कल बाइपास गर्ने गिरोह पक्राउ

अनलाइन बेटिङको पनि कनेक्सन खुल्यो

काठमाडौ‌ं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा सञ्चालन भइरहेको अवैध अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) नेटवर्कमाथि कारवाही चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा अजिरकोट–५ का २२ वर्षीय प्रोशेस गुरुङ, काठमाडौं शंखरापुर–१ की २० वर्षीया मुना श्रेष्ठ, कञ्चनपुर कृष्णपुर–७ स्थायी घर भई भक्तपुर सूर्यविनायकमा बस्दै आएका २१ वर्षीय जेनित झुकाल तथा भक्तपुर सूर्यविनायक–१ का ३४ वर्षीय कृष्ण नगरकोटी रहेका छन् ।

प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरूले दुरसञ्चार ऐन, २०५३ विपरीत भीओआईपी प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय कल बाइपास गर्दै आएको खुलेको सीआईबीले जनाएको छ ।

अनुसन्धानका क्रममा बरामद भएका उपकरण तथा सामग्रीहरू NPR77casino.com, IME88.com र Khalti88.com लगायतका अनलाइन बेटिङ प्लेटफर्म सञ्चालनमा समेत प्रयोग भइरहेको तथ्य फेला परेकाले त्यसतर्फ पनि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट १६ पोर्ट र ११२ पोर्टका सीम बक्स (भीओआईपी) डिभाइस, १९५ वटा एनसेल सिमकार्ड, ल्यापटप, मोबाइल फोन, राउटर, ब्याट्री, इन्भर्टर, यूपीएस, इन्टरनेट हबलगायत भीओआईपी सञ्चालनमा प्रयोग हुने ठूलो परिमाणका उपकरण बरामद गरेको जनाएको छ ।

सीआईबीका अनुसार प्रोशेस गुरुङ र मुना श्रेष्ठलाई साउन १४ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ । 

त्यस्तै, जेनित झुकाल र कृष्ण नगरकोटीलाई साउन १५ गते भक्तपुरबाट पक्राउ गरी जिल्ला अदालत भक्तपुरबाट सात दिनको म्याद प्राप्त गरेर अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार उक्त समूहले भीओआईपी प्रविधिमार्फत गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गरी राज्यलाई राजस्व नोक्सानी पुर्याउने गतिविधि सञ्चालन गरिरहेको आशंका गरिएको छ ।

यसबाहेक, बरामद भएका उपकरणहरू अनलाइन बेटिङ नेटवर्कसँग समेत जोडिएको देखिएकाले संगठित आर्थिक तथा साइबर अपराधको कोणबाट पनि विस्तृत अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।

Share News