काठमाडौं गोर्खाजद्वारा लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य

काठमाडौं । डेभिड वार्नरको उत्कृष्ट अर्धशतकका बाबजुद नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा काठमाडौं गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको हो । 

शानदार सुरुवात गरेको काठमाडौंको इनिङ्स मध्यक्रम र तल्लो क्रममा भने धर्मराएको थियो । ओपनर डेभिड वार्नर र साहिल पटेलले पहिलो विकेटका लागि १०४ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए ।

१२ ओभरको समाप्तिमा बिना विकेटको क्षतिमा १०० रन बनाएको काठमाडौंको इनिङ्स १४औं ओभरमा पटेल आउट भएपछि रोकियो । पटेलले ३६ बलमा ३८ रन बनाए । त्यसपछि १६औं ओभरमा कप्तान वार्नर व्यक्तिगत ६६ रन बनाएर आउट भए । ५० बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे ।

वार्नर आउट भएपछि लुम्बिनीका बलर हावी हुँदै काठमाडौंको ब्याटिङ लाइन ध्वस्त बनाए । अन्त्यतिर सहान अराचिगेले अविजित ३४ रन (१५ बल, ३ चौका, १ छक्का) बनाएपछि काठमाडौंले सम्मानजनक स्कोर खडा गर्न सफल भयो ।  अन्य ब्याटरहरूमा करण केसीले ९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड् सकेनन् । 

लुम्बिनीका लागि बलिङतर्फ रुबेन ट्रम्पलम्यान, शेर मल्ल र अभिशेष गौतमले समान २–२ विकेट लिए। अभिशेषले ४ ओभरमा मात्र १५ रन खर्चिएर किफायती बलिङ गरे भने शेर मल्लले ४ ओभरमा १९ रन खर्चेर २ विकेट हात पारे । 

 

Share News