शाइन रेसुङ्गा डेभलपमेन्टको साधारण सभा असोज २८ मा, १६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले १८औँ वार्षिक साधारण सभा आगामी असोज २८ गते आयोजना गर्ने भएको छ । बैंकको सञ्चालक समितिको असोज २ गते बसेको ३३९औँ बैठकले वार्षिक साधारण सभाको मिति, स्थान र लाभांश प्रस्ताव स्वीकृत गरेको हो ।

सभा बुटवलस्थित होटल सेफ्रन सीके प्रालि (हायात प्लेस) मा बिहान ११ः३० बजे सुरु हुनेछ ।

बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ ।

बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने तथा त्यसअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गरिनेछ ।

वार्षिक साधारण सभा तथा प्रस्तावित लाभांश प्रयोजनका लागि बैंकले असोज १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असोज १२ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्रै सभा सहभागिता र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छलफल हुनेछ ।

यस्तै, सञ्चालकको बैठक भत्ता तथा अन्य सुविधा वृद्धि गर्ने, आवश्यक परे नियामक निकायको निर्देशनअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको बैंकले जनाएको छ ।

Share News