असलंकाको अर्धशतकमा विराटनगरद्वारा लुम्बिनीलाई १६७ रनको लक्ष्य

काठमाडौं । चरिथ असलंकाको अर्धशतकमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो । विराटनगरका लागि असलंकाले सर्वाधिक ६४ रन बनाए । उनले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गरे । शुभम रन्जानेले २४ बलमा ४ चौकासहित अविजित ३१ रन जोडे । ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ड हर्ट भए । अर्का ओपनर लोकेश बमले १७ बलमा १५ रन बनाए । त्यस्तै, शेहान जयसूर्या १ र इसुरु उडाना ६ रनमा आउट भए । विराटनगर ७० रनको अवस्थामा हुँदा ओपनर शेख रिटायर्ड हर्ट भएका थिए । त्यसपछि क्रिजमा आएका रन्जानेसँग मिलेर असलंकाले पाँचौँ विकेटका लागि ७५ रनको साझेदारी गरे । लुम्बिनीका लागि किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले समान १ विकेट लिए । किशोरले ४ ओभरमा २४ र अभिषेकले ३ ओभरमा १५ रन खर्चिए । ट्रम्पलम्यानले ४ ओभरमा ५२ रन दिए ।

आज एनपीएलमा लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज एक मात्र खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने लक्ष्यसहित मैदानमा उत्रनेछ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीका लागि आजको खेल शीर्ष स्थानको दौडमा अघि बढ्ने अवसरसमेत हुनेछ । लुम्बिनीले हालसम्म ६ खेल खेलेकोमा चार खेलमा जित निकालेको छ भने एक खेलमा पराजय बेहोरेको छ । अंक तालिकाको पाँचौँ स्थानमा रहेको विराटनगरका लागि भने आजको खेल निकै महत्त्वपूर्ण छ । प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन विराटनगरलाई जित आवश्यक छ । त्यसैले टोली आज जितकै लक्ष्यसहित मैदानमा उत्रनेछ । विराटनगरले अहिलेसम्म खेलेका ६ खेलमध्ये तीनमा जित र तीनमा हार बेहोरेको छ । उसले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ भने काठमाडौं गोर्खाज, चितवन राइनोज र कर्णाली याक्ससँग हार बेहोरेको छ ।

एनपीएलमा चितवनको रोमान्चक जित : जनकपुर र कर्णाली प्लेअफबाट बाहिरिए

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको लो–स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर ९२ रन बनाउँदै पूरा गर्‍यो ।  यस जितसँगै ६ खेलबाट ७ अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पराजित जनकपुरसँगै कर्णाली याक्स पनि लिग चरणबाटै बाहिरिएका छन् । लक्ष्य पछ्याउने क्रममा चितवनको सुरुवात निकै खराब रहे पनि मध्यक्रमका ब्याटरले इनिङ्स सम्हालेका थिए । दोस्रो बलमै ओपनर अर्जुन साउदलाई शून्यमा गुमाएको चितवनले ३७ रन जोड्दा महत्त्वपूर्ण ५ विकेट गुमाइसकेको थियो । तर, डाविड मालान र कुशल मल्लले छैटौं विकेटका लागि ३० रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्‍याए । मालानले ३९ बलमा १ छक्कासहित अविजित ३५ रनको योगदान दिए भने कुशल मल्लले १५, रवि बोपाराले १३ र कमिल मिशाराले १२ रन जोडे । बलिङतर्फ जनकपुरका राहुल यादवले ३, ललित राजवंशीले २ तथा विशाल सुशलिङले १ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर चितवनका स्पिनरहरूको घातक बलिङसामु निरीह बन्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रनमा समेटिएको थियो । जनकपुरका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान हर्मीत सिंहले २४ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए भने विशाल सुशलिङले १५ तथा सन्तोष कार्की र राहुल यादवले समान १०-१० रन जोडे ।  अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । चितवनको बलिङमा स्पिनरहरूले कुल ७ विकेट लिए, जसमा रन्जित कुमारले ३ ओभरमा १ मेडन राख्दै मात्र २ रन खर्चेर ३ विकेट तथा कप्तान सिकन्दर राजाले ४ ओभरमा २ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । कमिल मिशाराले २ तथा कमल सिंह ऐरी र रिजन ढकालले १-१ विकेट हात पारे । यो नतिजासँगै लिगका सबै ७ खेल खेलिसकेको जनकपुर ४ अंकका साथ बाहिरिएको छ भने एक खेल बाँकी रहेको कर्णालीको पनि ४ अंक मात्र रहेकाले शीर्ष चारको दौड समाप्त भएको छ । अब चितवनले आइतबार लिगको अन्तिम खेलमा कर्णाली याक्ससँग खेल्नेछ ।  यद्यपि, शनिबार हुने खेलमा विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भएमा चितवन एक खेल अगावै प्लेअफमा पुग्नेछ । विराटनगर विजयी भएको खण्डमा भने चितवनले प्लेअफमा स्थान पक्का गर्न आइतबार कर्णालीलाई अनिवार्य पराजित गर्नुपर्नेछ ।