काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भू-भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशसँगै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै, प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागले जारी गर्ने मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरेको छ ।