एनपीएलमा आज ४ टोली मैदानमा, कर्णाली-सुदूरपश्चिम र चितवन-पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । तीन खेल खेलेको कर्णाली याक्स चार अङ्कसहित अङ्क तालिकाको तेस्रो स्थानमा छ । कर्णालीले तीनमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ । 

चार खेल खेलेको सुदूरपश्चिम रोयल्स चार अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । उसले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । 

यसैगरी आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । उक्त खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ ।

तीन खेल खेलेको चितवन राइनोज एक जित, एक हार र वर्षाका कारण एक खेल रद्द भएपछि अङ्क तालिकाको सातौँ स्थानमा छ ।  पोखरा एभेन्जर्स भने अङ्क तालिकाको पुछारमा छ । तीन खेल खेलेको पोखरा तीनवटै खेलमा पराजित भएको छ ।

Share News