काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भवः’को नयाँ गीत ‘जाले रुमाल’ सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो ।
गीतमा दीपकप्रसाद आचार्यको शब्द, बाबुल गिरीको संगीत तथा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर रहेको छ ।
लोकलयमा आधारित डान्सिङ शैलीको गीतमा एक युवक र युवतीबीचको सवाल–जवाफ प्रस्तुत गरिएको छ । एकअर्काको रूप र सौन्दर्यबाट आकर्षित भएका उनीहरूबीचको प्रेमभाव गीतमा देखाइएको छ । गीतका मौलिक शब्द र आकर्षक हुकलाइनले यसलाई थप रोचक बनाएको छ ।
गीतको भिडियोमा विवाहको माहोल प्रस्तुत गरिएको छ । आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको विवाहको सेटअपमा परिवारका सदस्यहरूले गरेको रमाइलो दृश्य समेटिएको छ । भिडियोले चलचित्रका पात्रहरूबीचको पारिवारिक सम्बन्ध र अन्तरसम्बन्धलाई समेत उजागर गरेको छ ।
‘चिरञ्जीवी भवः’मा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन्। चलचित्रमा हरिवंश आचार्य ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिँदैछन्।
त्यस्तै, चलचित्रमा करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको अभिनय रहेको छ।