नव नेताको मन्दिर मोह

काठमाडौं । नयाँ पुस्ताका नेताहरू पछिल्लो समय धार्मिकस्थलको दर्शनमा सक्रिय देखिन थालेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, गृहमन्त्री सुधन गुरुङ र नेपाली कांग्रेसका सभापति गगन कुमार थापासम्मका पछिल्ला धार्मिक भ्रमणले राजनीतिक वृत्तमा चासो बढाएको छ ।

कोही व्यक्तिगत आस्था र भाकल पूरा गर्न मन्दिर पुगेका छन् । कोही चाडपर्वको परम्परा निर्वाह गर्न त कोही धार्मिक तथा सांस्कृतिक कार्यक्रमको सिलसिलामा शक्तिपीठ पुगेका देखिन्छन् ।

भ्रमणको उद्देश्य र सन्दर्भ फरक भए पनि सार्वजनिक जिम्मेवारीमा रहेका नयाँ पुस्ताका नेताहरूको धार्मिक स्थलमा बढ्दो उपस्थितिले राजनीतिमा धर्म, संस्कृति र सार्वजनिक छविको सम्बन्धलाई पुनः चर्चामा ल्याएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय मुस्ताङको मुक्तिनाथ र काभ्रेको पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन् । रास्वपाका सभापति रवि लामिछाने भारतको उत्तराखण्डस्थित कैंचीधाम र आसामको कामाख्या मन्दिर पुगेका छन् । 

गृहमन्त्री सुधन गुरुङले महोत्तरीको टुटेश्वरनाथ महादेव, काठमाडौंको तलेजु भवानी र गोरखकाली मन्दिरको दर्शन गरेका छन् । कांग्रेस सभापति गगन थापा स्याङ्जाको गहते मनकामना मन्दिर उद्घाटन कार्यक्रममा सहभागी भएका छन् ।

देशका युवा नेताहरूको पछिल्लो मन्दिर दर्शनलाई लिएर विभिन्न चर्चा चलेका छन् । केही विज्ञहरूले यसलाई राजनितिज्ञहरूले गर्नैपर्ने नियमित काम मान्दछन् । कसैले भने राजनीति र धर्मलाई एकैठाउँ मिसाउन नहुने बताउँछन् । 

वाल्मीकि क्याम्पसका उपप्राध्यापक डा. प्रकाश ढकाल मन्दिर दर्शन गर्ने नेताहरूले धर्म र नीतिमा चल्न पनि सिक्नुपर्ने बताउँछन् ।

मुक्तिनाथदेखि पलाञ्चोक भगवतीसम्म बालेन्द्र

प्रधानमन्त्री शाहको पछिल्लो धार्मिक भ्रमणमध्ये मुक्तिनाथ र पलाञ्चोक भगवती मन्दिरको दर्शन चर्चामा रह्यो ।

गत भदौ ६ गते उनी मुस्ताङस्थित मुक्तिनाथ मन्दिर पुगेका थिए । उनले साँझ साढे ७ बजे मन्दिर प्रवेश गरेका शाहले करिब आधा घण्टा पूजाआजामा बिताएको थिए ।

त्यसपछि उनले काभ्रेपलाञ्चोकको पाँचखालस्थित पलाञ्चोक भगवती मन्दिरको दर्शन गरे । राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसहित मन्दिर पुगेका उनले नित्य पूजाका क्रममा भगवतीको दर्शन गरेका थिए । 

null

पलाञ्चोक भगवती नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक हो । विशेषगरी नवरात्रका बेला यहाँ भक्तजनको ठूलो भीड लाग्ने गर्छ ।

प्रधानमन्त्री बन्नुअघि पनि बालेन चुनावी अभियानका क्रममा जनकपुरको जानकी मन्दिर र ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका थिए । यसले उनको राजनीतिक यात्राका विभिन्न चरणमा धार्मिक स्थलको उपस्थिति देखाउँछ ।

जेलमा गरेको भाकल पूरा गर्न रवि भारतमा 

सत्तारूढ दद रास्वपाका सभापति रवि लामिछानेको पछिल्लो धार्मिक भ्रमण व्यक्तिगत भाकलसँग जोडिएको छ ।

गत कात्तिक ६ गते पत्नी निकिता पौडेलसहित भारत गएका लामिछानेले उत्तराखण्डको नैनीतालस्थित कैंचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरको दर्शन गरेका थिए ।

भारत जानेक्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारत जान लागेको बताएका थिए । भ्रमणलाई व्यक्तिगत तथा पारिवारिक धार्मिक यात्राका रूपमा व्याख्या गर्दै उनले यसलाई राजनीतिक घटनाक्रमसँग नजोड्न आग्रह गरेका थिए ।

null

नीम करौली बाबासँग सम्बन्धित कैंचीधाम भारतको चर्चित आध्यात्मिक स्थल हो । त्यस्तै, कामाख्या मन्दिर हिन्दु धर्मावलम्बीको प्रसिद्ध शक्तिपीठमध्ये एक हो ।

लामिछानेको भ्रमणले राजनीतिक जिम्मेवारीमा रहेका नेताहरूको व्यक्तिगत आस्था र सार्वजनिक जीवनबीचको सम्बन्धलाई पनि चर्चामा ल्याएको छ । उनले भ्रमणको उद्देश्यबारे आफै स्पष्टीकरण दिएपछि यो विषय थप सार्वजनिक चासोमा परेको थियो ।

सुधन, टुटेश्वरनाथदेखि तलेजु र गोरखकालीसम्म

गृहमन्त्री गुरुङ पछिल्लो समय विभिन्न धार्मिक स्थलमा देखिएका छन् । उनको धार्मिक भ्रमणमा व्यक्तिगत आस्थासँगै सार्वजनिक कार्यक्रम र धार्मिक स्थलमा हुने गतिविधिको व्यवस्थापनसमेत जोडिएको देखिन्छ ।

गत साउन १७ गते उनी महोत्तरीको बर्दिबास नगरपालिका-५ स्थित टुटेश्वरनाथ महादेव मन्दिर पुगेका थिए । त्यहाँ उनले पूजाआजा गर्नुका साथै धार्मिक मेला र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएका थिए । देशमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम रहोस भन्ने कामनासहित पूजा गरेका थिए ।

null

दशैंको फूलपातीका दिन असोज ३१ गते उनले काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानी मन्दिरमा पूजाआजा गरे । त्यसक्रममा कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन तथा प्रसाद ग्रहण गरेका थिए । सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गरेका उनको उपस्थितिले पनि चर्चा पाएको थियो ।

त्यसपछि कात्तिक १५ गते उनी ऐतिहासिक गोरखा दरबार परिसरस्थित गोरखकाली मन्दिर पुगे । गोरखकाली मन्दिर नेपालको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थल हो ।

सभापति बनेपछि गगन मनकामना मन्दिर

नेपाली कांग्रेसका सभापति थापा पनि पछिल्लो समय धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भएका छन् ।

कात्तिक ९ गते उनी स्याङ्जाको बिरुवा गाउँपालिका-७ स्थित गहते मनकामना मन्दिरको उद्घाटन गर्न पुगेका थिए । भूकम्पपछि जीर्ण बनेको मन्दिर पुनर्निर्माणपछि उद्घाटन गरिएको थियो ।

null

मन्दिर उद्घाटनका क्रममा थापाले धार्मिक स्थललाई आस्था, विश्वास र सामाजिक सद्भावको केन्द्रका रूपमा व्याख्या गरेका थिए । धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कांग्रेस सभापति निर्वाचित भएपछि पहिलोपटक स्याङ्जा पुगेका थापाको भ्रमण धार्मिक कार्यक्रममा मात्र सीमित थिएन । उनले स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट र संवादसमेत गरेका थिए । त्यसैले उनको भ्रमण धार्मिक र सांस्कृतिक कार्यक्रमसँगै पार्टीको संगठनात्मक सम्पर्कको अवसर पनि बनेको थियो ।

नयाँ पुस्ताको राजनीति र धार्मिक आस्थाको सम्बन्ध

नेताहरूका यी भ्रमणलाई एउटै उद्देश्यबाट व्याख्या गर्न नमिल्ने बताउँछन् नेपाल संस्कृत विश्वविध्यालयका उपप्राध्यापक डा. ढकाल । उनका अनुसार बालेनको भ्रमण व्यक्तिगत दर्शनका रूपमा सार्वजनिक भएको छ । रविले कारागारमा गरेको भाकल पूरा गर्न भारत गएको बताएका छन् । 

सुधनका भ्रमणमा धार्मिक आस्था र मन्त्रीका रूपमा सार्वजनिक गतिविधिको अनुगमन दुवै जोडिएका छन् । गगनको भ्रमण मन्दिर उद्घाटन र पार्टीगत भेटघाटसँग सम्बन्धित छ ।

तर यी घटनाले नयाँ पुस्ताका राजनीतिक नेताहरू पनि नेपाली समाजको धार्मिक तथा सांस्कृतिक परम्पराबाट अलग नरहेको देखाउने ढकालको ठहर छ ।

त्रिभुवन विश्वविध्यालय समाजसास्त्र विभागका उपप्राध्यापक डा. मधु गिरी नेपाली राजनीतिमा धार्मिक स्थलको भ्रमण नयाँ विषय नभएको बताएका छन् । 

विगतका प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेताहरूले पनि मन्दिर दर्शन, पूजाआजा र धार्मिक कार्यक्रममा सहभागितालाई सार्वजनिक जीवनको हिस्सा बनाउँदै आएको उनको बुझाइ रहेको छ । 

उपप्राध्यापक गिरीका अनुसार पछिल्लो पुस्ताका नेताहरूको राजनीतिक उदय सुशासन, प्रशासनिक सुधार, जवाफदेहिता र परम्परागत राजनीतिक शैली परिवर्तन गर्ने नारासँग जोडिएकाले यसलाई समाजले हेर्ने नजर फरक रहेको छ ।

उपप्राध्यापक डा. ढकालले राजनेताले राजनितिसँगै धर्म, रक्षा र कुटनीति पनि बुझेको हुनुपर्ने बताउँछन् । 

मानवशास्त्री गिरी नेताहरूको मन्दिर गमनलाई युरोपको प्रजातन्त्र र धर्मनिरपेक्षता अनि पूर्वीय परम्पराको रक्तसम्वन्धको बेमेलजस्तो भएको ठान्छन् । 

पूर्वीय प्रभावको रगत बोकेर धर्मनिरपेक्ष बन्नैपर्ने वाध्यता र आम मान्छेसँगको व्यवहारिक सामाजिक वैधानिकताका लागि नेताहरू मन्दिर जाने गरेको गिरीले बताए ।

उपप्राध्यापक गिरीका अनुसार उनीहरूको धार्मिक उपस्थितिलाई व्यक्तिगत आस्था र सामाजिक सांस्कृतिक परम्पराका रूपमा हेर्ने कि सार्वजनिक छवि निर्माणको अभ्यासका रूपमा बुझ्ने भन्ने बहस स्वाभाविक बनेको छ । 

यद्यपि कुनै नेताको धार्मिक भ्रमणलाई राजनीतिक लाभको उद्देश्यसँग जोड्ने आधार भने स्वतः स्थापित नहुने अर्का उपप्राध्यापक डा. ढकाल बताउँछन् ।

उनी देश अहिले तेस्रो आसोचमा रहेको बेला प्रधानमन्त्री, मन्त्री र जिम्मेवार दलका नेताहरुको मन्दिर दर्शनलाई अस्वभाविक मान्छन् । उनका अनुसार आसोचमा रहेको व्यक्तीले मन्दिर दर्शन गर्न शास्त्रलेनै निषेध गरेको छ । 

पछिल्लो समय २०५८ मा दरबार हत्याकाण्डपछि राष्ट्रिय आसोच घोषणा गरिएको थियो । त्यसपछि २०७२ को भूकम्प र अहिले पछिल्लो वाढीपछि राष्ट्रिय आसोच घोषणा गरिएको छ । यस्तो बेलामा जिम्मेवार व्यक्तिहरू जिम्मेवार बन्नुपर्नेमा उनको जोड छ । 

Share News