काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले नवौं, दशौं र एघारौं वार्षिक साधारण सभा आगामी असोज २७ गते आयोजना गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले वार्षिक साधारण सभा र सञ्चालक निर्वाचनको मिति तय गरेको हो ।
कम्पनीका अनुसार साधारण सभा काठमाडौंको शंखपार्कस्थित स्टार दरबार प्रालिमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा कम्पनीले एक बराबर एक (१:१) अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । साथै कम्पनीको पूँजी संरचना परिवर्तन, ठेगाना परिवर्तन तथा प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि छलफलका लागि राखिएको छ ।
यसैगरी, कम्पनीको सञ्चालक समितिमा एक महिला सहित तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची पनि सभामा समावेश गरिएको छ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असोज १४ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र सभामा सहभागी हुन, मतदान गर्न र हकप्रद सेयरसम्बन्धी प्रस्तावमा अधिकार प्रयोग गर्न पाउनेछन् ।
सभामा आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ का वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।