लोकेश बम अर्थात् विस्फोटक ब्याटर
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा दर्शकको हुटिङ चर्किन थाल्छ । दर्शकदीर्घाबाट ‘लोकेश... लोकेश...’ को आवाज सुनिन्छ । उनी ब्याटिङका लागि मैदान प्रवेश गर्दा होस् वा क्रिजमा जमेर बललाई बाउन्ड्री कटाउँदा, दर्शकको उत्साह झन् बढ्छ । उनले प्रहार गर्ने प्रत्येक चौका र छक्कासँगै मैदानको माहोल तातिन्छ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लोकेश बमको ब्याटिङले सिर्जना गर्ने आकर्षण यस्तै छ । उनी मैदानमा आउँदा दर्शकले रनको अपेक्षा गर्छन् । बल ब्याटमा जोडिएपछि त्यो अपेक्षा हुटिङमा बदलिन्छ । आक्रामक ब्याटिङ, लामो छक्का र छोटो समयमा खेलको गति बदल्न सक्ने क्षमता नै लोकेशको परिचय बनेको छ । विराटनगर किंग्सबाट एनपीएलको तेस्रो संस्करण खेलिरहेका लोकेशले आफ्नो यही परिचयलाई ब्याटिङबाट पुष्टि गरिरहेका छन् । प्रतियोगिताका सुरुवाती चार खेलमा उनले १८८ रन बनाएका छन् । ८७ रन उनको सर्वाधिक व्यक्तिगत स्कोर हो । ४७.२५ को औसत र १६४.३५ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले दुई अर्धशतक बनाइसकेका छन् । यस अवधिमा ११ चौका र १६ छक्का प्रहार गरेका उनले कुल २७ बाउन्ड्री हानेका छन् । लोकेशको ब्याटिङमा एउटा विशेषता छ, उनी क्रिजमा धेरै समय बिताएर रन जोड्नेभन्दा उपलब्ध बललाई अधिकतम उपयोग गर्न खोज्छन् । बलको लाइन र लम्बाइ पहिचान गरेर प्रहार गर्ने उनको शैलीले विपक्षी बलरलाई दबाबमा पार्छ । विशेषगरी आक्रामक ब्याटिङ आवश्यक पर्ने अवस्थामा उनी टोलीका लागि महत्वपूर्ण खेलाडी बन्दै गएका छन् । डोटीबाट राष्ट्रिय टोलीसम्म लोकेश बमको जन्म सन् २००० अगस्ट १३ मा सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा भएको हो । दायाँहाते ब्याटर तथा विकेटकिपरका रूपमा खेल्ने उनी नेपाली राष्ट्रिय टोलीका सदस्य हुन् । घरेलु क्रिकेटबाट आफ्नो यात्रा सुरु गरेका लोकेशले उमेर समूह, राष्ट्रिय टोली र फ्रेन्चाइज क्रिकेटसम्मको यात्रा तय गरेका छन् । उनले सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र विराटनगर किंग्सलगायत टोलीबाट क्रिकेट खेलेका छन् । घरेलु प्रतियोगितामा देखाएको प्रदर्शनकै आधारमा उनले राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । नेपालका लागि उनको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण १२ फेब्रुअरी २०२२ मा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध भएको थियो । ओमानको अल अमेरातमा भएको उक्त खेलपछि उनी राष्ट्रिय टोलीको टी–२० संरचनामा समेटिँदै आएका छन् । टी-२० मा ७३६ रन, अन्तर्राष्ट्रिय क्रिकेटमा ३२१ लोकेशको टी-२० क्रिकेट करिअर हेर्दा उनको ब्याटिङमा आक्रामकता र रन बनाउने क्षमता देखिन्छ । उपलब्ध तथ्यांकअनुसार उनले टी-२० क्रिकेटका ४१ खेलमा ७३६ रन बनाएका छन् । उनको उच्चतम स्कोर १०६ रन हो । २६.२९ को औसत र १५२.३८ को स्ट्राइक रेटमा खेलेका उनले एक शतक र दुई अर्धशतक बनाएका छन् । यस क्रममा ५६ चौका र ५३ छक्का प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय टी-२० मा भने उनले २७ खेलबाट ३२१ रन बनाएका छन् । २१.४० को औसत र १५७.३५ को स्ट्राइक रेट उनको अन्तर्राष्ट्रिय ब्याटिङ तथ्यांक हो । यस क्रममा उनले एक अर्धशतक बनाएका छन् । उनको सर्वाधिक स्कोर अविजित ५२ रन हो । लोकेशको करिअरमा १०६ रनको शतकीय इनिङ्स महत्वपूर्ण उपलब्धि हो । उनले नेपाल ए टोलीबाट आयरल्यान्ड वुल्भ्सविरुद्ध सन् २०२४ मा ५६ बलमा १०६ रन बनाएका थिए । उक्त इनिङ्सले उनको आक्रामक ब्याटिङ क्षमता मात्र होइन, आवश्यक पर्दा लामो इनिङ्स खेल्न सक्ने क्षमता पनि देखाएको थियो । उनले घरेलु टी-२० क्रिकेटमा अहिलेसम्म १५ खेलबाट ४६५ रन बनाएका छन् । यसक्रममा एक शतक र दुई अर्धशतक बनाएका छन् । घरेलु टी-२० मा उनको औसत ३३.२१ र स्ट्राइक रेट १४५.७७ छ । यसले अन्तर्राष्ट्रिय क्रिकेटको तुलनामा घरेलु प्रतियोगितामा उनी अझ प्रभावकारी रूपमा रन बनाउन सफल भएको देखाउँछ । एनपीएलमा निरन्तर प्रभाव एनपीएलमा पनि लोकेशको प्रदर्शन क्रमशः प्रभावकारी हुँदै गएको छ । सन् २०२४ मा विराटनगर किंग्सबाट खेलेका उनले लुम्बिनी लायन्सविरुद्ध ४७ बलमा ७१ रन बनाएका थिए । सन् २०२५ को एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध ४८ बलमा ७२ रन बनाए । सन् २०२६ को संस्करणमा भने कर्णाली याक्सविरुद्ध ५२ बलमा ८७ रन बनाएका छन् । यस संस्करणमा कर्णालीविरुद्ध ८७ रन बनाएका उनले सुदूरपश्चिमविरुद्ध १० बलमा २५ रन र जनकपुरविरुद्ध ४० बलमा ५० रन बनाए । चितवनविरुद्धको पहिलो खेलमा १४ बलमा २६ रन बनाएका थिए । यी फरक इनिङ्सले उनी परिस्थितिअनुसार आफ्नो ब्याटिङ शैली बदल्न सक्ने खेलाडी रहेको देखाउँछन् । आवश्यक पर्दा लामो समय क्रिजमा टिकेर रन बनाउन सक्छन् भने अन्तिम ओभरतिर तीव्र गतिमा रन जोड्ने भूमिका पनि निर्वाह गर्न सक्छन् । उनी चार खेल खेल्दासम्म एनपीएलमा सबैभन्दा बढी रन बनाउने खेलाडीमात्रै बनेका छैनन्, सबैभन्दा बढी बाउन्ड्री प्रहार गर्ने, एकै गेममा बढी स्कोर बनाउने र बढी अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा चिनिएका छन् । आक्रामकता नै पहिचान लोकेश दायाँहाते ब्याटर हुन् । उनी विकेटकिपिङ पनि गर्छन् । उनको ब्याटिङको मुख्य विशेषता आक्रामकता हो । टी-२० क्रिकेटमा कम बलमा धेरै रन बनाउनु महत्वपूर्ण हुन्छ । त्यसका लागि उनी चौका र छक्कालाई प्राथमिकता दिने गर्छन् । उनको करिअरको स्ट्राइक रेटले पनि यही कुरा देखाउँछ । समग्र टी–२० मा १५२.३८ र अन्तर्राष्ट्रिय टी–२० मा १५७.३५ को स्ट्राइक रेटमा ब्याटिङ गर्नु उनको आक्रामक शैलीको प्रमाण हो । ५३ छक्काको तथ्यांकले पनि बललाई सीमापारि पु¥याउने क्षमताको संकेत गर्छ । अर्को महत्वपूर्ण पक्ष उनको विकेटकिपिङ क्षमता हो । ब्याटिङसँगै विकेटपछाडिको जिम्मेवारी पनि पूरा गर्न सक्ने भएकाले टोलीले उनलाई दोहोरो भूमिकामा उपयोग गर्न सक्छ । टी-२० क्रिकेटमा यस्तो खेलाडी टोलीका लागि उपयोगी हुन्छन् । एनपीएलमा विराटनगर किंग्सका लागि लोकेशको भूमिका महत्वपूर्ण देखिएको छ । टोलीमा आन्द्रे रसेलजस्ता विस्फोटक ब्याटर रहे पनि नेपाली खेलाडीबाट ठूलो योगदान आउनु टोलीका लागि सकारात्मक पक्ष हो । लोकेशले ब्याटिङमा देखाएको प्रदर्शनले विराटनगरको मध्यक्रमलाई थप बलियो बनाएको छ । तर, आक्रामक ब्याटिङ उनको बलियो पक्ष भए पनि त्यसलाई निरन्तर प्रदर्शनमा बदल्नु चुनौती छ । अन्तर्राष्ट्रिय टी–२० मा २७ खेलबाट ३२१ रन र २१.४० को औसत छ । घरेलु क्रिकेटमा शतक बनाइसकेका उनले अन्तर्राष्ट्रिय स्तरमा पनि नियमित रूपमा ठूलो इनिङ्स खेल्न सक्ने क्षमता विकास गर्नुपर्ने देखिन्छ । लोकेशको ब्याटिङमा दर्शकले खोज्ने कुरा रन मात्रै होइन, मनोरञ्जन पनि हो । उनी क्रिजमा हुँदा दर्शकले चौका र छक्काको अपेक्षा गर्छन् । उनको ब्याटबाट बल उड्दा मैदानमा हुटिङ गुञ्जिन्छ । यही आक्रामक शैली र दर्शकसँग जोडिने खेलले लोकेशलाई एनपीएलका आकर्षक नेपाली खेलाडीमध्ये एक बनाएको छ । डोटीबाट क्रिकेट यात्रा सुरु गरेका लोकेशका लागि अबको लक्ष्य आफ्नो यही क्षमतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तरता दिनु हो । दर्शकको हुटिङलाई रनमा बदल्दै नेपाली क्रिकेटमा आफ्नो पहिचान अझ बलियो बनाउने अवसर उनका सामु छ ।
पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स शीर्ष स्थानमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई आठ विकेटले सहजै पराजित गरेको छ । पोखराले प्रस्तुत गरेको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा मात्र दुई विकेट गुमाएर सजिलै पूरा गर्यो । यस उत्कृष्ट जितसँगै लुम्बिनी लायन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले अविजित ४७ रन बनाए । उनले ३२ बलमा समान तीन चौका र छक्का प्रहार गरे । अविजित रहेका निरोश डिक्वेलाले २७ रन जिते । यी दुईले ७७ रनको अर्धशतकीय साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । ओपनर डार्सी सर्टले १३ रन बनाए । पोखराका लागि विपिन खत्रीले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९७ रन मात्रै जेड्न सक्यो । प्रतियोगितामा खेलेका तीन खेलमध्ये दुईमा जित हात पारेको लुम्बिनीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । तीन खेलबाट पाँच अंक जोड्दै लुम्बिनीले तालिकाको शीर्ष स्थान आफ्नो कब्जामा जमाउन सफल भएको हो ।
लुम्बिनीलाई पोखराले दियो ९८ रनको लक्ष्य
काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण अन्तर्गत आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्ससामु ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै पोखराले ९७ रनको योगफल तयार पार्यो । पोखराका लागि चमिका करुणारत्ने २५, कप्तान कुशल भुर्तेलले १४, माहेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए । पोखराका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए । तिलक भण्डारीले दुई तथा शेर मल्ल, अभिशेष गौतम र कप्तान रोहित पौडेलले समान एक–एक विकेट लिए । दुबै टिमको यो तेस्रो खेल हो । लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएपछि चितवन राइनोजसँग अंक बाँडेको थियो । त्यसैगरी, पोखरा पहिलो खेलमा सुदूरपश्चिम र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।