नेशनल लघुवित्तबाट बाहिरिँदै ७ जना संस्थापक सेयरधनी, बिक्रीमा राखे सेयर

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाका ७ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । उनीहरूले संस्थामा रहेको कुल ४६ हजार ५३४ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

लघुवित्तका अनुसार श्यामबहादुर गुरुङले १२ हजार कित्ता, झापाको विर्तामोड-९ का गोपाल खरेलले ८ हजार कित्ता, झापाको कन्काई-३ का गोपाल खरेलले ५ हजार कित्ता, राजु बस्नेतले १ हजार १६३ कित्ता, गोमादेवी चुडालले ५ हजार कित्ता, टिका श्रेष्ठले १० हजार २२३ कित्ता र अरुण खेतानले ५ हजार १४८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि समेत सेयर बिक्री खुला गरिएको हो ।

संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा-१०, काभ्रेपलाञ्चोकमा आवेदन पेस गर्नुपर्नेछ ।

Share News