काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सको लगातारको अपराजित यात्रालाई ब्रेक लगाउँदै शनिबार ३६ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा समेटियो । लगातार १० खेलसम्म अपराजित रहेको लुम्बिनीको यो यस सिजनको पहिलो हार हो ।
जितसँगै काठमाडौं ४ खेलबाट ६ अंक जोड्दै रनरेटका आधारमा दोस्रो स्थानमा उक्लिएको छ भने पराजित लुम्बिनी ५ खेलबाट ७ अंकसहित अझै शीर्ष स्थानमै कायम छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो ।
काठमाडौंका लागि अष्ट्रेलियाका दिग्गज ब्याटर डेभिड वार्नर र साहिल पटेलले पहिलो विकेटका लागि १०४ रनको शतकीय साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
वार्नरले ५० बलमा ९ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६६ रन तथा पटेलले ३६ बलमा ३८ रन बनाए। तर, १४ औं ओभरमा पटेल र १६औं ओभरमा वार्नर आउट भएपछि काठमाडौंको ब्याटिङ लाइनअप धर्मराउन पुग्यो ।
तल्लो क्रमका ब्याटरहरू सस्तैमा समेटिए पनि सहान अराचिगेले १५ बलमा अविजित ३४ रन जोडेपछि टोली सम्मानजनक स्कोरसम्म पुगेको थियो । बलिङतर्फ लुम्बिनीका अभिशेष गौतम, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले २-२ विकेट लिए ।
१६१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको सुरुवात अत्यन्तै खराब रह्यो । काठमाडौंका बलर जहानदाद खान र कप्तान करण केसीले पावर प्लेमै लुम्बिनीको टप र मिडल अर्डर ध्वस्त पारेपछि टोलीले ६ विकेट गुमाएर मात्र २५ रन बनाएको थियो ।
डार्शी सर्ट (४), आसिफ (१), निरोशन डिकवेला (१४) र ग्रान्ड स्टेवार्ट (६) सस्तैमा पेभेलियन फर्किए भने कप्तान रोहित पौडेल र दिलिप नाथले खाता सम्म खोल्न सकेनन् ।
त्यसपछि सन्दिप जोराले इनिङ्स सम्हाल्ने प्रयास गर्दै ४५ बलमा ४४ रनको धैर्यतापूर्ण योगदान दिए । उनले रुबेन ट्रम्पलम्यान (११) सँग २१ रन र अभिशेष गौतम (१६) सँग आठौं विकेटका लागि ४६ रनको साझेदारी गर्दै टोलीलाई थप संकटबाट जोगाए ।
तर, १८औं ओभरमा जोरा र अन्तिम ओभरमा शेर मल्ल (१२) आउट भएसँगै लुम्बिनी पराजित हुन पुग्यो ।काठमाडौंका लागि उत्कृष्ट बलिङ गरेका जहानदाद खानले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट हात पारे भने कप्तान करण केसीले २ तथा शाहब आलम, सन्तोष यादव, रसिद खान र सहान अराचिगेले १-१ विकेट लिए ।