कठिन हुने काफ्ले बताउँछन् । सम्भव भएसम्म टीकाको दिन वा एक दिन समय मिलाएर अग्रजको हातबाट टीका र आशीर्वाद लिने गरे पनि नागरिकको सुरक्षाको जिम्मेवारी नै प्राथमिकतामा रहने उनको भनाइ छ । परिवारलाई कार्यक्षेत्रमै बोलाएर दशैं कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाको यस वर्षको दशैं योजना पनि कार्यक्षेत्रमै केन्द्रित छ । कार्यालयको जिम्मेवारी छाडेर अन्यत्र जानुभन्दा परिवारका सदस्यलाई आफू बसेकै ठाउँमा बोलाएर दशैं मनाउने उनको तयारी छ । सापकोटाका अनुसार प्रहरी कर्मचारीलाई जिम्मेवारीअनुसार आलोपालो बिदा मिलाइएको छ । नजिकै घर भएका कर्मचारीलाई टीका लगाउन जाने र फर्किएर ड्युटी सम्हाल्ने व्यवस्था मिलाइएको छ । “यस वर्ष प्रदेश प्रहरी कार्यालयमै बसेर दशैं मनाउने योजना छ । परिवारका सबैलाई यतै बोलाएको छु,” उनी भन्छन् । दशैंमा सबै प्रहरी कर्मचारीलाई एकैपटक बिदा दिन सम्भव नहुने उनी बताउँछन् । नागरिकको सुरक्षा कायम राख्न प्रहरीको उपस्थिति आवश्यक हुने भएकाले लामो बिदाभन्दा छोटो समय मिलाएर परिवारसँग भेटघाट गर्ने व्यवस्था गरिएको उनको भनाइ छ । चाडपर्वको समयमा सुरक्षा चुनौती बढ्ने भएकाले प्रहरी कर्मचारीले व्यक्तिगत योजनाभन्दा जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने सापकोटा बताउँछन् । घरमा परिवारसँगै बसेर दशैं मनाउने रहर भए पनि सेवामा रहँदा संगठनको आवश्यकताअनुसार चल्नुपर्ने उनको अनुभव छ । कार्यालयमै टीका र शुभकामना गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपेन्द्र घर्ती क्षेत्रीको दशैं पनि कार्यालय र ड्युटीमै बित्नेछ । प्रहरीको जिम्मेवारी नै नागरिकको सुरक्षा भएकाले चाडपर्वमा समेत कार्यक्षेत्र छाड्न नसकिने उनी बताउँछन् । कार्यालयमा रहेका प्रहरी कर्मचारीबीच शुभकामना आदानप्रदान गरेर दशैं मनाउने गरिएको क्षेत्रीको भनाइ छ । नजिकै घर भएका कर्मचारीलाई ड्युटी सकेर टीका लगाउन जाने र फर्किएर जिम्मेवारी सम्हाल्ने व्यवस्था मिलाइएको उनले बताए । “नजिकै घर हुनेहरू ड्युटी सकेर टीका लगाएर आउने व्यवस्था मिलाइएको छ,” क्षेत्री भन्छन्, “प्रहरीले दशैं मनाएमा समाजमा कसले सुरक्षा गर्छ ? प्रहरीको खासै केही दशैं योजना हुँदैन ।” प्रहरी कर्मचारीलाई एकैपटक बिदा दिँदा सुरक्षा व्यवस्थापनमा असर पर्न सक्ने भएकाले आलोपालो गरेर छोटो समयका लागि बिदा मिलाइएको उनले बताए । निरन्तर ड्युटीमा खटिनुपर्ने कर्मचारीको हकमा भने बिदा मिलाउन कठिन हुने उनको भनाइ छ । अरूका लागि दशैं बिदा र उत्सवको समय भए पनि प्रहरीका लागि यही समय सुरक्षा व्यवस्थापनको परीक्षा बन्ने गरेको छ । त्यसैले कार्यालयमा सहकर्मीसँग शुभकामना साट्नु र समय मिल्दा परिवारसँग टीका लगाउनु नै उनीहरूको दशैंको खुसी बन्ने गरेको छ । भोटेकोशीको बाढीले खल्लो बनाएको दशैं काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनमा खटिने प्रहरीका लागि दशैंको व्यस्तता अझ फराकिलो छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्का चाडपर्वका बेला चोरी, लुटपाट, कालोबजारी र सार्वजनिक यातायातमा यात्रुलाई दुःख दिने गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् । दशैंमा धेरै मानिस घर जाने र कतिपय घर खाली रहने भएकाले आपराधिक गतिविधि हुन नदिन विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ । सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई ठगी गर्ने वा अनावश्यक दुःख दिने गतिविधिमाथि पनि निगरानी आवश्यक हुने उनी बताउँछन् । “प्रहरीको पहिलो दायित्व समाजमा शान्ति सुरक्षा कायम गर्नु हो । चाडपर्वमा झैझगडा हुने भएकाले सुरक्षामा प्रहरीको चासो रहन्छ,” खड्का भन्छन् । तर, यस वर्षको दशैं उनका लागि नियमित व्यस्तताभन्दा फरक भावनात्मक पीडासँग पनि जोडिएको छ । भोटेकोशीको बाढीमा प्रहरी कर्मचारीले ज्यान गुमाएको घटनाले संगठनभित्र दुःखको वातावरण बनाएको उनी बताउँछन् । “प्रहरी साथी गुमाउनुको पीडा रहेकाले यसपटक दशैं नरमाइलो भएको छ । विपत्तिमा परेका प्रहरी साथीहरूको सम्झनाले हामीलाई संवेदनशील बनाएको छ,” उनी भन्छन् । सहकर्मी गुमाउँदाको पीडाबीच पनि प्रहरीको जिम्मेवारी रोकिँदैन । नागरिकलाई सुरक्षित राख्नुपर्ने दायित्व पूरा गर्नुपर्ने भएकाले चाडपर्वमा समेत कार्यक्षेत्रमा खटिनुपर्ने खड्काको भनाइ छ । उनका लागि यस वर्षको दशैंमा विगतमा जस्तो परिवारसँग बसेर बुबाआमाको हातबाट टीका लगाउने योजना छैन । कार्यालयमै रहेका प्रहरी कर्मचारीसँग शुभकामना आदानप्रदान गरेर दशैं मनाउने उनले बताए । “पहिले दशैंमा पटकपटक बुबाआमाको हातबाट टीका लगाइन्थ्यो । यस वर्ष त्यो सम्भव नहुने भयो,” खड्का भन्छन्, “प्रहरीले आफूलाई दिइएको जिम्मेवारी पूरा गर्नुपर्छ ।” नागरिकको खुसीका लागि प्रहरीको त्याग दशैंमा घर फर्किने यात्रुको भीड, बजारको चहलपहल र परिवारसँग भेट्ने उत्साहसँगै सुरक्षा व्यवस्थापनको चुनौती पनि बढ्छ । यस्तो समयमा प्रहरीको सक्रियता र उपस्थितिले नागरिकलाई सुरक्षित रूपमा चाडपर्व मनाउन सहयोग पुर्‍याउँछ । तर, त्यसको अर्को पाटो पनि छ । नागरिकको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी बोकेका प्रहरी कर्मचारीले आफ्नै परिवारसँग पर्याप्त समय बिताउन पाउँदैनन् । कतिपयले घरमै पुगेर टीका लगाउन पाउँछन् भने कतिपयले कार्यालयमै सहकर्मीसँग दशैंको खुसी साट्नुपर्छ । कसैका लागि त यस वर्षको दशैं सहकर्मी गुमाउँदाको पीडा सम्झिने समय पनि बनेको छ । सर्वसाधारणका लागि दशैं घर फर्किने, आफन्त भेट्ने र वर्षभरिका थकान बिर्सिने पर्व हो । प्रहरीका लागि भने यही समयमा अरूको खुसी र सुरक्षाको जिम्मेवारी अझ बढ्छ । परिवारसँगको भेटघाट छोट्याएर भए पनि नागरिकलाई ढुक्कसँग दशैं मनाउने वातावरण बनाउनु उनीहरूको कर्तव्य हो । आफ्नो घरमा टीका लगाउन नपाए पनि अरूका घरमा खुसी र सुरक्षा कायम रहोस् भन्ने जिम्मेवारीसहित प्रहरी कर्मचारी यस वर्ष पनि सडक, चोक र कार्यक्षेत्रमा खटिनेछन् । यही नै उनीहरूको दशैंको अर्को यथार्थ हो ।

सिद्धार्थ बैंकको क्रिकेट च्यालेन्जमा रन र विकेटबाट लोयल्टी पोइन्ट कमाउन सकिने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले क्रिकेटको लोकप्रियतालाई डिजिटल बैंकिङसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई खेलसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । बैंकको मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध यस खेलमा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । खेलमा एनपीएलका आठ टोलीमध्ये आफूलाई मनपर्ने टोली छनोट गरी ब्याटिङ तथा बलिङ गर्न सकिनेछ । खेलमा ब्याटिङ गर्दा बनाएको प्रत्येक रनबापत एक र बलिङमा लिएको प्रत्येक विकेटबापत ६ सिद्धार्थ लोयल्टी पोइन्ट प्राप्त हुनेछ । यसले क्रिकेटप्रेमीलाई खेलको मनोरञ्जनसँगै पोइन्ट संकलन गर्ने अवसर प्रदान गर्नेछ । सिद्धार्थ बैंकमा बचत खाता भएका ग्राहकले आफूले आर्जन गरेका पोइन्ट सिद्धार्थ रिवार्ड्स प्लेटफर्ममार्फत रिडिम गर्न सक्नेछन्। बैंकमा खाता नभएका प्रयोगकर्ताले पनि खेल खेल्न र पोइन्ट संकलन गर्न पाउनेछन् । तर, संकलित पोइन्ट रिडिम गर्न भने सिद्धार्थ बैंकमा बचत खाता खोली मोबाइल बैंकिङ सेवा लिनुपर्नेछ । यस पहलमार्फत बैंकले क्रिकेटप्रेमीको सहभागिता बढाउनुका साथै डिजिटल बैंकिङ अनुभवलाई थप रोचक र मनोरञ्जनात्मक बनाउने उद्देश्य राखेको जनाएको छ । यससम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्नेछन् ।