आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । संस्थाको १ लाख ११ हजार ६३९ कित्ता बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत बोनस सेयर अब सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
सेयर बजारमा साढे ५ अर्बको कारोबार
काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९३ अंकले बढेर २६२४ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १७७ कम्पनीको सेयर मूल्य बढ्दा ८५ कम्पनीको सेयर मूल्य घटेको छ । १६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिद्धार्थ बैंकको भएको छ । सिद्धार्थको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै शिवम् सिमेन्टको २७ करोड, सोलु हाइड्रोको २३ करोड, रिलाइन्स स्पिीनिङको १७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज धौवलागिरी लघुवित्तको सेयर मूल्य १२.४३ प्रतिशतले बढेको छ । नेप्सेमा बिहीबार १३ मध्ये ११ उपसूचक बढ्दा लगानी र अन्य समूह भने सामान्य घटेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा समूह १.०८ प्रतिशतले बढेको छ । यो समूह १२५.९२ अंकले उक्लिएर ११ हजार ७६८.६३ विन्दुमा पुगेको छ । त्यसपछि होटल तथा पर्यटन समूह ०.८५ प्रतिशत, जलविद्युत समूह ०.६३ प्रतिशत र बैंकिङ समूह ०.५८ प्रतिशतले बढेका छन् । यस्तै, माइक्रोफाइनान्स समूह ०.५५ प्रतिशत, विकास बैंक समूह ०.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२७ प्रतिशत, वित्त समूह ०.२३ प्रतिशत र व्यापार समूह ०.२२ प्रतिशतले वृद्धि भएका छन् । म्युचुअल फन्ड ०.६५ प्रतिशत र निर्जीवन बीमा समूह ०.०५ प्रतिशतले बढेका छन् । यता लगानी समूह ०.१८ प्रतिशत र अन्य समूह ०.०४ प्रतिशतले सामान्य गिरावट आएको छ ।
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ छ । सोको १० प्रतिशत बराबर ९ करोड ९ लाख १० हजार १३० रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ । यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत अर्थात् ४७ लाख ८४ हजार ६०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरिएको कम्पनीले जनाएको छ । प्रस्तावित बोनस सेयर वितरणका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ । लाभांश वितरणका लागि आवश्यक प्रक्रिया पूरा गरी आगामी साधारणसभाबाट अनुमोदन गरिनेछ ।