निर्माण व्यवसायी महासंघले नै ‘मिस नेपाल’ प्रतियोगीका लागि भोट मागेपछि...

काठमाडौं । देशको पूर्वाधार विकास र निर्माण व्यवसायीहरूको हकहितका लागि काम गर्ने छाता संगठन ‘नेपाल निर्माण व्यवसायी महासंघ’ ले आफ्ना पदाधिकारीका पारिवारिक सदस्यलाई सुन्दरी प्रतियोगितामा जिताउन भोट मागेको पाइएको छ । महासंघका महासचिव शिवहरि घिमिरेको हस्ताक्षर र संस्थाको आधिकारिक छापसहित जारी गरिएको एक पत्रमा ‘मिस नेपाल प्रतियोगिता २०२६’ की प्रतिस्पर्धी प्रतिमा खड्काका लागि भोट माग्दै सहयोगको अपील गरिएको हो। प्रतियोगी खड्का काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका प्रथम उपाध्यक्ष बासु खड्काकी छोरी हुन् । चलानी नम्बर समेत उल्लेख गरिएको उक्त पत्रमा सिंगो महासंघका सदस्यहरूलाई सम्बोधन गर्दै क्युआर कोडमार्फत प्रतिभोट १० रुपैयाँका दरले नेपाल पे, इसेवा, खल्ती वा आईएमई पेमार्फत भुक्तानी गरी भोटिङ गरिदिन अनुरोध गरिएको छ । महासंघजस्तो गरिमामय संस्थाले यसरी भोट मागेको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

लुटपाट गर्ने ‘कर्मा समूह’ का नाइकेसहित ५ जना पक्राउ

काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरी तथा लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लुटपाट गर्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेका अनुसार पक्राउ पर्नेमा गिरोहका मुख्य नाइके सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङसहित काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र कास्कीका आले गुरुङ छन् ।  प्रहरीले अनुसन्धानका क्रममा उनीहरूलाई बनेपासहित विभिन्न स्थानबाट पक्राउ गरिएको हो । मुख्य अभियुक्त कर्मा तामाङ, प्रतिमान र पासाङ यसअघि पनि चोरी तथा डाँका सम्बन्धी मुद्दामा पक्राउ परेको व्यक्ति रहेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए ।  कर्मालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको थियो । बुढानीलकण्ठको भैरव रोड क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि कर्माले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर र एक राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको प्रहरी प्रमुख घिमिरेले बताए ।  प्रहरीको गोली लागेर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  कर्मा समूहले उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनको सिक्री लुट्ने गरेको एसएसपी घिमिरेले जानकारी दिए । उनका अनुसार उक्त गिरोहले विशेषगरी बिहान वा साँझ एक्लै हिँडिरहेका महिला तथा वृद्धवृद्धालाई निशाना बनाउने गरेको थियो ।  उनीहरूले शुरुमा बाटो सोध्ने बहानामा संवाद गर्ने र त्यसलगत्तै मोटरसाइकलबाट आएर लछारपछार गर्दै घाँटीमा लगाएका सुनका सिक्री तथा नगद लुट्ने शैली अपनाएको अनुसन्धानबाट खुलेको छ । घटनापछि प्रयोग गरिएको पल्सर मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गर्ने, केही दिन काठमाडौंमा लगातार अपराध गरेर १०–१५ दिन अन्यत्र लुक्ने रणनीति अपनाउने गरेको अनुसन्धानको क्रममा पाइएको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए ।  उनका अनुसार हालसम्म काठमाडौं र काभ्रेमा भएका कम्तीमा चार वटा सिक्री लुटपाटका घटनामा कर्मा गिरोहको संलग्नता रहेको पाइएको छ । उनीहरुले काठमाडौको शान्तिनगर, नरेफाँट, धुलिखेल–बनेपा र धापासीमा भएका लुटपाट गरेका थिए ।  पछिल्लोपटक यो समूहले साउन ७ गते धापासीमा ६६ वर्षीया वृद्धाको सिक्री लुटेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए ।  प्रमुख घिमिरेका अनुसार पक्राउ परेका प्रतिमान गोले लुटपाट गर्दा मोटरसाइकल चालकको भुमिकामा थिए भने पासाङ घिसिङले चोरीपछि मोटरसाइकलको व्यवस्थापन गर्ने गरेका थिए ।  आले गुरुङले लुटपाटका क्रममा प्रतिरोध भएमा ‘ब्याकअप’को भूमिका निर्वाह गर्ने र मनोज तामाङले लुटिएका सुन पगालेर स्वरूप परिवर्तन गर्ने काम गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उक्त समूहले प्रयोग गर्ने मोटरसाइकल, विभिन्न नम्बर प्लेट, हेल्मेट, ज्याकेट, जुत्ता, सुन पगाल्न प्रयोग हुने सामग्री, मोटरसाइकलको ह्यान्डल लक तोड्ने औजार, खुकुरी तथा मोबाइल फोन बरामद गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

कल बाइपास गर्ने गिरोह पक्राउ

काठमाडौ‌ं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा सञ्चालन भइरहेको अवैध अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) नेटवर्कमाथि कारवाही चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा अजिरकोट–५ का २२ वर्षीय प्रोशेस गुरुङ, काठमाडौं शंखरापुर–१ की २० वर्षीया मुना श्रेष्ठ, कञ्चनपुर कृष्णपुर–७ स्थायी घर भई भक्तपुर सूर्यविनायकमा बस्दै आएका २१ वर्षीय जेनित झुकाल तथा भक्तपुर सूर्यविनायक–१ का ३४ वर्षीय कृष्ण नगरकोटी रहेका छन् । प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरूले दुरसञ्चार ऐन, २०५३ विपरीत भीओआईपी प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय कल बाइपास गर्दै आएको खुलेको सीआईबीले जनाएको छ । अनुसन्धानका क्रममा बरामद भएका उपकरण तथा सामग्रीहरू NPR77casino.com, IME88.com र Khalti88.com लगायतका अनलाइन बेटिङ प्लेटफर्म सञ्चालनमा समेत प्रयोग भइरहेको तथ्य फेला परेकाले त्यसतर्फ पनि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट १६ पोर्ट र ११२ पोर्टका सीम बक्स (भीओआईपी) डिभाइस, १९५ वटा एनसेल सिमकार्ड, ल्यापटप, मोबाइल फोन, राउटर, ब्याट्री, इन्भर्टर, यूपीएस, इन्टरनेट हबलगायत भीओआईपी सञ्चालनमा प्रयोग हुने ठूलो परिमाणका उपकरण बरामद गरेको जनाएको छ । सीआईबीका अनुसार प्रोशेस गुरुङ र मुना श्रेष्ठलाई साउन १४ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।  त्यस्तै, जेनित झुकाल र कृष्ण नगरकोटीलाई साउन १५ गते भक्तपुरबाट पक्राउ गरी जिल्ला अदालत भक्तपुरबाट सात दिनको म्याद प्राप्त गरेर अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार उक्त समूहले भीओआईपी प्रविधिमार्फत गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गरी राज्यलाई राजस्व नोक्सानी पु‍र्याउने गतिविधि सञ्चालन गरिरहेको आशंका गरिएको छ । यसबाहेक, बरामद भएका उपकरणहरू अनलाइन बेटिङ नेटवर्कसँग समेत जोडिएको देखिएकाले संगठित आर्थिक तथा साइबर अपराधको कोणबाट पनि विस्तृत अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।