लुम्बिनी बन्यो एनपीएलको प्लेअफमा पुग्ने पहिलो टिम, कर्णाली ४ विकेटले पराजित
काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ । बिहीबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको लो-स्कोरिङ भिडन्तमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले लिग चरणको एक खेल बाँकी छँदै प्लेअफ यात्रा तय गरेको हो । जितसँगै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अब लुम्बिनीले लिग चरणको अन्तिम खेल विराटनगर किंग्सविरुद्ध खेल्नेछ । अर्कोतर्फ, सुरुवाती दुई खेल जितेपछि लगातार चौथो हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना भने निकै कमजोर बनेको छ । ६ खेलबाट ४ अंक मात्र जोडेको कर्णाली तालिकाको सातौं स्थानमा छ । कर्णालीले प्रस्तुत गरेको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो । लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको सुरुवात भने निकै खराब रह्यो । आसिफ पौडेल र कप्तान रोहित पौडेल समान १ तथा सन्दीप जोरा ४ रनमा आउट भएपछि लुम्बिनीले १९ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो । तर, ओपनर डार्शी सर्टले एक छेउबाट इनिङ्स सम्हाल्दै टोलीलाई जितको बाटो देखाए । अर्धशतक बनाउनबाट मात्र ४ रनले चुकेका सर्टले ३४ बलमा ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४६ रनको योगदान दिए । सर्टले चौथो विकेटका लागि निरोशन डिकवेलासँग ४१ रनको महत्वपूर्ण साझेदारी गरे । डिकवेलाले १३ बलमा २ चौकासहित १६ रन बनाए । सर्ट १४औं ओभरमा आउट भएपछि दिलीप नाथले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याए । शमिम हुसेन ५ रनमा आउट भए पनि दिलीपले २७ बलमा ४ चौका प्रहार गर्दै अविजित २८ रन बनाए । उनले हुसेन तलतको बलमा विजयी चौका प्रहार गरेका थिए । बलिङतर्फ कर्णालीका मार्क वाटले कसिलो बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित मात्र १२ रन खर्चेर ४ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । पवन सर्राफ र हुसेन तलतले १–१ विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्स लुम्बिनीको धारिलो बलिङसामु निरीह बन्दै १९.२ ओभरमा १०५ रनमै अलआउट भयो । मात्र १५ रन जोड्दा ४ विकेट गुमाएर संकटमा परेको कर्णालीका लागि सोमपाल कामी र पवन सर्राफले ४० रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरेका थिए । कर्णालीका लागि सोमपालले १८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २८ रन जोडे भने हुसेन तलतले २२ बलमा २ चौका र १ छक्काको मद्दतमा २४ रन बनाए । त्यस्तै, गुल्सन झाले १३ र पवन सर्राफले २४ बलमा १२ रन जोडे । कर्णालीका अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन् । यस सिजनको पहिलो खेल खेल्दै ओपनिङमा आएका दीपेन्द्र रावत शून्यमै आउट भए भने नयाँ कप्तान डेभिड मिलर ५, अरिफुल इस्लाम र दीपक डुम्रे समान ४, नन्दन यादव ३ तथा मार्क वाट २ रनमा पभेलियन फर्किए । कर्णालीलाई सस्तैमा समेट्न लुम्बिनीका अभिषेक गौतम, डार्शी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले २–२ विकेट लिए भने रुबेन ट्रम्पलम्यान र शेर मल्लको नाममा १–१ विकेट रह्यो ।
कर्णाली याक्सले लुम्बिनी लायन्सलाई दियो १०६ रनको लक्ष्य
काठमाडौं । कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटिएको हो । कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले १८ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै, हुसेन तलतले २२ बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे । गुल्सन झाले १३ रन बनाउँदा पवन सर्राफले १२ रनको योगदान दिए । कर्णालीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यस सिजन पहिलो खेल खेल्दै सुरुआती ब्याटिङमा आएका दीपेन्द्र रावत खाता नखोली आउट भए । अरिफुल इस्लाम र दीपक डुम्रे समान चार रनमा आउट हुँदा नयाँ कप्तान डेभिड मिलरले पाँच, मार्क वाटले दुई र नन्दन यादवले तीन रन मात्र बनाउन सके । लुम्बिनीका लागि अभिशेष गौतम, डार्सी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले समान दुई विकेट लिए । त्यस्तै, रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक-एक विकेट हात पारे । लुम्बिनीका बलरको कसिलो प्रदर्शनका कारण कर्णालीले निर्धारित २० ओभर पूरा गर्नुअघि नै सबै विकेट गुमाएको हो । अब लुम्बिनीले जितका लागि १०६ रन बनाउनुपर्नेछ ।
फिल्डिङमा चुकिरहेका छौं- सन्दीप लामिछाने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा तेस्रो जितपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले फिल्डिङ कारण आफ्नो टोली पछि परिरहेका बताएका छन् । पोखरा एभेन्जर्समाथि जितपछि पत्रकार सम्मेलनमा सन्दीपले आफ्नो टोलीले राम्रो खेलिरहे पनि फिल्डिङ चुकिरहेको बताएका हुन् । तर आफ्ना खेलाडीले उत्कृष्ट इफोर्ट भने लगाएको उनको विश्वास छ । विराटनगरकै खेलमा भिजेको मैदानका कारण पनि समस्या भएको सन्दीपले उल्लेख गरे । तर यही बाहना गर्न नहुने र टोलीले सुधार गर्नुपर्ने उनको भनाइ छ । उनले आगामी अन्तिम खेलमा राम्रो खेल्दै प्लेअफमा पुग्ने विश्वास पनि व्यक्त गरे । पोखरासँगको पनि खेलमा हारको संघारमा पुगिसकेको अवस्थामा इसुरु उडनाले उत्कृष्ट ब्याटिङ गरेको उनको भनाइ छ । आन्द्रे रसेल जस्ता खेलाडीलाई टोलीले अभाव महशुस गरे पनि उडनाले उनको स्थानमा राम्रो खेलेको उनी बताउँछन् । यसअघिको खेलमा विकेट नआएको उल्लेख गर्दै सन्दीपले आफ्नो क्षमतामा भने विश्वास रहेको बताए । यसअघिको खेलमा पनि राम्रो बलिङ गरेको उनी बताउँछन् । तर त्यो खेलमा विकेट भने आउने नसकेको उनले उल्लेख गरे ।