आज लक्ष्मीकाे पूजा गरिँदै
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।
दुई महिनामा विदेश घुम्दा नेपालीले सके १० अर्ब २८ करोड, पर्यटकले ल्याए पौने ३ अर्ब
काठमाडौं । घुम्न आउने पर्यटकले नेपाल ल्याउने भन्दा नेपालीले विदेश जान लाने रकम बढ्दै गएको छ । कोभिड त्रास कम भएसँगै गत साउन र भदौ महिनामा नेपालीले सबा १० अर्ब रुपैयाँभन्दा बढी रकम वैधानिक माध्यमबाट विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार साउन र भदौ महिनामा विदेश घुम्न नेपालीले १० अर्ब २८ करोड रुपैयाँ लगेका छन् । यस्तै, विदेशबाट नेपाल घुम्न आएका पर्यटकले भने जम्मा २ अर्ब ७१ करोड रुपैयाँ मात्रै ल्याएका छन् । नेपालमा आउने पर्यटकले नेपाल ल्याएको रकमभन्दा विदेश जाने नेपालीले लाने रकम बढी भएपछि नेपालको सेवा आय घाटामा पुगेको छ । राष्ट्र बैंकका अनुसार गत साउन र भदौ महिनामा खुद सेवा आय १७ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत सो दुई महिनाको अवधिमा भ्रमण आय १७७.२ प्रतिशतले वृद्धि भई २ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९७ करोड ६९ लाख रुपैयाँ थियो । सेवा खाता अन्तर्गत भ्रमण व्यय २४७.५ प्रतिशतले वृद्धि भई १० अर्ब २८ करोड पुगेको छ । भ्रमण व्यय भनेको नेपालीले विदेश घुम्न वा अध्ययनको लागि लगेको रकम हो । यसमध्ये शिक्षातर्पmको व्यय ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २ अर्ब ९६ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय २ अर्ब ५१ करोड रुपैयाँ थियो ।
एनआरएनएले तीन सय बाढीपीडित परिवारलाई राहत दिने
महेन्द्रनगर । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ । भीमदत्त नगरपालिका-११, १२ र १३ का साथै दोधाँरा-चाँदनीमा बाढी प्रभावित बस्तीका बासिन्दालाई पहिलो चरणमा कार्त्तिक ७ गते साँझदेखि राहत दिइने एनआरएनएका राहत कार्यक्रम संयोजक मनोज गोर्खालीले जानकारी दिए । ‘पूर्वमन्त्री रमेश लेखकको पहल र उनले बाढी प्रभावित क्षेत्रको पीडा झल्किने तस्बीर देखाएपछि तत्काल हाम्रो टोली पीडामा साथ दिन यहाँ आइपुगेको हो’, संयोजक गोर्खालीले भने, ‘पहिलो चरणमा ८० लाख रुपैयाँ बराबरको राहत प्याकेज वितरण गर्दैछौं ।’ उनले पहिलो चरणमा पीडित बस्तीका अतिविपन्न समुदायका ३०० परिवारलाई पहिलो चरणमा राहत वितरण गरिने जानकारी दिए । प्याकेजमा त्रिपाल, लत्ताकपडा, खाद्यान्नसहित प्रतिपरिवारलाई ३५ हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिन लागेको छ । एनआरएनएले राहत वितरणका लागि स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ । यहाँ एनआरएनएलाई सहजीकरण गरिरहेका कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष माधव जोशीले दोधाँरा-चाँदनी राहत लैजान स्थानीय प्रशासनसँग समन्वय भइरहेको बताए । ‘वनबासा पुल भएर राहत लैजान भारतीय पक्षसँग स्थानीय प्रशासनले समन्वय गरिरहेको छ’, उनले भने, ‘आजैदेखि राहत वितरण सुरु हुन्छ ।’ रासस