काठमाडौंसँग पराजित भएपछि लुम्बिनीका कप्तान रोहित भन्छन्- ‘अबका दुई खेल जितेर प्लेअफ पुग्छौं’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लगातार चौथो खेलसम्म अपराजित यात्रा पूर्णविराम लागेपछि लुम्बिनीका कप्तान रोहित पौडेलले प्लेअफमा पुग्न हारका लागि यो राम्रो समय रहेको बताएका छन् । शनिबारको खेलमा काठमाडौं गोर्खाजसँग हारपछि पत्रकार सम्मेलनमा पौडेलले यो समयमा हारले अगाडि बढ्न मद्दत मिल्ने विश्वास व्यक्त गरे । आगामी दुई खेलमा राम्रो गर्दा प्लेअफमा पुग्ने अवसर पनि रहेको उनको भनाइ थियो ।  यो हारपछि केही राम्रो गर्न सकिन्छ भन्ने टोलीमा विश्वास आउने पनि उनले बताए। किशोर महतोको चोटले केही परिवर्तन गर्नु परेको र त्यसले गर्दा पहिलो १० ओभरको बलिङमा असर पुगेको उनको भनाइ छ । अन्तिम तीन ओभरमा धेरै रन खाए पनि राम्रो योजनाअनुरूप बलर प्रयोग गरिएको पौडेलले बताए ।  १६१ रनको लक्ष्य पूरा हुन सक्ने खालको रहेको उनको भनाइ छ । तर पावरप्लेमा धेरै विकेट गुमाउँदा समस्या भएको उनले बताए । आसिफ शेख, डार्सी सर्टले आगामी दिनमा राम्रो खेल्ने उनको विश्वास छ ।

लुम्बिनी लायन्सको अपराजित यात्रामा ब्रेक लगाउँदै काठमाडौं गोर्खाज विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सको लगातारको अपराजित यात्रालाई ब्रेक लगाउँदै शनिबार ३६ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।  कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा समेटियो । लगातार १० खेलसम्म अपराजित रहेको लुम्बिनीको यो यस सिजनको पहिलो हार हो ।   जितसँगै काठमाडौं ४ खेलबाट ६ अंक जोड्दै रनरेटका आधारमा दोस्रो स्थानमा उक्लिएको छ भने पराजित लुम्बिनी ५ खेलबाट ७ अंकसहित अझै शीर्ष स्थानमै कायम छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो ।  काठमाडौंका लागि अष्ट्रेलियाका दिग्गज ब्याटर डेभिड वार्नर र साहिल पटेलले पहिलो विकेटका लागि १०४ रनको शतकीय साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।  वार्नरले ५० बलमा ९ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६६ रन तथा पटेलले ३६ बलमा ३८ रन बनाए। तर, १४ औं ओभरमा पटेल र १६औं ओभरमा वार्नर आउट भएपछि काठमाडौंको ब्याटिङ लाइनअप धर्मराउन पुग्यो ।  तल्लो क्रमका ब्याटरहरू सस्तैमा समेटिए पनि सहान अराचिगेले १५ बलमा अविजित ३४ रन जोडेपछि टोली सम्मानजनक स्कोरसम्म पुगेको थियो । बलिङतर्फ लुम्बिनीका अभिशेष गौतम, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले २-२ विकेट लिए । १६१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको सुरुवात अत्यन्तै खराब रह्यो । काठमाडौंका बलर जहानदाद खान र कप्तान करण केसीले पावर प्लेमै लुम्बिनीको टप र मिडल अर्डर ध्वस्त पारेपछि टोलीले ६ विकेट गुमाएर मात्र २५ रन बनाएको थियो ।  डार्शी सर्ट (४), आसिफ (१), निरोशन डिकवेला (१४) र ग्रान्ड स्टेवार्ट (६) सस्तैमा पेभेलियन फर्किए भने कप्तान रोहित पौडेल र दिलिप नाथले खाता सम्म खोल्न सकेनन् ।  त्यसपछि सन्दिप जोराले इनिङ्स सम्हाल्ने प्रयास गर्दै ४५ बलमा ४४ रनको धैर्यतापूर्ण योगदान दिए । उनले रुबेन ट्रम्पलम्यान (११) सँग २१ रन र अभिशेष गौतम (१६) सँग आठौं विकेटका लागि ४६ रनको साझेदारी गर्दै टोलीलाई थप संकटबाट जोगाए । तर, १८औं ओभरमा जोरा र अन्तिम ओभरमा शेर मल्ल (१२) आउट भएसँगै लुम्बिनी पराजित हुन पुग्यो ।काठमाडौंका लागि उत्कृष्ट बलिङ गरेका जहानदाद खानले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट हात पारे भने कप्तान करण केसीले २ तथा शाहब आलम, सन्तोष यादव, रसिद खान र सहान अराचिगेले १-१ विकेट लिए ।

काठमाडौं गोर्खाजद्वारा लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य

काठमाडौं । डेभिड वार्नरको उत्कृष्ट अर्धशतकका बाबजुद नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा काठमाडौं गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको हो ।  शानदार सुरुवात गरेको काठमाडौंको इनिङ्स मध्यक्रम र तल्लो क्रममा भने धर्मराएको थियो । ओपनर डेभिड वार्नर र साहिल पटेलले पहिलो विकेटका लागि १०४ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए । १२ ओभरको समाप्तिमा बिना विकेटको क्षतिमा १०० रन बनाएको काठमाडौंको इनिङ्स १४औं ओभरमा पटेल आउट भएपछि रोकियो । पटेलले ३६ बलमा ३८ रन बनाए । त्यसपछि १६औं ओभरमा कप्तान वार्नर व्यक्तिगत ६६ रन बनाएर आउट भए । ५० बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे । वार्नर आउट भएपछि लुम्बिनीका बलर हावी हुँदै काठमाडौंको ब्याटिङ लाइन ध्वस्त बनाए । अन्त्यतिर सहान अराचिगेले अविजित ३४ रन (१५ बल, ३ चौका, १ छक्का) बनाएपछि काठमाडौंले सम्मानजनक स्कोर खडा गर्न सफल भयो ।  अन्य ब्याटरहरूमा करण केसीले ९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड् सकेनन् ।  लुम्बिनीका लागि बलिङतर्फ रुबेन ट्रम्पलम्यान, शेर मल्ल र अभिशेष गौतमले समान २–२ विकेट लिए। अभिशेषले ४ ओभरमा मात्र १५ रन खर्चिएर किफायती बलिङ गरे भने शेर मल्लले ४ ओभरमा १९ रन खर्चेर २ विकेट हात पारे ।