बिदाको दिन पनि राहदानी बनाउनेको भीड

काठमाडौं । सार्वजनिक विदाको दिनमा समेत राहदानी (पासपोर्ट) विभागमा राहदानी बनाउनेको भीड लागेको छ । दक्षिण कोरियामा रोजगारी अनुमति पत्र (इपीएस) को आवेदनको लागि विभागमा ई–पासपोर्ट बनाउने सेवाग्राहीहरुको भीड लागको हो ।  विभागले सेवाग्राहीको चापलाई मध्यनजर गरेर सार्वजनिक विदाको दिनमा समेत पासपोर्ट वितरण गर्ने व्यवस्था मिलाएको छ । विभागले शनिवार र आइतबार सार्वजनिक विदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा दिने व्यवस्था गरेको जनाएको छ ।  आइतबार बिहानैदेखि राहदानी लिने सेवाग्राहीहरूको विभागमा भीड लागेको छ । विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरुले समयमा नै राहदानी पाउन नसकेको गुनासो गरेका छन् ।  विभागले राहदानी सेवा प्रवाहलाई सहज बनाएको दाबी गरेपनि सेवाग्राही तिलकबहादुर घर्ती मगरले भने फास्ट ट्«याक सेवा पनि प्रभावकारी नभएको गुनासो गरे ।  इपिएस परीक्षाका लागि राहदानी बनाउन रोल्पादेखि काठमाडौं आएको एक साताभन्दा बढी भइसक्दा पनि राहदानी नपाएको उनको गुनासो छ । उनले सुरुमा आवेदन दिन नै वेबसाइट नखुलेर मुस्किल परेको बताए । आवेदन दिएपछि तीन दिनमा राहदानी तयार हुने र एसएमएस आउने भनिए पनि अहिलेसम्म कुनै सन्देश नआएको उनको गुनासो छ । राहदानी ढिलो हुँदा इपीएस आवेदनको अन्तिम म्याद गुम्ने जोखिम रहेको भन्दै उनले सेवा छिटो र व्यवस्थित बनाउन सरकारसँग आग्रहसमेत गरे। मगरले भने, ‘इपीएस परीक्षाको लागि पासपोर्ट बनाउन काठमाडौं राजधानीसम्म आइयो । सुरुमै फर्म भर्दाखेरि सर्भर डाउन भएर समस्या परिरहेको थियो । फर्म भर्न नै दुई/तीन दिन लाग्यो । तर अहिलेसम्म एसएमएस आएको छैन । हाम्रो सरकारको खै के हो ? नीति नै यस्तै हो कि अब कर्मचारीहरुले नै हाम्रो काम ढिलो गरिदिएको हो कि ? जे होस् छिटो हुनुपर्‍यो ।’ राहदानी विभागले पनि नयाँ प्रणालीको स्थिरीकरण र इपीएस आवेदनका कारण एक्कासि बढेको सेवाग्राहीको चापले राहदानी वितरणमा केही समस्या भएको स्वीकार गरेको छ ।  विभागका निर्देशक दीपक बञ्जाडेका अनुसार पासपोर्ट अभाव नभएपनि प्रणालीमा प्राविधिक त्रुटि देखिँदा केही सेवाग्राहीले समयमै राहदानी पाउन सकेका छैनन् ।  उनले ‘अर्जेन्ट’ राहदानी सेवा दुई कार्यदिन (४८ कार्यघण्टा) भित्र उपलब्ध गराउने व्यवस्था गरेको बताए ।  उनले इपीएस आवेदनका कारण दैनिक हजारौं अतिरिक्त आवेदन परेकाले निर्धारित समयमै सेवा दिन केही चुनौती भएको दावीसमेत गरे । प्राविधिक त्रुटि देखिएका फाइलमा भने थप एक कार्यदिन लाग्न सक्ने उनले जानकारी दिए । निर्देशक बञ्जाडेले अधिकांश सेवाग्राहीलाई राहदानी तयार भएको वा आवश्यक कागजात अपलोड गर्नुपर्ने जानकारी एसएमएसमार्फत पठाइने गरेको उल्लेख गरे । उनका अनुसार केही दिनअघि एसएमएस सेवा प्रदायक कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम सकिँदा केही सेवाग्राहीलाई सन्देश पुग्न सकेको थिएन । तर हाल उक्त समस्या समाधान भइसकेको उनको दावी छ । केही सेवाग्राहीको राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँगको समन्वयमा समस्या देखिँदा पनि राहदानी प्रक्रिया रोकिएको उनले बताए ।  त्यसका लागि अहिले विभागमै एनआईडीका कर्मचारी खटाएर समस्या समाधान गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।  निर्देशक बञ्जाडेले अत्यावश्यक पर्नेले मात्रै आवदेन दिन पनि सेवाग्राहीलाई आग्रह गरे । उनले राहदानी अभाव रहेको हल्लाले पनि सेवाग्राहीको चाप बढेको उल्लेख गर्दै राहदानी अभाव नभएको बताए । विभागले हाल दैनिक एक हजार ५ सय राहदानीको छपाई गरि वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । इपिएस आवेदनलाई लक्षित गरेर विभागले साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा राहदानीको आवेदन तथा वितरण गर्ने व्यवस्था मिलाएको छ ।  विभागका अनुसार पहिला सिफ्ट बिहान ७ देखि दिउँसो २ बजेसम्म र दोस्रो दिउँसो २ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ । शनिवार र आइतबार सार्वजनिक विदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सेवा प्रवाह गरिरहेको विभागले जनाएको छ ।  

सप्तरीमा कर्फ्यू हट्यो, निषेधाज्ञा भने अझै कायम

काठमाडौं । सप्तरीको दुई नगरपालिकामा लगाइएको अनिश्चितकालीन कर्फ्यू हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, सप्तरीले राजविराज र बोदेबरसाईन नगरपालिका क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यू हटाएको हो । यद्यपि निषेधाज्ञा भने यथावत् नै राखिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, सप्तरीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा यथावत राखिएको हो । जिल्ला प्रशासन कार्यालयले गत बिहीबार राति १० बजेदेखि बोदेबरसाईन नगरपालिका क्षेत्रमा र शुक्रबार बिहान ८ बजेदेखि राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो । सबैलाई संयमित रहन, कानुनको पालना गर्न तथा अफवाह फैलाउने वा सामाजिक सद्भाव बिग्रने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रहसमेत प्रशासनले गरेको छ ।

युवा नेताले सुरु गरे देश र कांग्रेस जोड्ने अभियान

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीभित्र देखिएको आन्तरिक मतभेद अन्त्य गर्दै संगठनात्मक एकता सुदृढ गर्ने उद्देश्यसहित देश र कांग्रेस जोड्ने अभियान घोषणा गरेका छन् । आइतबार (आज) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रियसभा सदस्य रञ्जित कर्णलगायतका नेताहरूले अभियान सार्वजनिक गरेका हुन् ।  उनिहरुले पार्टीलाई एकताबद्ध बनाउने प्रयासका रूपमा यसलाई अघि बढाइएको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेता महरले आगामी साउन २० गते काठमाडौंको सुकेधारामा राष्ट्रिय एकता भेला आयोजना गरिने जानकारी दिए ।  उनका अनुसार भेलामा नेपाली कांग्रेसका तर्फबाट विभिन्न तहमा निर्वाचित देशभरका जनप्रतिनिधिलाई उक्त कार्यक्रममा सहभागी गराइनेछ । महरले उक्त भेलामा पार्टीका संस्थापन र संस्थापनइतर दुवै धारका नेताहरूलाई एउटै मञ्चमा उभ्याउने प्रयास गरिने जानकारी दिए । पार्टीभित्र देखिएको ध्रुवीकरण अन्त्य गर्दै संवाद, सहकार्य र संगठनात्मक एकतालाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिने उनको भनाइ थियो । नेता महरका अनुसार अभियानको उद्देश्य कांग्रेसलाई आन्तरिक रूपमा सुदृढ बनाउँदै जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउनु हो । कांग्रेसभित्र गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि उत्पन्न विवाद अझै समाधान हुन सकेको छैन । उक्त महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवापक्ष सहभागी नभएको विषयलाई लिएर पार्टीभित्र मतभेद कायम छ । यता संस्थापनइतर समूहले पनि साउन २९ गते राष्ट्रिय भेला बोलाइसकेको छ । एउटै महिनाभित्र दुवै पक्षले छुट्टाछुट्टै कार्यक्रम घोषणा गरेपछि कांग्रेसभित्रको आन्तरिक शक्तिसन्तुलन र एकताको प्रयास थप चासोको विषय बनेको छ ।