उपहार कार्यक्रममा सहभागी हुन असोज १५ भित्र बिलको विवरण भर्नुपर्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन असोज १५ गतेभित्र खरिद बिलको विवरण प्रणालीमा प्रविष्ट गर्न आग्रह गरेको छ ।

विभागका अनुसार २०८३ असोज १ गतेदेखि १५ गतेसम्मका उपहार कुपन असोज १६ गते खोलिने र सोही दिन विजेताको घोषणा गरिनेछ ।

उक्त अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले असोज १५ गते बिहीबारभित्र ‘प्राइज डट आईआरडी डट जीओभी डट एनपी’ प्रणालीमा गई खरिद बिलसम्बन्धी विवरण प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ ।

विवरण प्रविष्ट गरेपछि उपभोक्ताले उपहार कुपन प्राप्त गर्नेछन् । उपहार कार्यक्रममा सहभागी भएर पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य रहेको विभागले स्पष्ट पारेको छ ।

विभागले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा खरिद बिल लिन उपभोक्तालाई आग्रह गरेको छ । त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बिजक जारी गर्न व्यवसायीलाई समेत सूचित गरेको छ ।

Share News