यी हुन् सेयर बजारका ठूला १० कम्पनी, हाइड्रोमा सोलु

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा बजार पुँजीकरणका आधारमा विशाल बजार कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीमध्ये शीर्ष स्थानमा रहेको छ । नेप्सेका अनुसार भदौ मसान्तसम्ममा विशाल बजार कम्पनीको बजार पुँजीकरण १ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।  यस्तै, बजार पुँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) दोस्रो स्थानमा रहेको छ । कम्पनीको बजार पुँजीकरण १ खर्ब ६० अर्ब २० करोड रुपैयाँ रहेको छ । त्यस्तै, नबिल बैंक लिमिटेड १ खर्ब ५१ अर्ब ५१ करोड ९१ लाख रुपैयाँ बजार पुँजीकरणसहित तेस्रो स्थानमा रहेको छ । नागरिक लगानी कोष १ खर्ब १७ अर्ब ७४ करोड ३१ लाख रुपैयाँ बजार पुँजीकरणसहित चौथो स्थानमा रहेको छ भने नेपाल पुनर्बिमा कम्पनी लिमिटेड १ खर्ब १२ अर्ब ७४ करोड ६३ लाख रुपैयाँसहित पाँचौँ स्थानमा रहेको छ । एभरेस्ट बैंक लिमिटेडको बजार पुँजीकरण ९९ अर्ब ८२ करोड ३० लाख रुपैयाँ र ग्लोबल आइएमई बैंक लिमिटेड ९८ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ बजार पुँजीकरण रहेको छ । नेप्सेका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बजार पुँजीकरण ६८ अर्ब ७३ करोड १४ लाख रुपैयाँ रहेको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ६५ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सोलु हाइड्रोपावर लिमिटेड ६५ अर्ब ३० करोड रुपैयाँ बजार पुँजीकरणसहित शीर्ष १० कम्पनीको सूचीमा परेको छ ।

३ एजेण्डा पारित गर्न ओरियन्टल होटल्सले असोज २९ गते डाक्यो साधारण सभा

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारण सभा आगामी असोज २९ गते बिहीबार आयोजना गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजे बस्नेछ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२÷८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरण पारित गर्ने प्रस्ताव रहेको छ । यस्तै, लेखापरीक्षण समितिको सिफारिसमा चालु आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनीले हालका लेखापरीक्षक सुबोध एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गर्न सक्ने जनाएको छ । कम्पनीले साधारण सभाका लागि असोज १३ गतेदेखि असोज २९ गतेसम्म सेयर दाखिल खारेज बन्द गर्ने जनाएको छ । त्यसैले असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कम्पनीको सेयर दाखिल खारेजका लागि प्राप्त भएका सेयरधनीलाई साधारण सभाको प्रयोजनका लागि सेयरधनी कायम गरिनेछ ।

नेशनल लघुवित्तबाट बाहिरिँदै ७ जना संस्थापक सेयरधनी, बिक्रीमा राखे सेयर

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाका ७ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । उनीहरूले संस्थामा रहेको कुल ४६ हजार ५३४ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । लघुवित्तका अनुसार श्यामबहादुर गुरुङले १२ हजार कित्ता, झापाको विर्तामोड-९ का गोपाल खरेलले ८ हजार कित्ता, झापाको कन्काई-३ का गोपाल खरेलले ५ हजार कित्ता, राजु बस्नेतले १ हजार १६३ कित्ता, गोमादेवी चुडालले ५ हजार कित्ता, टिका श्रेष्ठले १० हजार २२३ कित्ता र अरुण खेतानले ५ हजार १४८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि समेत सेयर बिक्री खुला गरिएको हो । संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा-१०, काभ्रेपलाञ्चोकमा आवेदन पेस गर्नुपर्नेछ ।